चितवन, २८ असार : एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।
गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् ।
सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन् ।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो । उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन् ।
त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन । त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो ।
घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गर्नुभएको थियो । सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको थियो ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेका प्रति चिन्ता व्यक्त गर्नुभएको थियो । गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताउनुभएको थियो ।
सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको थियो । प्रतिवेदनमा दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग-डिजाइन बिना नै ग्रामीण सडक खनिएको उल्लेख छ ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालय लगायतसँग छलफल गरिएको थियो । सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाई नगर्न प्रतिवेदनले सुझाव दिएको छ । वेपत्ता भएका ३९ जनाको खोजी यथासक्य गर्न भनिएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया