श्रावण २३, २०८३ शनिबार August 8, 2026

बागमती किनार सौन्दर्यीकरण

एक हजारभन्दा बढी नागरिकलाई होल्डिङ सेन्टरमा व्यवस्थापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २२ गते । सरकारले बागमती नदी किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि सौन्दर्यीकरण कार्य अगाडि बढाएको छ । बागमती नदीको बहाबक्षेत्र मिचिएका ठाउँ खुला गर्ने र छ वटा व्यवस्थित बगैँचा (पार्क) निर्माणका लागि अध्ययन आरम्भ गरेको हो । सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोला किनार; जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गराएपछि बर्खामा बाढी र डुबानको जोखिमको पनि स्थायी समाधान निकाल्ने गरी गृहकार्य थालेको हो ।

पूर्वाधार विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपनिर्देशक एवम् वरिष्ठ विभागीय इन्जिनियर उद्धव नेपालले सरकार एवम् सम्बन्धित मन्त्रालयले नीतिगत निर्णय गरेपछि समितिले बागमती नदी किनारमा खाली गरिएका क्षेत्रमा वृक्षरोपण, हरियाली बगैँचा निर्माण र बहाबक्षेत्र अतिक्रमण भएका ठाउँलाई पनि खुलाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अतिक्रमित क्षेत्रबाट सुकुमवासी बस्ती स्थानान्तरण गरिएको छ । विस्थापितलाई होल्डिङ सेन्टरमा राखिएको छ । बिस्तारै व्यवस्थापन हुन्छ नै । बागमती नदी किनारलाई व्यवस्थित गर्ने कामको थालनी हुन्छ । अध्ययन कार्य आरम्भ गरिएको छ । मन्त्रालयले नीति निर्माण गर्छ । समितिले कार्यान्वयन अघि बढाउँछ ।”

इन्जिनियर नेपालले पार्क एवम् अन्य संरचना व्यवस्थित गर्नका लागि समितिले योजना बनाइरहेको बताउनुभयो । उहाँले तत्कालै निर्माण सामग्री व्यवस्थापनको काम अघि बढाइएको तथा वंशीघाटमा रोल गरेर होचो ठाउँलाई उचाइ दिइएको र अब त्यसमाथि माटो राखेर पार्क बनाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बल्खु, कुलेश्वर, वंशीघाट, गैरीगाउँ, सिनामङ्गल, शान्तिनगरसहित क्षेत्रमा पार्क निर्माण गरिने छ । निर्माण प्रक्रिया लामो हुन सक्छ । बजेटका सन्दर्भमा पनि छलफल अघि बढाइने छ । समग्रमा बागमती नदी किनारमा वृक्षरोपण गरी हरियाली बनाउने, पार्क निर्माण र पानी प्रशोधन कार्य अघि बढाइने छ ।”

काठमाडौँ उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त सुनिता श्रेष्ठले बागमती नदी किनारसहित खाली गरिएका क्षेत्रमा कस्तो संरचना बनाउने भन्ने सन्दर्भमा अध्ययन र कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँका अनुसार अध्ययन र कार्ययोजना बनेपछि व्यवस्थापन कार्य अघि बढ्ने छ । उहाँले भन्नुभयो, “अतिक्रमित क्षेत्रबाट बसोबासीलाई सारिएको छ । अब त्यहाँको जग्गा संरक्षण र व्यवस्थित गर्ने काम अघि बढ्छ ।”

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपनिर्देशक नेपालले अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका क्षेत्रबाट होल्डिङ सेन्टरमा सारिएका नागरिकलाई सात वटा होल्डिङ सेन्टरमा राखिएको बताउनुभयो । एक हजारभन्दा बढी नागरिकलाई होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको बताउँदै उहाँले भन्नुभयो, “सरकारले तत्कालको व्यवस्थापनका लागि भाडा र व्यवस्थापन खर्च प्रदान गरेको छ । दीर्घकालीन व्यवस्थापनका लागि पनि आवश्यक निर्णय अवश्य हुन्छ नै ।”

सरकारले कालमोचन, कपन, बल्खु, स्वयम्भू, शान्तिनगर, देवीनगर, अनामनगर, बालकुमारी, कालीमाटी, सामाखुसी, कीर्तिपुर, साततले कपन, बानेश्वर, गैह्रीगाउँ, थापाथली, सुन्दरीघाट, गोङ्गबु, सुकेधारा, वंशीघाट, काँडाघारी, बुढानीलकण्ठ, मनोहरा क्षेत्रमा बागमती नदी र अन्य खोला किनारमा जोखिमपूर्ण रूपमा बसेका नागरिकलाई स्थानान्तरण गरी त्यहाँ निर्माण गरिएका घरटहरा हटाएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार
रास्वपा सांसदकै घेराबन्दीमा सरकार
२०८३ श्रावण २३, शनिबार
आफ्नै सांसदको आलोचनाप्रति बालेन असन्तुष्ट, ‘एक्लै लड्नुपर्ने अवस्था आयो’
२०८३ श्रावण २३, शनिबार
काँग्रेस इतरको राष्ट्रिय भेलाको तयारी गर्न ३२ समिति गठन
२०८३ श्रावण २३, शनिबार