असार २५, २०८२ बुधबार July 9, 2025

चार्टरभन्दा नियमित उडानको भाडा महँगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ।

नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपूर्तिका आधारमा तय हुने भएकाले विदेशमा अलपत्र नेपालीले स्वदेश फर्कन चर्काे मूल्य चुकाउनुपर्नेछ। कोरोनाका कारण विदेशमा अलपत्र नेपालीले अब चार्टर उडानभन्दा पनि नियमित उडानका लागि महँगो भाडा तिनुपर्नेछ।

हवाई यात्राका लागि टिकेटिङ गर्ने प्रणाली जिडिएस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम) मा चार्टरभन्दा पनि नियमित उडान भाडा महँगो भएको देखिन्छ। सरकारले यसअघिका उद्धार उडान व्यवस्थापन नगर्दा ट्राभल एजेन्सीहरूले मनलाग्दी भाडा असुलेको भन्दै विरोध भएको थियो। विरोध बढ्दै गएपछि केही गन्तव्यमा उद्धार उडानतर्फको टिकटको मूल्य पाँच हजारदेखि नौ हजार रूपैयाँसम्म घटाइएको थियो। तर अब नियमित उडानमार्फत अलपत्र नेपाली ल्याउन विमान कम्पनीहरूले महँगोमा टिकट बेच्न थालेका छन्।

चैतअघिभन्दा अहिले तय गरिएको भाडा पौने सात गुणासम्म महँगो भएपछि विदेशमा रोजगारी गुमाएका, आममाफी पाएका नेपालीलाई स्वदेश फर्कन झनै समस्या पर्ने देखिएको छ। बुधबारदेखि दिनमा दुईवटा नियमितसहित एक उद्धार उडानबाट पाँच सयजना नबढ्ने गरी नेपाली ल्याउने उडान तालिका सार्वजनिक भएको छ। सरकारले अहिले आएर नियमित उडान खोल्नुभन्दा नेपालमा रहेका विदेशी लैजान आएका चार्टर विमानबाट नेपालीलाई ल्याउन दिएको भए राम्रो हुने विज्ञहरूको धारणा छ। उद्धार उडान व्यवस्थित गर्दै उडान संख्या थपेको भए राम्रो हुने विज्ञको भनाइ छ।

हाल तय भएको टिकट शुल्कमा पुनर्विचार गर्न विमान कम्पनी तथा ट्राभल एजेन्सीहरूसँग छलफल जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताए। ‘चार्टर उडानतर्फको टिकटको शुल्क सरकारले तोके पनि नियमिततर्फको भाडा कायम गराउन विमान कम्पनीहरूको मुख्य भूमिका हुने भएकाले एकाधिकारका रूपमा भाडा तय गरेको देखिन्छ,’ मन्त्री भट्टराईले नागरिकसँग भने, ‘सीमित उडान भएको र टिकटको वर्गीकरणअनुसार भाडा तय भएको देखिएकाले के कारणले महँगो भयो भन्नेबारे सरकारले ध्यानाकर्षण गराएको छ।’

चार्टर उडानप्रति आएको जनगुनासोका कारण सरकार सीमित भए पनि नियमित उडान खोल्न बाध्य भएको उनले बताए। ‘हाल अन्य देशमा समेत ७० प्रतिशतसम्म उडान ग्राउन्डेड अवस्थामा छन्। तर, महामारीको समयमा व्यापारभन्दा सेवालाई समेत ध्यानमा राखी भाडा समायोजन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत ध्यानाकर्षण गराइसकेका छौं। मन्त्रालयस्तरमा समेत भाडादरबारे छलफल सुरु भइसकेको छ,’ मन्त्री भट्टराईले भने।

हाल तय भएको भाडाअनुसार खाडी मुलुक, मलेसिया, जापान, कोरिया, अमेरिका र युरोपेली मुलुकबाट फर्कने नेपालीले महँगो टिकट शुल्क तिर्नुपर्नेछ। नियमित उडान अनुमति पाएकामा स्वदेशीभन्दा विदेशी विमान कम्पनी धेरै छन्। महँगो भाडा तय गर्नेमा एयर अरेबिया, फ्लाई दुबई, मालिन्दो एयर, कोरियन एयर, इतिहाद, मलेसिया एयर र क्याथे ड्र्यागन अघि छन्।

स्वदेशतर्फका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो शुल्क तय गरेको सिस्टममा उल्लेख छ। नयाँ भाडाअनुसार एयर अरेबियाले सारजहा–काठमाडौंको टिकट मूल्य आठ सय २६ डलर तोकेको छ। यो रुटको टिकट मूल्य उद्धार उडानमा पाँच सय ४० डलर र लकडाउनअघि (नियमित उडान) न्यूनतम एक सय २३ डलर पथ्र्योे। लकडाउनअघिको भाडा भने उडानसँग सम्बन्धित अन्य कर तथा इन्धन खर्चबाहेकको हो। त्यस्तै, फ्लाई दुबईले दुबई–काठमाडौंको टिकट मूल्य आठ सय डलर तोकेको छ।

यसअघिका उद्धार उडानमा सोही गन्तव्यको टिकट मूल्य पाँच सय ४० डलर र लकडाउनअघि न्यूनतम एक सय ४० डलरसम्म थियो।

इतिहाद एयरले अबुधाबी–काठमाडौंको टिकट मूल्य सात सय तीन डलर तोकेको छ। उक्त गन्तव्यमा उद्धार उडान टिकट शुल्क पाँच सय ५० डलर थियो भने लकडाउनअघि यो मूल्य तीन सय ५० डलरसम्म थियो। नेपाल वायुसेवा निगमले अन्य विमान कम्पनीको दाँजोमा टिकट मूल्य सबैभन्दा सस्तो राखेको दाबी गरेको छ। निगमले दुबई–काठमाडौंको भाडा पाँच सय ७५ डलर राखेको छ। सो गन्तव्यमा उद्धार उडानका बेला तीन सय ६० डलर र लकडाउनअघि एक सय २३ डलरसम्म हवाइ भाडा लाग्थ्यो। नेपालको निजी क्षेत्रको हिमालय एयरलाइन्सले अबुधाबी–काठमाडौं उडानको टिकट मूल्य चार सय ८० लडर तोकेको छ। यो रुटमा उद्वार उडानका बेला तीन सय ८५ डलर र लकडाउनअघि एक सय ४० डलरमा टिकट पाइन्थ्यो थियो।

त्यस्तै, मलिन्दो एयरले क्वालालम्पुर–काठमाडौंको यात्रु भाडा पाँच सय १४ लडर तय गरेको छ। उद्धार उडानमा उक्त गन्तव्यको भाडा तीन सय ६० डलर थियो भने लकडाउनअघि एक सय २६ डलर थियो। मलेसिया एयरलाइन्सले सोही गन्तव्यका लागि प्रतिटिकट ६ सय २४ डलर तोकेको छ। यसअघि उक्त एयरलाइन्सले दुई सय ८० डलरमा काठमाडौें नियमित उडान भर्दै आएको थियो।

नेपाल वायु सेवा निगमले क्वालालम्पुर–काठमाडौंको भाडा चार सय ८१ डलर तय गरेको छ। उद्वार उडानमा तीन सय ८२ डलर र लकडाउनअघि एक सय ५३ डलरमा यो गन्तव्यमा उड्न पाइन्थ्यो। यो गन्तव्यका लागि हिमालय एयरलाइन्सले टिकट मूल्य पाँच सय ८१ डलर तोकेको छ। उक्त एयरलाइन्सले उद्धार उडानमा प्रतिटिकट तीन सय ८२ डलर र लकडाउनअघि एक सय ६० डलर लिन्थ्यो।

अहिले तय गरिएको भाडा अनुसार नारिता–काठमाडौंको भाडा सात सय १८ डलर छ। उद्धार उडानमा उक्त गन्तव्यको टिकट मूल्य दुई सय ६७ डलर र लकडाउनअघि दुई सय ६७ डलरसम्म थियो। सिओल–काठमाडौं हवाई भाडा नौ सय ५० डलर तय भएको छ। नयाँ भाडा अनुसार बेलायतबाट आउने नेपालीले १६ सय ८५ डलर तिर्नुपर्नेछ। सो गन्तव्यको उद्धार उडान भाडा १३ सय डलर थियो।

युरोपका अन्य मुलुकबाट फर्कने नेपालीले एक हजार ४६ डलरदेखि ११ सय ७२ डलरसम्म भाडा तिर्नुपर्नेछ। सो गन्तव्यमा उद्धार उडान शुल्क १३ सयदेखि १४ सय ५० डलरसम्म थियो। त्यस्तै अमेरिकाबाट फर्कने नेपालीले १९ सय ४५ देखि २१ सय ५८ डलरसम्म तिर्नुपर्नेछ। त्यहाँबाट हुने उद्धार टिकटका लागि १७ देखि १९ सय डलरसम्म तिर्नुपथ्र्यो।

पर्यटन मन्त्रालयका अनुसार सहज पिसिआर परीक्षण भएका मुलुकबाट दैनिक पाँच सयमा नबढ्ने गरी नियमित उडानमार्फत नेपाली, कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी नेपाल आउन पाउनेछ। नियमित उडानमार्फत पर्यटकले भने नेपाल आउन पाउनेछैनन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार