काठमाडौं : शुक्रबार साँझ प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा लेखे, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् ।’
यसको पृष्ठभूमिमा थियो प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले सरकारका कामकारबाहीमाथि उठाएको प्रश्न । रास्वपाका सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभावदेखि सरकारको कार्यसम्पादनसम्मका विषयमा प्रश्न गरेका थिए ।
सत्तारूढ दलका सांसदले सरकारलाई खबरदारी गर्नु अस्वाभाविक थिएन । बरु संसदमा प्रश्न उठ्नु लोकतान्त्रिक व्यवस्थाको सामान्य अभ्यास हो भनेर प्रधानमन्त्रीले संवादको आह्वान गर्न सक्दथे ।
तर फेसबुकमा लेखे, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’
सत्तारुढ दलले गरेको प्रश्नलाई आफ्नो घेराबन्दीको रूपमा लिएर उनले एक्लै लड्नुपर्छ भनेपछि यो विषय बहसमा आयो । बहस प्रत्यक्ष भेटेर होइन । सामाजिक सञ्जालमा चलिरहेको छ । त्यो पनि सत्तारुढ दलकै नेताहरू संवाद छाडेर सञ्जालमा दोहोरी खेलिरहेका छन् ।
रास्वपाका नेता मनीष झाले प्रधानमन्त्री बालेनलाई फेसबुकबाटै सरकारमा कोही एक्लै नभएको जवाफ दिए ।
‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौं,’ उनले फेसबुकमै लेखेका छन्, ‘हिजो सदनमा भनेको झैं, नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।’
उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको पनि प्रधानमन्त्री बालेनलाई स्मरण गराएका छन् ।
अर्थात्, सरकारमा समस्या आउनु अस्वाभाविक होइन । सरकारमाथि प्रश्न उठ्नु पनि अस्वाभाविक होइन । तर प्रश्न उठेपछि त्यसको जवाफ कहाँ खोजिन्छ भन्ने कुराले शासनशैलीको चरित्र देखाउँछ ।
रास्वपा नेतृत्वको सरकार अहिले यही प्रश्नको घेरामा छ । समस्या समाधानका लागि प्रत्यक्ष भेटेर संवाद गर्नुको साटो रास्वपाभित्रको असन्तुष्टि, प्रधानमन्त्रीको प्रतिक्रिया र पार्टीका नेताहरूको प्रतिवाद सामाजिक सञ्जालबाट सार्वजनिक हुन थालेका हुन् ।
प्रधानमन्त्रीले नै राजनीतिक प्रतिक्रिया संसद्, संसदीय दल वा पार्टीको बैठकमा नभएर फेसबुक स्टाटसबाट आफ्ना कुरा राखेपछि रास्वपाका नेताहरूले तर त्यसको जवाफ पनि सामाजिक सञ्जालबाटै दिएका हुन् ।
यसक्रमममा सार्वजनिक कार्यक्रममा समेत यो विषय उठ्न थालेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले भैरहवामा पुगेर अझ फराकिलो सन्देश दिन खोजेका छन् । उनले देश एक्लैले नबन्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन । देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
अर्थात्, सरकारको कार्यशैली र जनताले भोगिरहेका सास्तीको विषय बारेको बहस सरकारभित्र सीमित नरहेर सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा व्यक्त हुन थालेको हो ।
ग्यास अभावको विषयमा उठेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले अन्य उद्योगको उपलब्धि देखाएका छन् ।
बजारमा एलपी ग्यासको अभावको प्रश्न उठिरहेको छ । उपभोक्ताले ग्यास पाउन कठिनाइ व्यहोर्नुपरेको विषय संसद्मा पनि उठेको छ । तर प्रधानमन्त्री शाहले त्यसको प्रत्यक्ष जवाफ दिनुको सट्टा सरकार गठनपछि सुधारको दिशामा अघि बढेका सरकारी उद्योग तथा संस्थानको फेहरिस्त सार्वजनिक गरेका हुन् ।
उनका अनुसार नेपाल औषधि लिमिटेड नाफामा गएको छ । हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको ट । नेपाल वायुसेवा निगमको आम्दानी बढेको छ । डीडीसीको किसान बक्यौता घटेको र सिंहदरबार वैद्यखानाको कारोबार बढेको विवरण प्रधानमन्त्री बालेनले सार्वजनिक गरेका छन् ।
सरकारले गरेका कामको जानकारी दिनु आफैंमा गलत होइन । सरकारका उपलब्धि जनतासम्म पुग्नैपर्छ । तर ग्यास अभाव भएको भनेर उठेको प्रश्नमा यसैसँग सम्बन्धित जवाफ आउँदा जनताले राहत पाउन सक्छन् ।
जनताले तत्काल भोगिरहेको समस्याको जवाफमा दीर्घकालीन सुधारका उपलब्धि सुनाउँदा सरकारको राजनीतिक सन्देश पनि जान्छ । यसो नगरी प्रधानमन्त्रीले नै सामाजिक सञ्जालबाट अन्य विषय राख्दै आफू एक्लै रहेको भन्ने सन्देश दिएपछि सामाजिक सञ्जालमा दोहोरी चलेको हो ।
तर, रास्वपा सभापति रवि लामिछानेले विवाद आउनु सामान्य भएको बताउँछन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन्, ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्याउँछौं । हामी छौं ।’
अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप पार्टीसँग रहेको भन्दै उनले भनेका छन्, ‘यात्रामा हिंडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने हुँदैन ।’
सही ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्याउन उनको प्रतिबद्धता छ ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया