असार २४, २०८२ मंगलबार July 8, 2025

नागरिक मरिरहून्, सत्ता अमर रहोस् !- कृष्ण ढुङ्गाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए ।

वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त भयो । पुस्तकालयहरू जलाएर खरानी पारिए ।

सो विश्वविद्यालयका छात्र एवं चिनियाँ इतिहासकार ह्वेन साङले लेखेका छन्, ‘तीनवटै पुस्तकालयका पुस्तक जलेर खरानी हुन छ महिना लाग्यो ।’ त्यो बेला त्यहाँ लाखौं पाण्डुलिपि र हजारौं पुस्तक थिए । नालन्दामा आक्रमण गरेका माम्लिक साम्राज्यका सैनिक जनरल मोहम्मद बख्तियार खिलजीको फर्मान थियो, ‘सबै पुस्तक ध्वस्त पार्नू । कुरान पढे पुग्छ, अरू आवश्यक छैन ।’

सैनिक जनरलको आदेशबाट स्पष्ट छ : मानव सभ्यता र चेतनासम्पन्न समाज सत्तालाई खतरा हुन् । शासन चलाउन भारदार, आफ्ना आस्थावान् भए पुग्छ; अरू चाहिँदैनन् । प्राचीन नालन्दाका तीन पुस्तकालयहरू रत्नोदधि, रत्नसागर र रत्नरञ्जक खरानी भएयताका ८०० वर्षमा विश्वभर उत्कृष्ट शासकीय मोडल खोज गरिए, अपनाइए । कोशीको धेरै पानी बगेर गंगामा पुग्यो । नागरिकलाई स्वतन्त्रता र शासकलाई जिम्मेवार एकैसाथ बनाउने शासकीय मोडल यहाँ पनि अपनाइए । सम्राट्, राजा, महाराजा हुँदै शासकहरू प्रधानमन्त्री, राष्ट्रपतिमा बदलिए ।

तिनको नियुक्ति प्रक्रियामा ठूलै छलाङ भयो । तर यति बेला फेरि शासकीय शैलीले भनिरहेछ : सत्ता अमर राख्न भारदार, कार्यकर्ता भए पुग्छ । नागरिक मरिरहून् तर अमुक भगवान् अमर रहून् । यस्तो किन ? युनिभर्सिटी अफ न्यु हाम्सफारमा मिसेल डिलन र मेगन हेनलीले गरेको एउटा अनुसन्धानले भन्छ, ‘वैज्ञानिक सूचनाको पहुँचभन्दा टाढा हुनेहरू आफू आस्थावान् रहेको सम्प्रदायको नेताबाट छिटो प्रभावित हुन्छन् । यसलाई दलहरूले चुनावी फाइदाका लागि प्रयोग गर्छन् ।’ यो अमेरिकी सन्दर्भको कुरा हो । नेपालको यथार्थ अलि भयावह र फरक देखिँदै छ : सत्ता नागरिकलाई उपचार दिन नसकेको कमजोरी ठोरीमा निर्माण गरिने राम मन्दिरको गजुरले छोप्ने प्रयास गर्दै छ ।

निश्चय नै, धर्महरूले मानव अस्तित्वको व्याख्या गरेर अनुशासित जीवनको अवधारणा बुझाउन प्रयास गरेका छन् । र, अर्को तथ्य हो : धर्महरूको निरन्तरतालाई मानव अस्तित्व अनिवार्य सर्त हो । पैसा र सत्ताका लागि प्रभावशाली लयमा झुटो बोल्नु एउटा फरक क्षमता हो । यति बेला यो देशका नागरिकले भोगेको यथार्थ हो- शासक धार्मिक आस्थामा सवार भएर सत्ता दिगो बनाउन काम गरिरहेछन्, नागरिक बचाउनु ‘सेकेन्डरी’ हो ।
यदि त्यस्तो हुँदैनथ्यो भने माम्लिक साम्राज्य अन्त्यको ७३० वर्षपछि वीरगन्जमा उपचार नपाएर विष्णु लामाहरूले अल्पायुमै जीवन अन्त्य गर्नुपर्ने थिएन । आधा दर्जन अस्पतालले उपचार गर्न अस्वीकार गरेर विष्णु मृत्युवेदनामा छटपटाइरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन थप्न चासो नदिएर ठोरी र आसपासका जनप्रतिनिधिलाई फर्मान गरिरहेथे, ‘राम जन्मस्थल अयोध्या नेपालमै हो । ठोरीमा भव्य मन्दिर बनाऊ । ७८ सालमा त्यो उद्घाटन गर्नुपर्छ ।’ बालुवाटारबाट प्रधानमन्त्रीको फर्मान त्यति बेला भइरहेथ्यो, जतिखेर उपचार नपाएर नागरिकहरू काठमाडौंका कोठामा खोक्दै एक्लै छटपटाइरहेथे ।

समाजवाद स्थापनाको राजनीतिक दर्शन अँगालेका शासकको महामारी समयको यो फर्मान सैनिक जनरल खिलजीको भन्दा कति फरक छ ? सिद्धान्तमा आधारित भएर त्यसको शोध राजनीतिशास्त्रका विद्यार्थीहरूले बिस्तारै गर्लान् । अहिलेको मुख्य सवाल हो- यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।

महामारीमा २२८ नागरिकले ज्यान गुमाइसकेपछि अस्पतालमा स्वास्थ्यकर्मी र सेवा अभावको विषय फेरि सतहमा आएको छ । सरकारले प्रश्न गर्ने नागरिकप्रति जति ठूलो द्वेष देखाए पनि यो अवस्था बिनाकारण आएको होइन । कोभिड–१९ संक्रमित ५० जना नपुग्दै अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले सातै प्रदेशका ११० अस्पतालको सेवा स्थिति अध्ययन गरेथ्यो । वैशाखमा सार्वजनिक रूपमै जीआईआईएस प्रतिवेदनले भनेथ्यो, ‘सानामध्ये ८१ प्रतिशत, मध्यममध्ये ३९ प्रतिशत र ठूलामध्ये ३३ प्रतिशत अस्पतालमा एउटा पनि आइसोलेसन बेड छैन । ठूला अस्पतालका ५० प्रतिशत आईसीयू सञ्चालनमा छैनन् ।’

हुन त अहिले देखिएको चिकित्सक, भेन्टिलेटर, आईसीयू र बेड अभावको बीउ सरकारले ७ महिनाअघि नै रोपेको हो । तथ्यले देखाउँछ : २०७६ पुसमा चीनमा देखिएको कोभिड–१९ एक महिनाको यात्रापछि मात्र नेपाल आइपुगेको हो । त्यहाँदेखि अहिलेसम्म सरकारले ककसका लागि काम गर्‍यो ?

प्रधानमन्त्री र भारदारहरू नागरिकप्रति ‘रिएक्ट’ (रेस्पोन्स होइन) गरिरहेछन् : सरकारले गजब गरेको हो, मिडियाले बिगारे, आलोचकको मति सप्रियोस् । मानौं ओम्नी, सांसद अपहरण आलोचककै उपज हुन् । र, पीसीआर टेस्ट गर भन्नु अक्कल बिग्रनु हो ।तथ्य हो, शासकले बोलेको झुट कार्यकर्ता वा भुइँमान्छेले पत्याए पनि कोभिड–१९ ले औषधि–उपचारबाहेक अरू भाषा बुझ्न सकेन ।

तैपनि नेपाल र भारत दुई देशका शासक वीरतापूर्वक ८०० वर्षपछाडिको शासकीय शैली अभ्यास गर्न प्रतिस्पर्धा गरिरहेछन् : राम र बुद्ध हाम्रै हुन्, नागरिकको जीवन तपसिलको कुरा हो । शक्तिशाली सरकार स्वयंले मस्यौदा गर्ने नीति, कानुनबाट महामारीमा भएका अनियमितता र भ्रष्टाचारबाट शासक र तिनका मतियारले डराउनैपर्दैन । बकस दिएर राज्य अंगमा पठाइएका नातेदार, दास वा भेटी बुझाएर गएकाहरूले प्रभुको खातिरदारी नगर्ने कुरै छैन । १ लाख वर्ष लामो इतिहासमा सबैमाथि जित हासिल गर्ने आखिर मानव नै त हो । यति शक्तिशाली प्रधानमन्त्री ओलीसामु एउटा सामान्य सवाल छ : उपचार नपाएर नागरिक मरिरहँदा प्राथमिकता मठमन्दिर बनाएको विषय मानव विकास इतिहासमा कस्तो रङले लेख्ने ? सुनौलो वा कालो अक्षरले ? कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार