असार २४, २०८२ मंगलबार July 8, 2025

राजनीतिक नियुक्तिमा विवेक पुर्याउ- गोपाल खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाबाट १३७ जनाको मृत्यु, ३० हजारभन्दा बढी सङ्क्रमित । शुक्रबारको सार्वजनिक यो तथ्याङ्क बढ्दो छ । महामारीको खतरा बढिरहँदा सरकारले पनि परीक्षणको दायरा र उपचार बढाएको छ । सरकार र नागरिकको अबको एकमात्र प्राथमिकता यसको नियन्त्रण हो । खोप सहज उपलब्ध नभएसम्म कोरोनासँगै जिउनुको विकल्प छैन । सरकारको निर्देशन पालना गर्नु र सचेत रहनु सुरक्षित हुनु हो । सरकारले लडाइँ थप प्रभावकारी बनाउने र पार्टीहरूसमेत परिचालित हुने व्यवस्था हुनुपर्छ । ‘अप्ठ्यारोमा पार्टीको साथ’ भन्ने विश्वास दिलाउँदा दलीय व्यवस्था बलियो हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीले सत्ताको विवाद समाधान गरी आफूलाई महामारीविरुद्ध केन्द्रित गर्नुपर्छ । यो युद्धमा काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारको आलोचकमात्र नभई, सहयोगी बन्नुपर्छ । पहिला जीवन, त्यसपछि प्रतिस्पर्धाको सिद्धान्तमा जानुपर्छ । तर, यहाँ बहसको विषय भने संवैधानिक र राजनीतिक नियुक्ति हो, जसलाई कोरोनाको कहरले छेक्दैन । किनकि यो राज्यका निकायको प्रभावकारिता र दलीय व्यवस्थापनसँग सम्बन्धित छ । मुलुकमा १३ संवैधानिक आयोग छन् । त्यसमध्ये तीन आयोग पूर्ण छन् भने १० वटामा ३९ पदाधिकारी रिक्त छन् । संवैधानिक उत्तरदायित्वप्रति उदासिनताका कारण होइन, सम्भवतः ‘राम्रा’ र ‘हाम्रा’मोहले नियुक्तिमा विलम्ब भयो । स्थायी प्रकृतिका संवैधानिक आयोग पूर्ण छैनन् भने धारा २७ मा उल्लेख भएका सात आयोगमा पनि रिक्तता छ ।

भदौ १ मा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे बालुवाटारमा छलफल प्रारम्भ भयो । ओली र देउवाबीच यसअघि पनि छलफल र विमति भए । प्रतिपक्षी दलका नेताको सहमति नभएसम्म सर्वसम्मत नियुक्ति पालना हुँदैन । यही गाँठो फुकाउन प्रधानमन्त्रीले अध्यादेश ल्याएर बहुमतबाट नियुक्त गर्न खोज्दा फिर्ता लिन बाध्य हुनुभयो । आखिर यो लोकतान्त्रिक अभ्यास थियो । त्यसपछि नियुक्तिको मुद्दा ओझेलमा प¥यो किनकि नेकपाभित्रैबाट प्रधानमन्त्रीविरुद्ध विचारको होइन, सत्ताको अनपेक्षित आन्दोलन आरम्भ भयो । पार्टीको आन्तरिक विवाद समाधानोन्मुख भइरहँदा ती नियुक्तिबारे नयाँ प्रक्रियागत बहस प्रारम्भ भयो । नियुक्तिमा ढिलाइले तिनको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ । ढिलै सही, शीर्षनेतृत्व यसमा लाग्नु सकारात्मक छ ।

नियुक्तिको तयारी सार्वजनिक भएसँगै आकाङ्क्षीका आफ्नै क्षमताका प्रयास र दौडधुप पनि सुरु भएका छन् । पद पाउनका लागि योग्य व्यक्तिले प्रयास गर्नुलाई अन्यथा नठानौँ । थोरै व्यक्तिको हकमा सत्ताबाट अनुरोध आउँछ, बढीको हकमा व्यक्तिको प्रयास महत्वपूर्ण हुन्छ, त्यहाँ विभिन्न रसायनको गठजोड आवश्यक पर्छ । हरेकले आफूलाई योग्य देख्छ, यत्तिको आत्माविश्वास हुनु पनि पर्छ । संवैधानिक आयोगहरूका नियुक्तिमात्र होइन, अन्य राजनीतिक नियुक्तिमा पनि योग्यता र क्षमताका निश्चित मापदण्ड हुन्छन् । कम्तीमा पनि आकाङ्क्षी आधारभूत योग्यता पूरा भएको हुनुपर्छ ।

पहिलो, संवैधानिक नियुक्ति हेरौँ । संवैधानिक परिषद्ले संविधानमै व्यवस्था भएका आयोगमा पदाधिकारी नियुक्त गर्छ । संवैधानिक आयोगको अध्यक्ष र सदस्य हुनु सम्मानित मानिन्छ । त्यस अर्थमा यी पदप्रतिको आकर्षण स्वाभाविक हुन्छ ।

योग्यतन्त्र ः संवैधानिक परिषद्को बनावटले सहमतीय नियुक्त खोज्छ । यो गलत छैन । प्रतिपक्षी दलको नेता पनि रहनुको अर्थ उहाँको सहमति र सिफारिस पनि चाहिन्छ । नेपाली समाज मूलतः राजनीतिक समाज हो । राजनीतिमा लागेकामध्ये सक्रिय राजनीतिमा कम सहभागी हुनुहुन्छ, सङ्गठित राजनीतिमा पनि तुलनात्मक कमै हुनुहन्छ तर पार्टीप्रति झुकाव र सहानभूति राख्ने र पार्टीका मतदाता धेरै हुनुहुन्छ । अग्लो व्यक्तित्व पनि राजनीतिक दलबाहिरबाट निर्वाचनमा विजयी हुन सक्दैन । समाज राजनीतिक छ भने नियुक्तिमा राजनीति र भागबन्डा पनि हुन्छ । भागबन्डाको राजनीतिमा आफ्ना भागबाट कस्ता व्यक्ति सिफारिस वा नियुक्त गरिए भन्ने हो । राजनीतिमा लागेका अयोग्य हुन्छन् वा राजनीतिमा लागेकै कारण योग्य व्यक्तिले नियुक्ति पाउनुहुँदैन भन्ने प्रचार गलत छ । अहिलेसम्मका नियुक्तिलाई कार्यसम्पादनका आधारमा पुनरावलोकन गर्न सकिन्छ, औसतमाथि निरन्तरता नभए प्रतिस्थापन गर्दा उपयुक्त हुन्छ ।

राजनीतिक नेतृत्वले एउटा कोणमा ध्यान दिनुपर्छ । पहिलो, पार्टीभित्र र बाहिर दुवैतिर रहेका योग्य । पार्टीका, त्यसमा पनि आफूनजिकका व्यक्ति नियुक्ति गर्ने हो भने पनि आयोगको प्रकृति र कार्यक्षेत्रअनुसार सबैभन्दा उपयुक्त सिफारिस गर्नुपर्छ । प्रधानमन्त्री ओली र प्रचण्डले नेकपाभित्रकालाई संवैधानिक नियुक्ति दिँदा ती विवादरहित, क्षमता र योग्यताले उत्तम हुनुपर्छ । कोटालाई रोक्न सकिँदैन भने योग्यलाई पनि रोक्नुहुँदैन । अर्थात् योग्यलाई सबैको कोटामा हाल्दा हुन्छ । नेताहरूले सिफारिस गरेका व्यक्ति उहाँहरूकै पार्टी र गुटभित्र भएका अन्यभन्दा कमजोर हुनुहुँदैन । पार्टीमै रहेका योग्य छन् भने उनीहरूलाई प्राथमिकतामा राख्दा हुन्छ । तर, योग्यतन्त्रमा केलाई योग्यताको मापदण्ड बनाउने, सर्वस्वीकार्य योग्यता के हो भन्नेमा विवाद छ । योग्यता र क्षमताको मापन के हो भन्ने प्रस्ट नहुँदा सिफारिस भएका सबै योग्य वा एउटै व्यक्ति योग्य र अयोग्यको सूचीमा विवादित बनेका देखिन्छन् ।

पूर्वप्रशासक क्लब नबनाऊँ

राजनीतिक दलमा आकाङ्क्षी धेरै हुन्छन् र नेताबीच व्यक्तिलाई लिएर बढी विवाद हुन्छ । त्यस्तो अवस्थामा पूर्वप्रशासक सहजै ती पदमा पुग्छन् । पदमा रहँदा तिनले निश्चित राजनीतिक नेतृत्वलाई गुन लगाएका हुन्छन् । पूर्वप्रशासक वास्तवमै योग्यता र क्षमतामा अब्बल छन् भने तिनको नियुक्तिलाई स्वीकार्दा हुन्छ । तर, गुन लगाएकै आधारमा वा अन्य आकर्षणका नाममै अवसर दिनुहुँदैन । एउटा व्यक्तिले ३० वर्ष कर्मचारीका रूपमा सेवा गर्छ र ६० वर्ष उमेर पुगेर सेवानिवृत्त हुन्छ । उक्त व्यक्ति कस्तो चरित्र र क्षमताको हो भन्नलाई यो समय प्रशस्त हो । संवैधानिक आयोगमा फेरि अर्को जागिरका रूपमै प्रवेश किन गराउने ? ती निकायको गरिमा कायम राख्दै प्रभावकारी बनाउने क्षमता छ भने बेग्लै हो । कार्यकारीकै हैसियतमा उच्च नेतृत्वमा पुगेर निवृत्त वा भएको एउटा व्यक्तिलाई फेरि अर्को कार्यकारीको जिम्मेवारी दिनुभन्दा उसको अनुभव र ज्ञानलाई बाँड्ने सेरेमोनियल, सल्लाहकार त्यस्तै भूमिका दिनु तार्किक हुन्छ ।

संवैधानिक आयोगबाहेकका राजनीतिक नियुक्तिको प्रकृति अलि फरक छ । त्यसमध्ये अर्को आकर्षण हो– राजदूत । अहिलेसम्मको अभ्यास हेर्दा राजदूतको नियुक्तिमा राजनीतिक र परराष्ट्र सेवाबाट आधा–आधा नियुक्ति भएको देखिन्छ । परराष्ट्रमा सहसचिव भएकाका सन्दर्भमा विवाद खासै रहँदैन, क्षमता र व्यवहारमा गम्भीर प्रश्न नउठ्दासम्म । उहाँहरूको कार्यसम्पादनको प्रभावकारितामाथि बहस हुन सक्छ । बाहिरबाट गरिने राजनीतिक नियुक्तिमा विवाद बढी आउने हो किनकि आकाङ्क्षी त्यहाँ बढी हुन्छन् । राजदूत भनेको राष्ट्रको प्रतिनिधि हो, सरकारको प्रतिनिधि हो । त्यसैले उसलाई पूर्ण अधिकार भएको कूटनीतिज्ञ ‘प्लेनिपोटेन्सियरी’ मानिन्छ । सन् १९६१ को कूटनीतिक सम्बन्धसम्बन्धी भियना कन्भेन्सनले पनि उसलाई निर्देशित गर्छ, पठाउने र आतिथ्यता प्रदान गर्ने राष्ट्रका विधि–विधान छँदै छन् । राजदूतले जम्मा दुई काम गर्छ– राष्ट्रिय स्वार्थको नेतृत्व र आफ्ना नागरिकको रक्षा । यस्तो महत्वपूर्ण व्यक्तिको छनोट गर्दा राजनीतिक नेतृत्व सचेत हुनुपर्छ । राजनीतिक कोटाबाट नियुक्ति हुनेहरू पनि विवादित बनेका छन् ।

यसबाहेक अर्कोखाले राजनीतिक नियुक्ति पनि छन् । त्यसमा संस्थान, कोष, बोर्ड, सञ्चालक समिति, सल्लाहकार आदिको नियुक्ति । सुधारको प्रतिबद्धता नहुँदासम्म प्रतिस्पर्धाबाट नियुक्त गरे पनि वा सोझै नियुक्ति गरे पनि तात्विक फरक पर्दैन । यी नियुक्ति राजनीतिक प्रकृतिकै हुन्, स्वाभाविक रूपमा सरकारले आफ्नो सोचसँग मिल्नेलाई गर्छ । तर, त्यसो गर्दा पनि आफूसँग भएका योग्यलाई सिफारिस गर्दा उपयुक्त हुन्छ । पार्टीले जनमत पाउने, बहुमत ल्याउने प्रधानमन्त्री बन्ने तर पार्टीका इमानदार कार्यकर्ताचाहिँ नियुक्त गर्नुहुँदैन भन्नुको अर्थ छैन । आदर्श राजनीतिमा सम्भव छैन र राजनीतिक नियुक्ति सतप्रतिशत सही नहुन सक्छन् । नियत सफा छ र सुधारको सोच छ भने परिणाम दिन सकिन्छ । प्रधानमन्त्रीले आफ्नो सोच कार्यान्वयन गर्न त्यस्तै सहयोगीको खोजी हुनुलाई अन्यथा ठान्न मिल्दैन । हो, ती पदलाई शक्तिको बार्गेनिङ वा अतिरिक्त आयआर्जनको आधार बनाउनुहुँदैन । त्यसका लागि परीक्षण र अनुसन्धानका संयन्त्र पनि छन् ।

अमेरिकी राष्ट्र«पतिले चार हजारजनासम्म राजनीतिक नियुक्ति गर्न पाउँछन् । त्यसमा कतिलाई सिनेटको सहमति चाहिन्छ भने कति सिधै नियुक्ति हुन्छन् । मन्त्रीहरू, उपसहायक मन्त्रीहरू, राजदूतहरू राष्ट्रपतिले नियुक्ति गर्न सक्छन्, संसद्ले अनुमोदन गर्छ । अन्य कतिपय नियुक्तिका लागि कसैको अनुमोदन चाहिँदैन । निरङ्कुश सत्ता भएका र राजतन्त्र भएका देशमा राजनीतिक नियुक्ति स्वाभाविक हुन्छन् । किनकि त्यहाँ सत्ताविरुद्ध बोलिँदैन । त्यसैले विरोध राजनीतिक नियुक्तिको होइन, विरोध गलत व्यक्ति त्यस्ता नियुक्तिमा नपरून् भन्ने हुनुपर्छ । प्रशासन, प्राध्यापन, कूटनीति, प्रहरी, न्यायालय सबैतिर राजनीति भएपछि पार्टीमा लागेको व्यक्तिमात्र राजनीतिक हुने र अरूले जति गरे पनि कथित व्यावसायिक रहने भन्ने हुँदैन । नेपालमा मुद्दाविशेषलाई आधार बनाएर समर्थन र विरोध शैली बिस्तारै विकास हुँदै छ । जुनसुकै दलबाट नियुक्त भए पनि कार्यसम्पादन राम्रो भएकाले प्रशंसा पनि पाएका छन् ।

योग्यता र क्षमताका प्रशंसक मानिने प्रधानमन्त्री ओलीले संवैधानिक र राजनीतिक नियुक्तिमा त्यसलाई प्रधान बनाउनुपर्छ । दबाब र प्रभावलाई हाबी हुन दिनुहुँदैन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार