काठमाडौँ, असोज ३० गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै चार खर्ब ३६ अर्ब ३६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको आव २०८३/८४ को दुई महिना (२०८३ भदौसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । भदौमा मात्रै दुई खर्ब २१ अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ६९ अर्ब ४४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन खर्ब ८४ अर्ब ८८ करोड रुपियाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।
राष्ट्र बैङ्कका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपियाँ रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २६ अर्ब ४८ करोड रुपियाँ पुगेको छ । यस्तो सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
यस्तै चालु खाता एक खर्ब ६९ अर्ब चार करोड र शोधनान्तर एक खर्ब ८७ अर्ब ६८ करोड रुपियाँ बचतमा छ । निर्यात ६१.९ प्रतिशतले र आयात ३१.६ प्रतिशतले बढेको छ ।
नेपाल सरकारको खर्च एक खर्ब ९९ अर्ब ८४ करोड र राजस्व परिचालन एक खर्ब ८३ अर्ब २१ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूबिचको भारित औसत अन्तरबैङ्क दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.३५ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत रहेको छ ।
बढ्यो महँगी
प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । साउनमा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आवको भदौमा उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत मात्र थियो ।
चालु आवको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत छ । गत आवको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो । त्यस्तै गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया