काठमाडौँ, साउन ४ गते । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरीले उनलाई आइतबार राजधानीबाट पक्राउ गरेको हो । प्रहरीले अदालतको अनुमति लिएर उनलाई नियन्त्रणमा लिएको हो ।
अहिराजमाथि काठमाडौं जिल्ला प्रहरी परिसरमा माघ ३ गते नै बालिकामाथि बलात्कार सम्बन्धी उजुरी दर्ता भएको थियो। त्यसपछि प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर खोजी सुरु गरेको थियो। तर, पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि झा फरार भएका थिए।
लामो समयदेखि फरार रहेका झा आइतबार काठमाडौंमै फेला परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान गरिरहेको छ।
पूर्वप्रदेश प्रमुख झा २०७७ साल फागुन ७ गतेदेखि २०७८ साल साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रमुखको रूपमा नियुक्त भएका थिए। उनी पूर्वराजनीतिज्ञ तथा अधिवक्ता समेत हुन्।
यस घटनाले संवैधानिक पद सम्हालेका व्यक्तिविरुद्ध गम्भीर प्रकृतिको आरोप लाग्नुले सार्वजनिक चासोको विषय बनेको छ। प्रहरीले भने अनुसन्धानपछि मात्रै थप विवरण सार्वजनिक गर्ने जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया