काठमाडौँ, साउन १५ । भारत र इङ्ग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल आज लन्डनस्थित केनिङ्टन ओभल मैदानमा हुँदैछ। नेपाली समयअनुसार खेल बेलुकी पौने ४ बजे सुरू हुनेछ।
यो खेल शृङ्खलाको निर्णायक खेल हुनेछ, जहाँ इङ्ग्ल्यान्ड हालसम्म २–१ को अग्रतामा रहेको छ। चौथो टेस्ट बराबरीमा टुंगिएपछि पाँचौं खेल निर्णायक बन्न पुगेको हो।
इङ्ग्ल्यान्ड टोलीमा कप्तानको परिवर्तन भएको छ। नियमित कप्तान बेन स्टोक्स काँधको चोटका कारण अन्तिम टेस्टमा अनुपस्थित हुने भएका छन्। उनको ठाउँमा ओली पोप ले कप्तानीको जिम्मेवारी सम्हाल्नेछन्।
भारतका लागि ओभल मैदानमा इतिहास खासै सकारात्मक छैन। अहिलेसम्म ओभलमा खेलेका १५ टेस्टमध्ये भारतले केवल दुई खेलमै जित हात पारेको छ। बाँकी खेलमा भारतले हार तथा बराबरी व्यहोरेको छ।
यो खेल दुवै टिमका लागि प्रतिष्ठासँग पनि जोडिएको छ, जसमा भारत शृङ्खला बराबरी गर्ने लक्ष्यमा रहनेछ भने इङ्ग्ल्यान्ड घरेलु मैदानमा विजय सुनिश्चित गर्ने प्रयासमा हुनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया