काठमाण्डौंः नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्ने बताएका छन्।
सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेत्री भण्डारीले सार्वजनिक रूपमै एमालेको सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रिय रूपमा राजनीति गर्ने घोषणा गरिसकेको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरे। पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने बताए।
सचिव भट्टराईले भने, ‘नेकपा एमालेको राजनीतिमा सक्रिय रूपमा फर्किने घोषणा गरेर उहाँले आफ्ना सेवा, सुविधा सबै त्यागेर आइसकेपछि पार्टीको मामिला मात्रै भएन। हामी छलफल गर्छौं। उहाँ सक्रिय रूपमा आउनुहुन्छ पार्टीमा उहाँलाई उचित स्थान दिनुपर्छ। कुरा के हो, कसो हो स्पष्ट होस् भन्ने अध्यक्षको चाहना छ। उहाँको उद्देश्य, गन्तव्य, के हो भन्नुभएको छैन, पार्टीमा भन्नुहोला। उहाँ जत्तिको मान्छे पार्टीको प्रणालीबाटै जानुहुन्छ। हामी सम्मानजनक ढंगले सेटल गर्छौं।’
सचिव भट्टराईले पूर्वराष्ट्रपति भइसकेको र यसअघि पनि पार्टीको उपाध्यक्ष रहेको अवस्थामा पार्टीको प्रणालीबाटै नेत्री भण्डारी अघि बढ्नेमा कुनै शंका नरहेको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया