कार्तिक २९, २०८३ आइतबार November 15, 2026

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षा बन्धन र जनैपूर्णिमा पर्व

आजको दिन सप्त ऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने गरिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षा बन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।

यसै कारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएर यो पर्व मनाइएको छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिएको छ ।

आजको दिन सप्त ऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिएको गौतमले बताउनुभयो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।

आजका दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुँसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षारामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ ।

यस अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेलमा आज राखी बाँध्ने विशेष कार्यक्रम आयोजना गरिएको ब्रह्मकुमार रामसिंह ऐरले जानकारी दिनुभयो । केन्द्रले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका अवसरमा राखी बाँध्ने विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कार्यक्रममा पूर्व मन्त्री, पूर्व सांसदलगायत समाजका विभिन्न क्षेत्रका महानुभावको सहभागिता रहेको उहाँले बताउनुभयो ।

यस अवसरमा आज काठमाडौँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचुड, रसुवाको गोसाईंकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ ।

मनाइयो गुन्हु पुन्ही

नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्हीका रूपमा मनाएका छन् । विशेष गरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्ने परम्परा रहिआएको छ ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृत व्याख्या गरिएको छ । यसै कारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार