काठमाडौं, असार ११ गते । पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको अभियोगमा विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न बुधबार आदेश दिएको हो। अदालतले थुनछेक बहसपछि उक्त निर्णय सुनाएको हो।
पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा स्वयम् उपस्थित भएका थिए। दिउँसोदेखि उनलाई सोधपुछपछि दुवै पक्षका कानुनी प्रतिनिधिहरूबीच बहस भएको थियो। नेपालका तर्फबाट पाँच जना र सरकारी वकिलतर्फबाट पनि पाँच जना वकिलले बहस गरेका थिए।
पतञ्जलि योग पीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले दर्ता गराएको आरोपपत्रमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ।
नेपालले प्रधानमन्त्री पदमा रहँदा पतञ्जलि योग पीठलाई हदबन्दीको छुट दिने निर्णय गरेर अनियमितता गरेको आरोप छ। यो निर्णय भ्रष्टाचारजन्य कार्यमा समावेश हुने भन्दै अख्तियारले कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गराएको हो।
थुनछेक बहसपछि अदालतले नेपाललाई प्रतिवादीको हैसियतमा आगामी सुनुवाईसम्म ३५ लाख धरौटी बुझाएर रिहा गर्न सकिने आदेश दिएको छ। अदालतको आदेशअनुसार नेपाल अब धरौटी बुझाएर मुद्दाको प्रक्रियामा बाँकी सुनुवाइमा उपस्थित हुनुपर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया