कास्की । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट पर्ने विशेष दिनमा आइतबार पोखरा–२४ कास्कीकोटमा परम्परागत दहीको होली भव्यताका साथ सम्पन्न भएको छ । परापूर्वकालदेखि मनाउँदै आएको यस दही जात्रामा यस वर्ष पनि हजारौँ भक्तजनहरूको सहभागिता रहेको थियो ।
गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको यस वर्षको दहीको होलीमा विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा र रथयात्रा समेत निकालिएको थियो । दहीको होली खेल्ने परम्परा कास्कीकोटमा मात्र रहेको समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।
उनका अनुसार अन्य स्थानमा श्रीकृष्ण जन्माअघि नै नाचगान तथा जात्राहरू गर्ने परम्परा रहँदै आएको भए पनि कास्कीकोटमा भने कृष्ण जन्मेपछि भोलिपल्ट मात्र दहीको होली खेलेर पर्व मनाउने चलन छ ।
भाद्रारी चौतारोमा घर–घरबाट ल्याइएका दहीलाई भाँडामा जम्मा गरी सामूहिक भजन–कीर्तन गरिन्छ । त्यसपछि श्रीकृष्ण, राधा र कंशको भेषमा सजिएर कृष्णभजन प्रस्तुत गर्ने र भक्तजनबीच आपसमा दही छेपाछेप गर्ने परम्परा रहँदै आएको छ ।
यसअघि भाद्रारी चौतारोमा रहेको चापको रुखलाई श्रीकृष्ण मानेर अन्य देवी–देवताहरूको पूजा गर्ने चलन रहेको छ । त्यस्तै त्रिपाठी, रानामगर, दुवाडी र अधिकारी वंशका व्यक्तिहरूले दही बोकेर क्षेत्रपाल, चण्डी, बराहा, वहासा, मनकान्छी लगायतका मन्दिरमा पूजा गर्ने परम्परा पनि चल्दै आएको छ ।
सचिव त्रिपाठीका अनुसार यो परम्परा करिब १५२४ सालअघिबाट सुरु भएको सुन्न सकिन्छ । नेपालका शाह राजाहरूको उद्गम थलो मानिने कास्कीकोटमा तत्कालीन राजदरबार अझै अवस्थित छ ।
यस वर्ष पनि सम्पदा संरक्षण मञ्च कास्कीकोट, नेपाल वृन्दावन धाम, कश्यप कालिका युवा क्लबको नेतृत्वमा दही जात्रा निकालिएको थियो । जात्रा कास्कीकोटको उच्च स्थान औलधाममा पुगी समापन गरिएको हो । जात्रामा भजन, चुट्का, विभिन्न झाँकी र बाजागाजाले माहोल झन् आकर्षक बनेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया