कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने काठमाडौं महानगरको तयारी

संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३१ साउन । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएर पनि सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

महानगरको शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरेर खारेजीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी दिएको छ । यसै क्रममा वैकल्पिक विद्यालयहरूमध्ये महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उनका अनुसार २५ वटा विद्यालयलाई नाम परिवर्तनको अनुमति दिइएको छ भने सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम तथा स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरणलगायतका विषय अहिले शिक्षा समितिमा छलफल भइरहेको छ ।

यस्तै, रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ भने पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल र कम्प्युटर इञ्जिनियरिङ विषय थप गर्ने अनुमति प्रदान गरिएको छ ।

संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने तयारी पनि गरिएको छ । साथै नाम परिवर्तनका लागि कागजात पेश गरेका २१ विद्यालयलाई अनुमति दिइएको छ । संस्थागत विद्यालय स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेस गर्ने जिम्मेवारी शिक्षा तथा स्वास्थ्य समितिलाई दिइएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को शिक्षा बजेट र ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको उपयोगिता, सान्दर्भिकता र परिमार्जनका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने तयारी पनि महानगरले गरेको छ ।

सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले विद्यालय सञ्चालनका मापदण्ड, सामाजिक तथा स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाका लागि सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । प्रारम्भिक बाल विकाससम्बन्धी अभिलेखीकरण र विधान दर्ताका लागि शिक्षा विभागमार्फत अध्ययन गर्ने कार्यसमेत अघि बढाइने महानगरले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया