काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको १७ औँ सभा बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु १ अर्ब ३६ करोड ७७ लाख २१ हजारको बजेट सर्वसम्मतिले पारित गरेको छ।
बैठकको अध्यक्षता प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गरेका थिए। बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावित बजेटअनुसार पुँजीगत खर्चतर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजार विनियोजन गरिएको छ। बजेटले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार, अनुसन्धान प्रवर्द्धन तथा डिजिटल प्रविधिको प्रयोग जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ।
बैठकमा विश्वविद्यालयका उपकुलपति, पदाधिकारी, डीन, संघीय सरकारका प्रतिनिधि, तथा शिक्षा मन्त्रालयका सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
यस बजेटबाट विश्वविद्यालयमा शैक्षिक सुधार, क्षमता अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार र नयाँ पाठ्यक्रम विकास जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया