काठमाडौँ, जेठ २३ गते । नेपालमा तापलहर चल्न सुरु भएको छ । यसको प्रभाव नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका तराई भूभागमा अधिक देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यतराईको बुटवल भावनीपुर क्षेत्रमा शुक्रबार दिउँसो ४० डिग्री सेन्टिग्रेडभन्दा माथि तापक्रम रेकर्ड भएको छ । त्यस्तै भैरहवामा पनि अपराह्न ४० डिग्री सेन्टिग्रेड तापक्रम रेकर्ड भएको छ ।
विभागले औँल्याए अनुसार रामेछापको मन्थली विमानस्थलमा ३६.५, बाराको सिमरामा ३५, पोखरा ३४, दाङ ३६, नेपालगन्ज ४१, वीरेन्द्रनगर ३७, धनगढी ३६.२, काठमाडौँ ३१, विराटनगर ३३.३, झापा ३३.४, जुम्ला २७, जनकपुर ३७ डिग्री सेन्टिग्रेडआसपासको अधिकतम तापक्रम रेकर्ड भएको विभागले जनाएको छ । अबको केही दिन तापलहर उच्च हुने भएकाले सतर्क रहन विभागले अपिल गरेको छ । नेपालमा मनसुन भित्रिने समय नजिकिँदै गरेको बेला अत्यधिक तापक्रम बढेसँगै तापलहरको अवस्था सिर्जना भएको विभागले औँल्याएको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा जेठ १९ गतेदेखि ३७ डिग्री सेन्टिग्रेड वा त्योभन्दा बढी तापमान मापन भएको छ । लुम्बिनी प्रदेशका तराई भूभागको केही स्थानमा अधिकतम तापक्रम ३९ डिग्री सेन्टिग्रेडभन्दा माथि मापन भएको जनाइएको छ । आउने हप्ताभरि नै तराईमा तातो बढ्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँका अनुसार आगामी केही दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको तापक्रम उच्च रहने भएको छ । तापलहर चल्ने तराईका जिल्लामा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी तथा पश्चिम नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी रहेका छन् । त्यस्तै कञ्चनपुर, कैलाली, चितवन, सुनसरी,मोरङ र झापा जिल्लामा पनि तापलहर उच्च हुने सम्भावना रहेको जनाइएको छ । तापलहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुनेसम्मका असर देखिने स्वास्थ्यकर्मीले सुझाउनुभएको छ । त्यस्तै अधिक तातोले शरीरका मांसपेशी दुख्ने, बान्ता हुने जोखिम रहने भएकाले आफू र आफ्ना परिवारका सदस्यलाई जोगाउन पनि विभागले गरेको छ ।
तापलहरबाट बच्न बढी गर्मीको समयमा शीतल स्थानमा बस्न तथा बाहिर नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न र टोपी लगाएर हिँड्न सुझाव दिइएको छ । गर्मीका समयमा अत्यधिक पानी तथा झोलिलो प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीको सम्पर्कमा जान विभागले सुझाएको छ । आउँदो साता देशका विभिन्न भूभागमा हल्का वर्षाको सम्भावना भए पनि त्यसले तापक्रम कम हुने सम्भावना नरहेको मौसमविद्हरूले बताउनुभएको छ । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया