काठमाडौं, साउन २३ । नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। महासंघको आज बसेको बैठकले सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन नआएमा भदौको दोस्रो सातादेखि आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ऐन पारित गर्ने प्रक्रिया अगाडि नबढे र सरकारसँग भएको सहमति कार्यान्वयन नभए आन्दोलन अपरिहार्य हुने स्पष्ट पारे। उनले भने, “हामीहरूसँग भएको सहमति अनुसार ऐन नआएमा भदौ दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेका छौँ। त्यसका लागि भदौ ३ र ४ गते राष्ट्रिय समितिको बैठक पनि बोलाएका छौँ।”
सुवेदीका अनुसार, राष्ट्रिय समितिको बैठकपछि आन्दोलनको कार्यक्रम र स्वरूपबारे निर्णय लिइनेछ। महासंघले सरकारलाई विद्यालय शिक्षा ऐन ल्याउनका लागि आज साउन २२ गतेसम्मको समय सीमा दिएको थियो। तर, उक्त समय सीमा सकिएपछि महासंघले आज बैठक बसेर आन्दोलनको तयारी थालेको हो।
यसैबीच, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको बढुवाका लागि तीनवटा आधार तय गरेको छ। बिहीबार बसेको समितिको बैठकमा आन्तरिक प्रतिस्पर्धा, जेष्ठता, र कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांकनलाई मुख्य आधार मानेर बढुवा गर्ने सहमति भएको छ।
सरकारले विद्यालय शिक्षा ऐनलाई संसद्बाट पारित गर्न ढिलाइ गर्दै आएको भन्दै शिक्षक समुदायमा असन्तुष्टि बढ्दै गएको छ। शिक्षक महासंघले ऐनको अभावले शिक्षकको अधिकार र मर्यादा कमजोर हुने र स्थायीत्वको भावना खण्डित हुने ठहर गर्दै आएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया