कल्याणपुर (सप्तरी), असार १० गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अलपत्र अवस्थामा रहे पनि निर्माण कम्पनीलाई नगरपालिकाले रकम निकासा दिएको छ । नगरपालिकाको वडा नं. १० स्थित १५ शय्याको नगर अस्पताल निर्माणका लागि ठेक्का लिएको एमबी टेक्नो जय शम्भो जेभी कम्पनीले काम नै नगरी अस्पताल निर्माण अलपत्र अवस्थामा छाडे पनि नगरपालिकाले एक महिनाअघि एक करोड २५ लाख रुपियाँ उपलब्ध गराएको हो ।
दिवङ्गत भएका स्थानीय दुखनीदेवी र रेसमलाल साहको परिवारले त्यहाँ नगर अस्पताल निर्माणका लागि १० कट्ठा १२ धुर जग्गा दानमा दिएपछि गत २०८१ साल असार १७ मा नगरपालिकाले अस्पताल निर्माणका लागि उक्त कम्पनीसँग सम्झौता गरेको थियो ।
भ्याटसहित कुल २३ करोड नौ लाख ७५ हजार ८९५ रुपियाँमा ठेक्का कबोल गरेको निर्माण कम्पनीले मोबिलाइजेसनबापत यसअघि नै एक करोड ८८ लाख रुपियाँ भुक्तानी पाइसकेको छ तर हालसम्म खाल्डो खनेर रड ओछ्याउनेबाहेक कुनै काम गरेको छैन । त्यहाँ ओछ्याएको रडमा खिया लागिसकेको छ । निर्माण कम्पनीले पछिल्लो तीन महिनादेखि काम पनि गरेको छैन । नगरपालिकाले गत जेठको पहिलो साता एक करोड २५ लाख रुपियाँ भुक्तानी दिएको हो ।
भुक्तानी दिएको सन्दर्भमा आफूलाई केही पनि थाहा नभएको वडाध्यक्ष झमेली मण्डल बताउनुहुन्छ । ठेकेदारले तीन महिनायता कुनै कामै नगरेको बताउँदै उहाँले ओछ्याएको रडमा खिया लागिसक्दा पनि नगरपालिकाले यसतर्फ कुनै ध्यान नै नदिई ठेकेदारलाई भुक्तानी दिएको सुनेपछि आश्चर्यचकित भएको बताउनुभयो ।
पछिल्लो पटक ठेकेदारलाई दिएको भुक्तानी विवादमा पनि परेको छ । भुक्तानी दिएपछि नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता चौधरीका स्वकीय सचिव अनिल भगतले २५ लाख रुपियाँ कमिसन लिएर बाँडफाँट गरेको भन्दै छानबिनको मागसहित स्थानीयले सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाइसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया