काठमाडौँ, ०२ श्रावण । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी आइसिसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय खेलाडी सूची सार्वजनिक गरेको छ।
क्यानले सार्वजनिक गरेको विवरणअनुसार दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा जुलाई २१ देखि अगस्ट ३ सम्म सञ्चालन हुनेछ। प्रशिक्षण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सहकार्यमा सम्पन्न हुनेछ।
क्यानका अनुसार दोस्रो चरणको प्रशिक्षणमा सहभागी हुन २० खेलाडी भारत जानेछन् भने पहिलो चरणको प्रशिक्षणमा रहेका १२ खेलाडी नेपालमै अभ्यासमा संलग्न रहनेछन्। पहिलो चरणको प्रशिक्षण हालै त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको थियो।
बन्द प्रशिक्षणमार्फत खेलाडीको कौशल, फिटनेस र रणनीतिक तयारीमा थप ध्यान दिने लक्ष्य क्यानले लिएको जनाएको छ। प्रशिक्षकहरु तथा व्यवस्थापन टोलीले छनोटमा परेका खेलाडीहरूको मनोबल बढाउन र टोलीको समन्वय सुदृढ गर्न बेंगलुरु प्रशिक्षणलाई अवसरका रूपमा लिएको बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया