असार २४, २०८२ मंगलबार July 8, 2025

बिकल्प बिनाको लोकतन्त्र- शान्ता मरासिनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना महामारीका कारण आर्थिक-सामाजिक क्षेत्र आक्रान्त बनेको छ । दल अनि सरकारको नेतृत्व परिवर्तन गर्ने कि निरन्तरता दिने भन्ने खेलमा राजनीति रुमलिएको छ । सार्वभौमसत्तासम्पन्न भनिने जनता निरीह भई त्यस्तो खेलको रमिते बन्न बाध्य छन् ।

हामीले अँगालेको प्रतिनिधिमूलक लोकतन्त्र जनमुखी र न्यायमुखी हुन नसकेकाले आलोचित भइरहेछ । यो व्यवस्थाले क्षेत्रीय, वर्गीय, जातीय, लैंगिक एव आर्थिक समानता कायम गर्न सकेन किनभने यसले अंकगणितीय खेललाई मात्र प्रश्रय दिइरह्यो । यसले निर्वाचन प्रणालीको उपयुक्त छनोट गर्न सकेन र समाजको गति/आवश्यकतालाई पक्रेन । त्यस्तै, लोकतन्त्रका नवीन अनि असल प्रयोगहरूको अभ्यास भएन र जनप्रतिनिधिहरूले मतदाताको आकांक्षामाथि खेलबाड गरे । उनीहरूले शक्ति र सत्तालाई मात्रै प्राथमिकता दिइरहे भन्ने गुनासो सर्वत्र छ । सँगसँगै राजनीतिले लोकतन्त्रलाई सीमित गरेको विश्लेषण गर्न थालिएको छ । दलको आन्तरिक कलह, असमावेशी चरित्र, दलसम्बन्धी कानुनको पालनामा बेवास्ताजस्ता कारण मतदाताले जनप्रतिनिधिमाथि नियन्त्रण खोज्न थालेका छन् । जनप्रतिनिधिलाई नियन्त्रण गर्ने अभ्यास कतिपय विकसित राष्ट्रले प्रयोगमा ल्याइसकेका पनि छन् ।

जनप्रतिनिधिलाई नियन्त्रण गर्ने अभ्यास कतिपय विकसित राष्ट्रले प्रयोगमा ल्याइसकेका पनि छन् ।

दलको अवधारणा जनताको संगठित हुने र राज्यसत्तामा प्रभाव पार्ने चाहनाको उपज हो । प्रजातान्त्रिक व्यवस्थामा निर्वाचित प्रतिनिधिले शासन सञ्चालन गर्ने हुँदा जनहितका नीति बन्छन् । राज्य सञ्चालनको दर्शन राजनीति हो र त्यसका दार्शनिक राजनीतिज्ञ हुन् भन्ने सिद्धान्त स्थापित छ । इतिहासले नेता बनाउँदैन, नेताले इतिहास बनाउने हो । लोकतन्त्रले नेतालाई इतिहास बनाउने मौका दिन्छ । लोकतन्त्रको सुन्दर पक्ष मतको सम्मान, बहुदलीय अभ्यास र समानुपातिक प्रतिनिधित्व हो । हामीले अभ्यास गरेको लोकतन्त्र प्रतिनिधिमूलक मानिन्छ । प्रतिनिधिमूलक लोकतन्त्रलाई उत्कृष्ट मान्दामान्दै पनि नेतृत्वमा पुगेकाहरू लामो समय सत्तामा बस्न विभिन्न बहाना रचेर नियमित चुनावलाई पर धकेल्दै जान्छन् । यस्तो चरित्र प्रत्येक दलको नेतृत्वमा देखिन्छ । यो विचित्रको राजनीतिक खेल हो, जहाँ शाश्वत नियम छैन । नेता आफैंले खेलका नियम बनाउँछन् र आफैं खेल्छन् । यस्तो खाले विशेषता प्रायः प्रजातान्त्रिक पद्धति संस्थागत हुन नसकेका देशहरूमा बढी मात्रामा देखिन्छ ।

दलका मूल्यमान्यताको क्षयीकरणले समाजलाई मार्गदर्शन गर्न सकेको छैन ।

सिद्धान्ततः राजनीतिक विचार र दर्शनलाई जनाधार तहसम्म पुर्‍याई लोकतन्त्रको वास्तविक अभ्यास गराउन दल गठन गरिन्छ । तर दलका संयन्त्रहरूको चरित्र आफैंमा असमावेशी र अलोकतान्त्रिक भएकाले जनतामा दलप्रतिको साख घट्दै छ । दलका मूल्यमान्यताको क्षयीकरणले समाजलाई मार्गदर्शन गर्न सकेको छैन । मतदाताले जनप्रतिनिधिमाथि नियन्त्रण गर्न सक्ने अधिकार प्रजातन्त्रको महत्त्वपूर्ण विशेषता हो । यस्ता नियन्त्रण विधिहरूको प्रयोग हामीले अभ्यास गरिरहेको बहुदलीय प्रजातान्त्रिक प्रणाली एवं निर्वाचन प्रणालीको परिर्वतनमार्फत गर्न सकिन्छ । अहिलेको सुधारिएको संसदीय प्रणालीबाट पनि शासकीय स्थिरता आउन नसक्ने हो भने यस पद्धतिका दोषहरूलाई हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली ल्याउन सकिन्छ ।यस प्रणालीमा सरकार स्थायी र प्रभावकारी हुन्छ ।

सरकारका नीति तथा कार्यक्रम निश्चित अवधिसम्म बिनाअवरोध लागू गर्न सकिन्छ । संसद् र राष्ट्रपतिको निर्वाचन अलग–अलग हुने हुँदा मतदातालाई छनोटको अवसर पनि प्राप्त हुन्छ । संसद्बाट पारित विधेयकमा राष्ट्रपति असहमत भए विशेषाधिकार प्रयोग गरी अस्वीकार गर्न सक्छन् । यो व्यवस्था हाम्रा लागि त्यत्तिकै जोखिमपूर्ण पनि छ । यदि दलहरूले संसदीय प्रणालीलाई परिर्वतन गर्न चाहने हो भने जनमतको उच्च सम्मान गर्दै प्रत्याह्वान (जनप्रतिनिधिलाई पदावधि रहँदैको अवस्थामा फिर्ता बोलाउन सक्ने मतदाताको अधिकार), जनमतसंग्रह र राइट टु रिजेक्ट (मन नपरेको उम्मेदवारलाई मतपत्रबाटै अस्वीकार गर्न सक्ने मतदाताको अधिकार) जस्ता प्रत्यक्ष लोकतान्त्रिक अभ्यासहरूलाई प्रयोगमा ल्याउन सक्छन् । यस्ता अभ्यासको माग बढेर गएकाले निर्वाचन कानुनमा यसको व्यवस्था गर्नुपर्छ । यस्ता विधिलाई दलहरूले स्वीकार गर्नैपर्छ । जति धेरै विकल्पको अभ्यास मतदातालाई गर्न दिइन्छ, त्यति नै लोकतन्त्र परिष्कृत हुँदै जान्छ र पद्धतिको विकास हुन्छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार