बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

दशहराः न ‘झिझिया’ को लय न ‘ढोल’ को डिगडिगिया

दशहारा पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, ९ असोजः मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व भन्नेबितिक्कै बूढापाका मैथिल झिझिया र ढोल सम्झन्छन् ।

दशहारा पर्वको नवरात्र सुरु हुनासाथ बिहान÷बेलुका बस्तीबस्तीका घरघरै पुगेर ‘ढोल’ (नगरा) को डिगडिगिया (ढोल बज्दाको आवाज) बजाइन्थो । यसले दसैँ घरआँगनमा आएको आभाष हुन्थ्यो, तर पछिल्लो समय दसैँको पर्याय बनेका यी परम्परागत कला लोप हुँदै गएका छन् । भङ्गाहा–४ का ८० वर्षीय वृदेवसिंह दनुवार ढोलको आवाज सुन्न छाडेको एक दशक नै नाघिसकको बताउनुहुन्छ ।

दसैँका बेला बस्तीहरूमा नवरात्रभरि प्रत्येक रात गुञ्जने भिझियाको लय र त्यसको तालको नृत्य पनि बिस्तारै लोप हुँदै गएको र पर्वविशेषको यो चलन मेटिँदै जाँदा दसैँको रौनक नै हराएको उहाँको भनाइ छ । “दशहारा आयो भन्छन्, तर न ढोल बज्छन्, न झिझिया देखिन्छ”, दनुवार भन्नुहुन्छ, “पर्वविशेषका खास परम्परा हराउँदै गएपछि यसको मौलिकता देखिन, सुनिन छाडेको छ । यसले हामीलाई चिन्तित बनाएको छ ।”

सोमवती चौधरी थारू पनि दसैँको परम्परागत मौलिकता हराउन थालेको बताउनुहुन्छ । “दशहारा सुरु भेला तीन दिन भगेल, बुझाइते नई अई जे पावैन अई, न गामघरमें ढोल बजैय, न झिझिया नाच दिखाइय (दशहारा सुरु भएको तीन दिन भइसक्यो, खै पर्व आएको जस्तो नै लाग्दैन, न ढोल बज्छन्, न झिझिया नृत्य देखिन्छ”, उहाँले भन्नुभयो ।

सामाजिक संस्थाहरूले कतैकतै झिझिया आयोजना गर्ने गरेका छन् । यद्यपि, जनमनबाट मनाउने परम्परा हराउँदै जान थालेको गौशाला–१२ कालीपुरकी बासिन्दा पवनदेवी महतोले पनि महसुस गर्नुभएको छ ।

महोत्तरीसहितका मिथिलामा दसैँ पर्वलाई दशहारा भनिन्छ । यस पर्वमा पहिलो दिन घटस्थापनासँगै सुरु हुने नवरात्रमा बस्तीका घर-घरैजसो ‘दसैँके ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिक रूपमा गीत गाउँदै नाचिने झिझिया नाच्ने गर्थे । दशहारा पर्वको घटस्थापनाकै दिनदेखि नवमीसम्म बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैंंके ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीबाबुहरू अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बूढापाका बताउँछन् ।

बस्तीबस्तीमा दुर्गा प्रतिमा बनाउने र दुर्गामेला आयोजना गर्ने कुरामा नयाँ पुस्ता देखिए पनि पर्वको पुरानो परम्परा ‘झिझिया’ र ‘ढोल’ बिना दसैँ खल्लो लाग्ने गरेको स्थानीय बताउँछन् । “प्रतिमा बनाउने, मेला आयोजना गर्ने त ठिकै छ, मेलामा ढोल बजाउने र झिझिया नाच्ने कार्यक्रम राखे त हुन्थ्यो नि”, औरही–७ भोइलका ७५ वर्षीय मोहन महतो भन्नुहुन्छ, “यी कार्यक्रम राखिदैनन्, बरु लाखौँ खर्चेर कर्कश स्वरका डिजे बाजामा भद्दा नाच नचाइन्छ । यो राम्रो भएन ।”

यसैगरी नवरात्र सुरु भएकै दिनदेखि मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा नाच्ने नृत्याङ्गनाहरुको समूह पनि अब पातलिँदै गएको छ । ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा…!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रह्मस्थान) स्थलमा पुगेर मिथिलानी (मिथिलाका नारी) हरूले सुरिलो भाखामा गाउँदै फनफनी आपूmलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेको छ ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैँको ढोल बज्न छाडेको बताउँछन् । “शरीरले साथ दिउन्जेल रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाहँदैनन्, के गरौँ ?” भङ्गाहा–५ सीतापुरका अछवा राम चमारको गुनासो छ । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य देश जान थालेपछि पुख्र्यौली रीतिथिति र पेसा थाम्ने कुरा ओझेलमा परेको हो ।

त्यसैगरी असुर प्रवृत्तिविरुद्घ सात्विक व्यवहार र असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा मनाइने दशहारा पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । रामगोपालपुर–२ टेङरका बासिन्दा ७५ वर्षीय गणेशप्रसाद यादव दसैँ लागेपछि प्रत्येक रात बस्तीका महिलाहरू सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनोरञ्जनका हाम्रा आफ्नै समृद्ध परम्परा छन्, यी अहिले मेटिने अवस्थामा पुगेका छन्, पछिल्ला पुस्ताले यस कुरामा ख्याल गर्न प¥यो ।”

झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण एवं दीर्घायुको कामनाको भाव हुन्छ । पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्ने धेरैको सुझाव छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार