असार २४, २०८२ मंगलबार July 8, 2025

ईतिहासको पाठ र समयको माग- चन्द्रदेव जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको राजनीतिक परिदृश्य पूर्वानुमान गर्नै नसकिने गरी खल्बलिएको छ र अविश्वसनीय रूपले चलायमान भइरहेको छ । एकातर्फ प्रमुख पार्टीहरू विशेषगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अराजनीतिक अन्तरकलहले जन्माएको द्वन्द्व, अर्कातर्फ सत्ताको राजनीतिक भ्रष्टीकरण, कुशासन, अनियमितता, बिचौलिया र माफियाहरूको बढ्दो रजगज र बाह्य हस्तक्षेपबाट देशमा बहुआयामिक द्वन्द्व र जटिलताको अवस्था विद्यमान छ । यसबाट नयाँ राजनीतिक अस्थिरताको चरण सुरु हुन सक्ने खतरा बढेर गएको छ । जसको मुख्य कारण वर्तमान सत्तारुढ नेकपाको नैतिक पतन हो ।

आमरूपमा प्रगतिशील र विशेषगरी कम्युनिस्ट शक्तिले सत्ता प्राप्तिपछि आर्थिक, सामाजिक एवं राजनीतिक रूपान्तरणको प्रक्रियामा बहुआयामिक जटिलता, अन्तरद्वन्द्व र वर्गसंघर्षको अवस्था आउनु सामान्य प्रक्रिया नै हो । रूपान्तरणको प्रक्रियामा परस्पर बाझिने वर्गीय स्वार्थहरूको टकरावबाट उत्पन्न हुने वर्गसंघर्ष र त्यसको परिणामस्वरूप अगाडि आउने राजनीतिक संघर्ष तिनको चरित्र हुने गर्छ । तर, यहाँ अवस्था भिन्न छ । देशमा देखिएको वर्तमान राजनीतिक द्वन्द्व र दाउपेचको पछाडि रूपान्तरणको नीतिगत प्रक्रियाले जन्माएको वर्गीय स्वार्थहरूको टकरावभन्दा पनि विगतको राजनीतिक अस्थिरता र आर्थिक मारबाट मुक्ति पाउन मतदाताले विश्वास गरी बलियो समर्थनसहित सत्ता सुम्पेको नेकपाभित्र देखिएको व्यक्तिगत स्वार्थ, विद्वेष र महत्वाकांक्षाबाट उत्पन्न सत्तासंघर्ष प्रमुख कारण हो ।

सत्ताधारी पार्टीको वर्तमान द्वन्द्व ओलीका विरोधीहरूले भन्ने गरेजस्तो नीति, सिद्धान्त वा पद्धतिको पालना नगरेको कारणले मात्र उत्पन्न भएको होइन । यी पक्ष भनेका कुनै पनि पार्टीको सांगठनिक सिद्धान्तका अभिन्न अंग नै हुन् । अन्यथा त्यो कम्युनिस्ट पार्टी हुनै सक्दैन । तर, समस्याको जड नेतृत्वको नियत हो, नैतिकता, संस्कार र स्वार्थको टकराव हो । जुन कुरा व्यक्तिको मानसिकता, नैतिकता र संस्कारसँग जोडिएका विषय हुन् । यिनको समाधान गोप्य लेनदेन वा कागजी सहमतिमा ल्याप्चे लगाएर होइन, नेतृत्वको नियत र चरित्रमा परिवर्तन गरेर मात्र हुन सक्छ । यस्ता लेनदेनबाट न त पार्टीको शुद्धीकरण हुन्छ, न पार्टीमा रूपान्तरणको सम्भावना देखिन्छ । यसबाट सत्तासीन नवभारदारहरूबाट भइरहेको नांगो भ्रष्टाचार र माफियातन्त्रसँगको खुलमखुला साँठगाँठ समाप्त गरी पार्टी र सत्ताको नेतृत्वप्रति जनताको सहज विश्वास पुनः प्राप्त गर्न सक्ने अवस्था पनि छैन । भ्रष्टाचार, नागरिक असुरक्षा, भोक-रोग, महामारी तथा प्राकृतिक प्रकोपप्रति वर्तमान सत्ताको तदर्थवादी व्यवहार दृश्य रूपमा समाप्त नभएसम्म जनविश्वास आर्जन गर्न सकिँदैन । तर, संसदीय भासमा जाकिएको र माफिया सञ्जालसँग गाँसिएको वर्तमान अवस्थामा यस्तो सम्भव देखिँदैन ।

अहिले सत्ताबाहिर रहेका पार्टी, स्वतन्त्र युवा चिन्तक र केही अभियन्ता अग्रगामी परिवर्तनका लागि अगाडि आउँदै गरेको देख्न सकिन्छ । तर, यस्ता समूहले अझै निश्चित लक्ष्य, ठोस नारा र संयुक्त शक्तिको रूप लिएर संघर्षको सही ग्रहण गर्न सकिरहेका छैनन् ।

भविष्यप्रति चिन्तित आमजनता र सामाजिक जीवनको विभिन्न फाँटमा रहेका सचेत युवा जमात, प्रगतिशील बौद्धिक समुदाय, अधिकारकर्मी आदिबाट मात्र होइन, स्वयं नेकपाभित्रैबाट समेत वर्तमान नेतृत्व र सत्ताप्रति तीव्र असन्तोष व्यक्त भइरहेको छ र विकल्पका लागि लक्ष्यविहीन अन्तर्संघर्ष चलिरहेको छ । यस जनअसन्तोष र अन्तरपार्टी संघर्षलाई सारभूत रूपमा सम्बोधन गरी समाधान खोजिएन भने आगामी दिनमा अवस्था झन् जटिल हुँदै जानेछ र यसबाट प्रमुख रूपले दुई किसिमका खतरा उत्पन्न हुन सक्नेछन् । पहिलो– जनअसन्तुष्टि बढ्दै गएको खण्डमा समाजका उग्र निम्न-पुँजीवादी तप्का र गाँसवासविहीन गरिबहरूको आक्रोशपूर्ण अनियन्त्रित सडक-संघर्ष अगाडि आउन सक्छ, जुन निम्न–पुँजीवादी जमातको आमप्रवृत्ति नै हो ।

त्यस्तो अराजक अतिवादी आन्दोलनले कुनै सकारात्मक अग्रगामी परिवर्तनको दिशा र लक्ष्य लिन सक्दैन । तर, देशमा राजनीतिक विशृंखलता र आतंकवादलाई जन्म दिन भने सक्छ । दोस्रो- त्यस्तो राजनीतिक अराजकताको फाइदा उठाई शक्तिच्युत प्रतिक्रियावादी शक्ति तथा नेपाललाई दक्षिणपूर्वी एसियामा आफ्ना विध्वंसकारी गतिविधिको केन्द्र बनाउन क्रियाशील नवउपनिवेशवादी साम्राज्यवादी शक्ति र तिनका ऐजेन्सीहरूले कुनै न कुनै पक्षलाई आडभरोसा दिई सत्तालाई आफ्नो प्रभावमा ल्याउने र देशलाई प्रतिगमनको दिशामा धकेल्ने खुला प्रयास गर्नेछन् । यसका संकेत अहिले नै देखा पर्दै छन्, जहाँ एकतर्फ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, राष्ट्रिय एकता एवं सहिष्णुता बिथोल्न विभिन्न फाँटका शक्तिहरूलाई टेवा दिने काम भइरहेको छ, अर्कोतर्फ हिन्दुत्वको आडमा सत्ताच्युत राजावादी शक्तिहरूलाई सक्रिय र संगठित गर्ने प्रयास भइरहेका छन् । यसबाट देशको सहजीवन, स्वाधीनता, अखण्डता तथा सामाजिक सद्भाव खतरामा पर्नेछ ।

सबैले बुझेकै कुरा हो, कम्युनिस्ट विचारधाराको जन्म कम्युनिस्ट पार्टीका नेताहरूलाई जनताको मालिक बनाउन होइन, श्रमजीवी वर्गको जनसत्ता कायम गरी वर्गीय शोषणविहीन श्रमप्रधान समतामूलक समाजको स्थापना गर्न भएको हो । त्यही विश्वासमा जनताले कम्युनिस्ट पार्टीलाई मतदान पनि गरेका हुन् । तर, वर्तमान कम्युनिस्ट सत्ताको चरित्र र यसका क्रियाकलाप यसको विपरीत देखिन्छन् । लाखौँलाख कार्यकर्ता र नेतृत्वपंक्ति भएको दाबी गर्ने नेकपाको सत्ता आम शोषित–पीडित जनताको आर्थिक मुक्ति र सुखशान्तिका लागि छहारी दिने वृक्ष हुनुपर्ने हो, तर यो पार्टी र यसको सरकार त्यसको ठीकविपरीत आकर्षक विषवृक्ष ‘चाइना बेरी’ जस्तो भएको छ । जसका फलफुलको रूपरंगले मानिसलाई आकृष्ट त गर्छन्, तर ती विषाक्त हुन्छन् । नेकपाले लाखौँ प्रतिबद्ध एवं अनुशासित कम्युनिस्ट कार्यकर्ता जन्माउनुको साटो सत्ताधारी नवसामन्ती शोषकवर्ग र भ्रष्ट शासकवर्ग जन्माएको छ, जसको विषबाट देश र जनता पीडित भइरहेका छन् र यो विष दिनप्रतिदिन फैलिँदो छ ।

वर्तमान संविधानले परिकल्पना गरेको समाजवादउन्मुख संक्रमणकालीन संरचनाहरूको अवधारणा सन् साठीको दशकमा जन्मेको हो । इतिहास हेर्ने हो भने यस्ता संरचना निर्माण गर्ने अगुवा शक्ति कम्युनिस्ट पार्टीहरू नै हुन् । संक्रमणकालीन जटिल अवस्थामा देशको नेतृत्व समाजवादी लक्ष्य र ध्येयप्रति प्रतिबद्ध निष्ठावान् कम्युनिस्ट नेतृत्वले मात्र गर्न सक्छ । तर, हाम्रो सन्दर्भमा प्रचण्ड–ओली गठबन्धनको वर्तमान ‘कम्युनिस्ट ?’ सरकार र पार्टी नै देशमा व्याप्त कुशासन, भ्रष्टाचार र माफिया सञ्जालका बिगबिगीको प्रमुख कारण हो । यस अवस्थालाई समाप्त गरी देशलाई समाजवादी दिशामा अगाडि बढाउन नेकपा सक्षम पनि छैन, प्रतिबद्ध पनि छैन भन्ने पुष्टि भइसकेको छ ।

सत्तारुढ दलको जारी द्वन्द्व नीति, सिद्धान्त वा पद्धतिको पालना नगरेका कारणले मात्रै उत्पन्न भएको होइन ।

अतः संविधानको मर्मअनुसार समाजवादउन्मुख दिशामा संक्रमणका लागि पार्टी र सरकारको वर्तमान नेतृत्व मात्र होइन, सत्ताको चिन्तन र चरित्रमा नै आमूल परिवर्तनको माग समयले गरेको छ । यस कार्यभारलाई पूरा गर्ने पहिलो नैतिक दायित्व नेकपाभित्रैका तर नबिटुलिएका युवा ‘कम्युनिस्टहरू’कै हो । अहिले पार्टी र सरकारको नेतृत्व कब्जा गरी हालिमुहाली गरिरहेकाहरूको कुर्सी साटफेरबाट मात्रै यो लक्ष्य प्राप्त हुन सक्दैन । यो गुरुत्तर कार्य केवल स्पष्ट मार्गचित्रसहितको निष्ठावान् नेतृत्वले मात्र गर्न सक्छ । अतः समयको मागलाई सम्बोधन गर्न समाजवादी ध्येयप्रति समर्पित निष्ठावान् क्रान्तिकारी शक्तिलाई संगठित गर्नुपर्ने आवश्यकता छ ।

क्रान्तिकारी शक्ति अनायास आकाशबाट झर्ने होइन, न त स्वस्फूर्त रूपमा नै त्यसको जन्म हुन्छ । त्यो हाम्रै समाजको गर्भबाट र यहीँको माटोबाट जन्मिन्छ । तर, त्यसका लागि सचेत प्रयासको आवश्यकता हुन्छ । यसका अझै वस्तुगत आधार जीवित छन् । किनकि नेकपालाई कम्युनिस्ट पार्टीमा रूपान्तरित गरी देशलाई समाजवादी लक्ष्यतर्फ अग्रसर गराउने मार्ग खोजिरहेको युवा अझै यस पार्टीभित्र छन् ।

संसद्मा माफियाहरूको बलियो पकड भए पनि त्यहाँ पनि अझै केही ‘कम्युनिस्ट’हरू छन् । स्थानीय सरकारमा, यद्यपि त्यहाँका अधिकांश कम्युनिस्ट भनिनेहरू भ्रष्टचारमा लिप्त छन् र तिनको नैतिक पतन भइसकेको देखिन्छ, तैपनि ती निकाय तथा जनस्तरमा अझै इमानदार कम्युनिस्टहरूको केही जमात बाँकी छ । यसबाहेक अहिले सत्ताबाहिर रहेका पार्टी, स्वतन्त्र युवा चिन्तक र केही अभियन्ता अग्रगामी परिवर्तनका लागि अगाडि आउँदै गरेको देख्न सकिन्छ । तर, यस्ता समूहले अभैm निश्चित लक्ष्य, ठोस नारा र संयुक्त शक्तिको रूप लिएर संघर्षको सही ग्रहण गर्न सकिरहेका छैनन् । सम्भावना भने छन् । मुलुकलाई वर्तमान अराजकताबाट बाहिर निकाली अग्रदिशा दिन परिवर्तनको लक्ष्य, नीति र नियतसहितको स्पष्ट मार्गचित्र हुन आवश्यक छ । यसलाई स्थापित गर्न निःस्वार्थ र निष्ठावान् प्रयासको आवश्यकता छ ।

परिवर्तनका लागि संघर्ष अगाडि बढाउँदा दुइटा ऐतिहासिक जिम्मेवारीलाई सधैँ मध्यनजर गर्नुपर्ने हुन्छ । पहिलो-जनआन्दोलनका उपलब्धिको संरक्षण र संवद्र्घन गर्दै देशलाई समाजवादको दिशामा अगाडि बढाउन सैद्धान्तिक दृढता र वस्तुपरक व्यावहारिक कार्यनीति तय गरी अगाडि बढने । दोस्रो- देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भाव र एकताको संरक्षण गर्ने ठोस योजना । अहिले, राष्ट्रियताको प्रश्न विगतको भन्दा बढी संवेदनशील र जटिल बनेको छ । राष्ट्रियताको जगेर्ना गर्न नागरिक अधिकार र संघीयताको स्वरूप जस्ता जनमनोविज्ञान र संवेदनासँग जोडिएका प्रश्नहरूको सम्यक् समाधान खोज्न स्पष्ट योजना हुनुपर्छ ।

त्यसैगरी, नवसाम्राज्यवादी शक्तिहरूको क्षेत्रीय प्रभुत्व कायम गर्ने प्रयासलाई रोक्ने रणनीति आवश्यक छ । विगतदेखि नै सत्ताधारीहरू आफ्नो राजनीतिक स्वार्थका लागि तिनका सामु झुक्दै आएका हुन्, यसमा सतर्क हुन आवश्यक छ । यो नै नयाँ संयुक्त शक्ति निर्माणको आधार हुनेछ । तर, राजनीतिलाई निजी स्वार्थपूर्तिको साधन र शक्ति प्राप्त गर्ने सिँढी बनाउने चरित्र र निजी स्वार्थ कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीका लागि मन्दविष हो । नेतृत्वको यस्तो चरित्र र व्यवहारले सिंगो आन्दोलन र समाजको नयाँ पिँढीलाई पनि विषाक्त गर्नेछ । नयाँ पिँढीले यस्तो प्रवृत्तिलाई जराबाटै उन्मूलन गर्न सक्नुपर्छ । अन्यथा, बारम्बार त्यही अवस्था दोहोरिने छ, जुन अवस्थामा हामी आज छौँ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार