काठमाण्डौंः संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
रविवार पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले फुटबल, भलिबल, क्रिकेटसहितका खेलकुदका लागि प्रशिक्षण र आवश्यक पूर्वाधार निर्माणमा केन्द्रीत नीति कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। ग्रामीण क्षेत्रमा खेलाडी उत्पादन गर्न पालिकास्तरमै कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ।
उहाँले फिदिममा २०७७ फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेका खेल मैदानको अधुरो निर्माण पूरा गर्न पहल गरिने र जिम्मेवारी नबोकेको ठेकेदार कम्पनीसँग सम्झौता तोड्ने प्रक्रिया थालिने चेतावनी पनि दिनुभयो।
१२ करोड १५ लाख ६६ हजार रुपैयाँ लागतमा बन्ने भनिएको उक्त खेल मैदानको हालसम्म ३१.७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ भने ठेकेदार सम्पर्कविहीन छन्। साथै, फिदिम–५ मा ६२ रोपनी नि:शुल्क जग्गामा बन्ने पाँचथर रंगशालाको निर्माण पनि बजेट अभावका कारण रोकिएको छ। मन्त्री चौधरीले यसका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया