काठमाण्डौ । विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ । चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।
एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ । फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ ।
एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशङ्का गर्दै फिफाले सन् २०२१ मार्च १५ तारिखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।
जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । एन्फाले आज विज्ञप्ति निकालेर संस्था सुधार र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा सकारात्मक मोडमा आइपुगेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया