काठमाण्डाैंः पश्चिम नवलपरासी जिल्लामा एकै दिन २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा मात्रै २५ जना छन् । सो गाउँपालिकाको वडा नं. ३ मा मात्रै ३ वर्षीय बालकसहित २० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए ।
संक्रमति हुनेहरुमा गाउँपालिकामा अध्यक्ष दीपक गुप्ता र प्राथमिक स्वास्थ्य केन्द्रकी एक नर्स समेत रहेकी छन् । संक्रमित देखिने अन्य वडा मा ४ नं. वडा का ३ जना छन् । वडा नं. ५ र ६ का १-१ जना संक्रमित भएका छन् । जिल्लामा एकै दिन देखिएका २९ जनामध्ये बाँकी पृथ्वीचन्द्र जिल्ला अस्पतालका ३ जना डाक्टर र १ जना नर्स छन् ।
स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।
संक्रमितहरुलाई जिल्लाका आइसोलेसनमा राखिने छ । सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७३ जना संक्रमित भएका छन् । संक्रमितहरुको उमेर समूह ३ देखि ६२ वर्षसम्म छ ।
समुदाय स्तरमा कोरोना संक्रमण फैलिदैं गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १० सम्म निषेधाज्ञा जारी गरेका छन् । सबै स्थानीय तहहरुले पनि सेवाहरु बन्द गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया