असार २२, २०८२ आइतबार July 6, 2025

सरकार उदासीन पछि शिक्षक आन्दोलन चर्किने सङ्केत ; प्रचण्डले दिए यस्तो आश्वासन

सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गराउन विपक्षी दलको सहयोग माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित उनको निवासमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा महासङ्घ प्रतिनिधिहरूले सरकारसँग भएका विगतका सहमतिहरू कार्यान्वयनमा ढिलासुस्ती र उदासीनता देखिएको गुनासो गर्दै ती सहमति तत्काल कार्यान्वयन गराउन विपक्षी दलको सहयोग माग गरेका छन्।

शिक्षकहरूका गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षण पेशालाई सम्मानित र राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको पेशा भएको स्मरण गराउँदै सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, “शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो पेशा राष्ट्र निर्माणसँग प्रत्यक्ष जोडिएको छ।”

सरकार र शिक्षक महासङ्घबीच भएका सहमतिहरू अझै पनि कार्यान्वयनमा नआएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “हामीले सदनको अवरोध हटाउने निर्णय गर्दा पनि सरकार शिक्षकका माग पूरा भएनन् भन्ने बहाना नबनोस् भनेर नै हो।”

उनले शिक्षकका जायज मागहरू कुनै सर्तबिना यथाशीघ्र पूरा गर्नुपर्नेमा जोड दिँदै आफूहरू त्यसमा पूर्ण रूपमा साथ दिन तयार रहेको प्रतिवद्धता जनाए। साथै, प्रारम्भिक बाल विकास (ईसीडी) कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा प्रणालीको समावेशी तथा समग्र विकासमा जोड दिए।

भेटमा महासङ्घका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितता, अस्थिरता र राजनीतिक प्रभावबाट मुक्त गर्दै, विगतमा भएका सहमतिहरूको तत्काल कार्यान्वयनका लागि प्रतिपक्षी दलका नेताबाट आवश्यक पहलको आग्रह गरेका थिए।

यस भेटवार्तालाई शिक्षा क्षेत्रमा चुलिंदो असन्तोषका सन्दर्भमा सरकारलाई थप दबाब सिर्जना गर्ने प्रयत्नको रूपमा हेरिएको छ। अब सरकार पक्षबाट यसको कस्तो प्रतिक्रिया आउँछ भन्ने चासो थपिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया