असार २९, २०८२ आइतबार July 13, 2025

नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण

भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २९ असारः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आदिकवि भानुभक्तको २१२औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गर्नुभएको हो ।

“घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धिमात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले भाषिक एकीकरणको सुरुआत गर्नुभएको थियो । रामायण, बुधशिक्षा, भक्तमाला, रामगीतालगायत उहाँका कैयौँ रचनाहरूले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भूमिका खेलेका छन् ।

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्तको सम्मानमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया