कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

घण्टलाई अहिले नै पुनर्निर्माण नगरिएमा यसको खम्बा ढल्न सक्ने र घण्ट टुटफुट भएमा फेरि ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने अवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउनसमेत बन्द गरिएको छ ।

काठमाडौँ उपत्यकाका दरबार स्क्वायरमा रहेका घण्टमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा ठूलो मानिन्छ । स्थानीयका अनुसार भूकम्पले क्षति पुर्याएपछि यो पूर्वतिर ढल्किएको अवस्थामा छ । जीर्ण अवस्थामा अडिएको यो घण्ट जुनसुकै बेला ढल्न सक्ने स्थिति छ । ऐतिहासिक घण्ट जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणको माग गर्दै पुरातत्व विभाग र युनेस्कोलाई पत्र बुझाएको पाटन दरबार स्क्वायर टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हामीले पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ । अझै कुनै पहल भएको छैन ।”

मल्लकालीन समयमा स्थापना गरिएको उक्त घण्ट १७६९ सालमा निर्माण गरिएको मानिन्छ । विसं २०७२ को भूकम्पका समयमा यो घण्ट नबजेको स्थानीय उपेन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ । विशेषतः हरेक वर्षको दसैँको जमरा राख्ने दिनदेखि दसैँका दिनसम्म यस घण्टा बजाएर पूजाआजा गर्ने गरिन्छ । उहाँका अनुसार राणाकालीन समयमा पाटन सहरका सबै मानिस सुत्नुपर्छ भन्ने मान्यताअनुसार राति १२ः०० बजे यो घण्ट बजाइन्थ्यो । घण्ट बजेपछि राति १२ः०० बजेपछि कोही पनि बाहिर निस्कन हुन्नथ्यो । अनि बिहान ४ः०० बजे फेरि घण्ट बजाइन्थ्यो, त्यसपछि सबैजना उठेर आआफ्नो काममा लाग्थे ।

घण्टको जगसँगै सटाएर व्यवसाय सञ्चालन गरेका एक स्थानीय व्यवसायीका अनुसार उहाँका हजुरबुबा १९५८ सालदेखि सो स्थानमा पसल सञ्चालन गर्दै आएका थिए । उहाँ भन्नुहुन्छ, “एक शताब्दीअघिदेखि व्यवसाय सञ्चालन गर्दै आएका छौँ । यो घण्ट भूकम्पका कारण जीर्ण अवस्थामा पुगेको छ । पाटन दरबारका सबै जीर्ण सम्पदा महानगर र पुरातत्व विभागले पुनर्निर्माण गरिसकेको छ ।”

ऐतिहासिक घण्टको जगमा सटाएर कोठा निकालेर स्थानीयले पुस्तौँदेखि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । ती पसल नहटाइएसम्म ऐतिहासिक घण्टको पुनर्निर्माण सम्भव छैन । यसको संरक्षणका लागि ललितपुर महानगरपालिका, पुरातत्व विभागलगायत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख जितेन्द्र चित्रकारका अनुसार पाटन दरबार क्षेत्रमा केही स्थानीयले पुस्तौँदेखि व्यापार सञ्चालन गर्दै आएका छन् । उहाँ भन्नुहुन्छ, “व्यापारीले पुस्तौँदेखि व्यापार गर्दै आएको कारण सम्झौताअनुसार हामीलाई व्यापार गर्न पाउनुपर्छ भन्छन् । व्यापारिक प्रयोजनका लागि बनाइएका भवन नहटाइएसम्म ऐतिहासिक घण्ट पुनर्निर्माण गर्न सम्भव छैन ।”

पुस्तौँदेखि दरबार क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीलाई प्रमाणसहित आउन गुठी संस्थान कार्यालयले पत्रचार गरेको समेत उहाँ बताउनुहुन्छ । कार्यालय प्रमुख चित्रकार भन्नुहुन्छ, “उहाँहरू प्रमाणसहित आउनुभयो भने समस्याको समाधान गछौैँ, किनकि सम्पदा हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

घण्टलाई अहिले नै पुनर्निर्माण नगरिएमा यसको खम्बा ढल्न सक्ने र घण्ट टुटफुट भएमा फेरि ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने अवस्था छ । घण्ट बजाउँदा त्यसको कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि यो घण्ट बजाइएको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार