काठमाडौं, असार २४ । सत्तारुढ गठबन्धनभित्रको समन्वय र सातबुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ताका लागि पुगेका छन्।
देउवाको साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् भने एमाले तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छलफलमा सहभागी भएको स्रोतले जनाएको छ।
भेटवार्ताको मूल एजेन्डा सरकारको गति, सातबुँदे सहमतिको कार्यान्वयन, संविधान संशोधन प्रक्रिया र सत्तारुढ दलबीचको समन्वयात्मक कार्यशैली रहेको बताइएको छ।
हिजो सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भन्दै सरकारलाई अझ प्रभावकारी बनाउने दिशा तय गर्न आग्रह गरेको थियो। सातबुँदे सहमति कार्यान्वयन नहुँदा पार्टीभित्र असन्तोष बढेको कांग्रेस नेताहरूको भनाइ छ।
त्यस्तै बैठकले संविधान संशोधनको विषयमा कांग्रेसभित्र विस्तृत छलफल गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यदलले विज्ञ, विशेषज्ञ, नागरिक समाज र संविधान निर्माणमा संलग्न दलहरूसँग संवाद गर्दै संशोधनको मार्गचित्र तय गर्ने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया