काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षाशास्त्र संकायले स्नातकोत्तर तहका M.Ed. चौथो र MSSEd पाँचौँ सेमेस्टरका विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न आग्रह गरेको छ। संकायअन्तर्गत परीक्षा नियन्त्रण महाशाखा, बल्खुले बिहीबार सूचना जारी गर्दै परीक्षा केन्द्र छनोटका लागि आवेदन दिने समयसीमा तोकेको हो।
आगामी मंसिर/पुस महिनामा सञ्चालन हुने नियमित तथा आंशिक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि यो व्यवस्था गरिएको हो। विशेषगरी शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट Blended Mode तथा Online Mode मा अध्यापन भएका विषय र कार्यक्रमका विद्यार्थीले आफूलाई अनुकूल हुने प्रदेशमा तोकिएको परीक्षा केन्द्र छनोट गर्न सक्नेछन्।
परीक्षा केन्द्र छनोट गर्न इच्छुक विद्यार्थीले शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा सम्पर्क गरी मंसिर ७ गते अपराह्न ५ बजेसम्म आवेदन बुझाइसक्नुपर्ने महाशाखाले जनाएको छ। तोकिएको समयभित्र आवेदन दिएपछि मात्रै विद्यार्थीले आफूलाई पायक पर्ने प्रदेशमा परीक्षा केन्द्र रोज्न पाउनेछन्।
महाशाखाका अनुसार निर्धारित समयभित्र परीक्षा केन्द्र छनोटसम्बन्धी फाराम नबुझाउने विद्यार्थीको परीक्षा केन्द्र शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमै कायम हुनेछ। त्यसैगरी, Face to Face Mode मा अध्यापन भएका विषय तथा कार्यक्रमका विद्यार्थीको परीक्षा केन्द्र पनि कीर्तिपुरमै रहने सूचनामा उल्लेख छ।
सहायक डीनद्वारा हस्ताक्षरित सूचनामार्फत संकायले सम्बन्धित विद्यार्थीलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। परीक्षा केन्द्र छनोटको सुविधा विशेषगरी अनलाइन तथा मिश्रित शिक्षण प्रणालीबाट अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरी उपलब्ध गराइएको हो।
सूचना हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया