श्रावण ५, २०८२ सोमबार July 21, 2025

त्रिभुवन आर्मी क्लबका खेलाडी डुरान्ड कपमा सहभागी हुन भारत प्रस्थान

भारतमा आयोजना हुने उक्त प्रतिष्ठित प्रतियोगितामा आर्मी क्लबले भारतका ‘ए–लेभल’ क्लबहरू तथा इन्डियन आर्मी एफटीसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन ३ गते । भारतीय सेनाको आयोजनामा हुन लागेको १३४औं संस्करणको डुरान्ड कप फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडीहरू भारत प्रस्थान गरेका छन्।

सन् २०२५ जुलाई २३ देखि अगस्ट २३ (वि.सं. २०८२ साउन ७ देखि भदौ ७ गतेसम्म) भारतमा आयोजना हुने उक्त प्रतिष्ठित प्रतियोगितामा आर्मी क्लबले भारतका ‘ए–लेभल’ क्लबहरू तथा इन्डियन आर्मी एफटीसँग प्रतिस्पर्धा गर्नेछ।

खेलाडी टोलीलाई सैनिक तालिम तथा शिक्षा महानिर्देशनालय, जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले बिदाइ गरे।

कार्यक्रममा बोल्दै उपरथी शाहले त्रिभुवन आर्मी क्लबको सहभागिताले न केवल नेपाली सेनाको खेलकुद क्षेत्रमा गरिमा बढाउने, तर नेपाली सेना र भारतीय सेनाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

त्रिभुवन आर्मी क्लब विगतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत उल्लेखनीय प्रदर्शन गर्दै आएको छ। यसपटकको डुरान्ड कप सहभागिता पनि नेपाली फुटबलको अन्तर्राष्ट्रिय पहिचान बढाउने अवसरका रूपमा हेरिएको छ।

नेपाल र भारतबीचको रक्षा, सुरक्षा तथा खेलकुद सम्बन्ध सुदृढ बनाउन यस्ता द्विपक्षीय प्रतियोगिताहरूले सहयोग पुग्ने विश्वास आयोजक तथा सहभागी दुवै पक्षले व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया