जेठ २०, २०८३ बुधबार June 3, 2026

साइबर अपराध बढ्दो ठगी

अपरिचित व्यक्तिबाट आएका ‘कल म्यासेज’ कुनै पनि रूपमा ‘रिसिभ’ नगर्न सुझाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २० गते । गत हप्ता काठमाडौँको एक सरकारी विद्यालयका शिक्षक आफ्नै प्राचार्यको मोबाइलबाट आएको एक सन्देशबाट ठगिनुभयो । माथिल्लो तलामा रहनुभएका प्राचार्यको मोबाइलबाट भुइँतलामा रहनुभएका शिक्षकलाई ‘म मिटिङमा छु, जरुरी काम प¥यो, २५ हजार रुपियाँ पठाइदिनुहोस्’ भन्ने म्यासेज आयो । कक्षा कोठाबाट बाहिरिँदै शिक्षकले प्राचार्यलाई रकम पठाउँदा ह्वाटस् एप ह्याक भई रकम ठगी भइसकेको थियो ।

अपरिचित डा. भचन खानसँग सामाजिक सञ्जालमा साथी बनेकी एक महिलाले गत महिना आधा केजी सुन उपहार पाउने लोभमा २२ लाख रुपियाँ गुमाउनुभयो । पाकिस्तानी मूलका बताउने ती डा. खान उपहार बोकेर काठमाडौँको त्रिभुवन विमानस्थल आइपुगेका, सुनको भन्सार तिर्नुपर्ने भनी नेपाली महिलासँग रकम माग गरेपछि महिलाले आफूसँग भएको सबै रकम बुझाउनुभयो । प्रहरीका अनुसार डा. खान नामक आइडीबाट ठगिनेमा युवतीदेखि ५० वर्ष काटेका धेरै नेपाली महिला छन् ।

बर्सौंसम्म वैदेशिक रोजगारी गरी राम्रो आर्थिक हैसियत बनाएर नेपाल फर्किनुभएका एक वृद्ध पुरुष अपरिचित व्यक्तिबाट अपुताली पाउने लोभमा यतिबेला घरबारविहीन अवस्थामा पुग्नुभएको छ । छ जना छोरासमेत बिचल्ली पर्ने गरी ती वृद्धले पटक पटक गरी ती अपरिचित व्यक्तिलाई झन्डै तीन करोड बुझाएर ठगिँदा न त वित्तीय संस्थाले शङ्कास्पद कारोबारको जानकारी दियो, न त उहाँले परिवारलाई नै यसबारे सुइँको दिनुभयो । खाडी मुलुकमा मृत्यु भएका एक व्यक्तिको सम्पत्ति (अपुताली) दिलाइदिने भन्दै ह्याकरले उक्त रकम ठगी ग¥यो । यी केही प्रतिनिधि घटना हुन् ।

सामाजिक सञ्जाल, बैङ्क तथा वित्तीय संस्था, अनलाइन कारोबार, चिट्ठा, पार्सल, उपहार, वैदेशिक रोजगारीको प्रलोभन, अपुताली, भिडियो सेयरिङ, अनलाइन जागिर, क्रिप्टो, भर्चुअल सम्पत्ति, अनलाइन टिकटकलगायत कोठा खोजिदिने जस्ता अति सामान्य र अपत्यारिलो प्रलोभनमा पारी ठगी गर्ने क्रम बढ्दो छ ।

नेपाल प्रहरी साइबर ब्युरोमा दैनिक १०० भन्दा बढी यस्ता ठगीका उजुरी दर्ता हुने गरेका छन् । देशभरको तथ्याङ्क हेर्ने हो भने यसको आँकडा निकै ठुलो रहेको प्रहरीको भनाइ छ । साइबर ब्युरोकै तथ्याङ्कमा पनि पछिल्लो तीन वर्ष यस्ता घटना गुणात्मक रूपमा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ब्युरोमा चार हजार १५४ वटा विभिन्न ठगीका उजुरी दर्ता भएका थिए । आव २०८१÷८२ मा झन्डै दोब्बर सात हजार ७४० वटा उजुरी दर्ता भए भने चालु आव २०८२/८३ को नौ महिना चैतसम्म पाँच हजार ७३६ वटा उजुरी पीडितले ब्युरोमा दर्ता गराएका  छन् ।

साइबर ब्युरोका प्रवक्ता दिलिपकुमार गिरीले डिजिटल माध्यमको दुरुपयोगमार्फत साइबर अपराधका घटनाहरू वृद्धि भइरहेकोे बताउनुभयो । आपराधिक घटनाहरू साइबर अपराधसँग जोडिने गरेको बताउँदै उहाँले भन्नुभयो, “आफूले भर्दै नभरेको चिट्ठाको प्रलोभनमा परी रकम पठाउने, अपरिचित नम्बरबाट आएका म्यासेजमै विश्वास गरी आफ्ना गोप्य विवरण सार्वजनिक गर्ने, अप्रत्याशित सस्तो र सहज उपलब्धता देख्नेबित्तिकै अनलाइनमार्फत किनमेल र कारोबार गर्दा ठगिनेहरू बढी छन् ।”

निकै चलाखी तथा होसियारीपूर्वक ठगी भइरहेकाले यसबाट बच्न असम्बन्धित लिङ्कहरू नखोल्न, गोप्य विवरण नदिन तथा इमेललगायत विभिन्न महìवपूर्ण अकाउन्टको पासवर्डहरू बलियो र दोहोरो जाँचबाट खुल्ने गराउन, अपरिचित व्यक्तिबाट आएका ‘कल म्यासेज’ कुनै पनि रूपमा ‘रिसिभ’ नगर्न उहाँले सुझाव दिनुभयो ।

ठगिएको रकम सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको बैङ्क खातामार्फत ह्याकरले सजिलै रकम दोस्रो मुलुक पु¥याउने गरेका कारण अनुसन्धान पनि जटिल बनेको बताउँदै साइबर ब्युरोले बिनापरिश्रमको लोभमा नपर्न पनि सबैमा अनुरोध गरेको छ ।

साइबर ठगी बढेसँगै ब्युरोले अनुसन्धान र कारबाहीको दायरा थप फराकिलो बनाउँदै विभिन्न माध्यमबाट बृहत् सचेतना अभियान सुरु गरेको छ । ब्युरोले पछिल्लो तीन वर्षमा करिब साढे चार हजार जना पीडितका समस्याको सम्बोधन गरेको जनाएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ठगीसँगै सामाजिक सद्भाव बिगार्ने, हिंसा भड्काउने, अश्लीलता फैलाउने तथा समाजमा भ्रम सिर्जना गर्ने खालका सामग्री डिजिटल माध्यममा प्रसारण गर्ने क्रम बढ्दो रहेकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

सरकारका उच्चपदस्थ अधिकारी, निजामती कर्मचारी, विभिन्न पेसा व्यवसाय तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका सामाजिक सञ्जाल ह्याक गरी ठग्ने र हुबहु एपमार्फत ठगी गर्ने क्रम बढ्दो रहेको पाइएको छ । प्रहरीकै नम्बर जस्ता फोनमार्फत डर, त्रास र प्रलोभन देखाई ठगी गर्ने कामसमेत भइरहेको बताउँदै ब्युरोले साइबर अपराधसम्बन्धी कुनै सूचना, शङ्का वा उजुरी भए तत्काल प्रहरी वा साइबर ब्युरोलाई जानकारी गराउन अनुरोध गरेको छ ।  आजको गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया