कार्तिक २२, २०८३ आइतबार November 8, 2026

‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’ – सभामुख

आगामी दिनमा सहकार्य जारी राख्न गर्नुपर्ने नीतिगत कुरामा सरकारका तर्फबाट सहयोग रहने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाटन (ललितपुर), १२ भदौः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षालाई राज्यले सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड)ले आज ललितपुरमा आयोजना गरेको आइल्यावको दिक्षान्त समारोह एवं पूर्वविद्यार्थी भेटघाट कार्यक्रममा सभामुख घिमिरेले नेपालमा प्राविधिक तथा व्यावसायिक क्षेत्रको सुधारका लागि तीनै तहका सरकारलाई उनीहरूको भूमिका कार्यान्वयन गर्न सक्षम बनाउन विभिन्न कार्यक्रमका साथ अगाडि बढिरहेको बताउनुभयो ।

“नेपालको संविधानले रोजगारीको अवसरलाई सबैको आधारभूत अधिकारका रूपमा लिएको छ, सक्षम मानव संशाधनमार्फत आर्थिक समृद्धि हासिल गर्न स्पष्ट दृष्टिकोण आवश्यक छ, हामी नीतिगत तथा कानुनी पक्षमा समयानुकूल सुधारको प्रक्रियामा छौँ, यद्यपि परिवर्तन प्रक्रिया सजिलो छैन, तर परिवर्तन अपरिहार्य छ”, सभामुख घिमिरेले भन्नुभयो । शिक्षाविद्, विशेषज्ञ, व्यवसायी, विकास साझेदार र निजी क्षेत्रको सहयोगमा टिभीइटी सुधार प्रक्रियामा देशमा स्पष्ट प्रगति गर्न सकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सहकार्य जारी राख्न गर्नुपर्ने नीतिगत कुरामा सरकारका तर्फबाट सहयोग रहने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले प्राविधिक शिक्षा सङ्घीयताको सफल पाटो हुन सक्छ भन्दै सङ्घीयतालाई सफल बनाउनु नेपालको बाध्यता हो भन्नुभयो । उहाँले सङ्घीयताको मुख्य आधार स्थानीय तह हो भन्दै प्राविधिक तथा व्यावसायिक शिक्षालाई दिगो र उत्पादनमूलक बनाउने गरी स्थानीय तहसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेल अधिकारीले तीन तहको सरकारबीचमा समन्वय भएर प्राविधिक व्यावसायिक शिक्षा र तालिमका कार्यक्रमलाई वडा तहसम्म पु¥याउनु आवश्यक रहेको बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले नेपाल सरकारले निर्धारण गरेको प्राविधिक र साधारण शिक्षाको लक्ष्य प्राप्ति गर्न यो परियोजनाले गरेको बहस, छलफल र कार्यक्रम महत्त्वपूर्ण छ भन्नुभयो ।

इटिएच जुरिकका व्यवस्थापन, प्रविधि र अर्थशास्त्र विभागका प्राध्यापक डा उर्सुला रेनोल्डले इटिएच जुरिकले आठ वर्षदेखि नेपालको प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै अर्थतन्त्रको उत्पादकत्व बढाउन टिभेट एउटा महत्वपूर्ण समाधान हो भन्ने विश्वास रहेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा बालचन्द्र लुइँटेलले ज्ञानको दायरा कक्षाकोठामा मात्रै सीमित हुँदैन भन्दै समुदायसँग मिलेर यसलाई प्रयोगमा ल्याउन स्कुल अफ एजुकेशन क्रियाशील भएको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा नेपालको प्राविधिक व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्न सन् २०२३ देखि आइल्याव परियोजना सञ्चालन हुँदै आएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारका लागि काम गर्न, सीप विकास र जागरुकता बढाउन काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनको आइल्यावको पूर्वविद्यार्थी मञ्च घोषणा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया