असोज २७, २०८३ मंगलबार October 13, 2026

कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व

५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई नौ वर्षअघि मात्र कांग्रेस प्रवेश गरेका विनोद चौधरीले हराइदिएपछी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व देखिएको छ । महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको निर्वाचन परिणामसँगै गगन थापा नेतृत्वको कांग्रेसमा विशेष महाधिवेशनबाट जिम्मेवारी पाएका अधिकांश नेताहरूले नियमित महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता पाएका छन् । उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, विनोदकुमार चौधरी तथा महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौलाको जितले पार्टीको विशेष महाधिवेशनबाट सुरु भएको नेतृत्व परिवर्तनको प्रक्रिया नियमित महाधिवेशनबाट अनुमोदन भएको सन्देश दिएको छ । यसअघि सभापतिमा गगन थापा मतदानबाट निर्वाचित हुँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित हुनुभएको हो । महामन्त्रीको दुई खुला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार उपसभापतिमा निर्वाचित भण्डारीले तीन हजार ७३५, आचार्यले दुई हजार ३४२ र चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभयो ।

महामन्त्रीमा निर्वाचित पौडेलले चार हजार १९४, राणाले दुई हजार ३३० र संग्रौलाले तीन हजार ११८ मत पाउनुभयो । आचार्यले तेस्रो स्थानमा रहनुभएका गोविन्द भट्टराईभन्दा ५९० मत बढी पाउनुभयो । भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत पाउनुभयो । समावेशी उपसभापतिमा चौधरीले निकटतम् प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गर्नुभयो । परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभयो ।

विशेष महाधिवेशनबाट महामन्त्री बन्नुभएका पौडेल नियमित महाधिवेशनबाट पनि सोही पदमा निर्वाचित हुनुभएको छ । उहाँले खुला प्रतिस्पर्धामा चार हजार १९४ मत प्राप्त गर्नुभयो । महामन्त्रीको खुला प्रतिस्पर्धामा राणासँग निकटतम् प्रतिस्पर्धी रहनुभएका सुनिल शर्माले दुई हजार २५७ मत प्राप्त गर्नुभयो । राणाले दुई हजार ३३० मत प्राप्त गर्नुभयो ।

विशेष महाधिवशनबाट महामन्त्री बन्नुभएका गुरुराज घिमिरेले एक हजार ५१३, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले एक हजार १३४, १४औँ महाधिवेशनबाट लुम्बिनी प्रदेशको सभापतिमा निर्वाचित अमरसिंह पुनले एक हजार १२५ पाउनुभयो । शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत पाउनुभयो । महिला महामन्त्रीमा संग्रौलाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई २५४ मतले पराजित गर्नुभयो । संग्रौलाले तीन हजार ११८ मत प्राप्त गर्दा उपाध्यायले दुई हजार ८६४ मत पाउनुभयो । अर्का उम्मेदवार रीता खनालले ८०४ मत प्राप्त गर्नुभयो ।

यस्तो छ निर्वाचित पदाधिकारीहरूको पृष्ठभूमि

महामन्त्रीमा निर्वाचित पौडेल १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा पौडेल पराजित हुनुभयो । त्यसपछि पार्टीभित्रको नेतृत्व परिवर्तनको प्रक्रियामा थापा नेतृत्वसँग नजिकिनुभएका पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बन्नुभएको थियो । राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बन्नुभएको थियो । यसअघि देउवानिकट नेताका रूपमा चिनिने राणा विशेष महाधिवेशनको प्रक्रियामा थापा नेतृत्वसँग जोडिनुभएको थियो । नियमित महाधिवेशनमा महामन्त्री पदमा उहाँ पदोन्नति हुनुभएको हो । विशेष महाधिवेशनबाट सहमहामन्त्री बन्नुभएकी संग्रौला यसअघि देउवानिकट भए पनि पार्टीको विशेष महाधिवेशनमा नै थापा नेतृत्वसँग नजिकिनुभएको थियो । १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित उपाध्यायलाई पराजित गर्दै संग्रौलाले कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीको नाम लेखाउनुभएको छ ।

उपाध्याय महाधिवेशनको मुखमा पूर्वसभापति शेरबहादुर देउवा पक्ष छाडेर पार्टीको मूलधारमा आउनुभएको थियो । उपसभापतिमा निर्वाचित भण्डारी नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । नेविसंघका पूर्व-उपाध्यक्षसमेत रहनुभएका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य रहँदै आउनुभएको थियो । २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा उपसभापतिमा प्रतिस्पर्धा गरे पनि पराजित हुनुभएको थियो ।

आचार्य पनि पार्टी संगठनमा लामो समयदेखि सक्रिय नेता हुनुहुन्छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनको हस्ताक्षर अभियानको अगुवाइ गर्नुभएका आचार्य विशेष महाधिवेशनमा पदाधिकारीका आकांक्षी भए पनि सफल हुनुभएको थिएन । समावेशी उपसभापतिमा निर्वाचित चौधरी चर्चित उद्योगी तथा व्यवसायी हुनुहुन्छ । चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशनमा वडा तहबाटै निर्वाचित हुँदै केन्द्रीय सदस्य बन्नुभएका चौधरी यसपटक उपसभापति निर्वाचित हुनुभएको छ ।

समावेशी उपसभापतिमा पराजित जीवन परियार र फरमुल्लाह मन्सुर १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित हुनुभएको थियो । १४औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङ, नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई र कांग्रेसका पुराना नेता दीपक गिरी पनि उपसभापतिका उम्मेदवार थिए ।

विश्वासको शिर कहिल्यै झुक्ने छैन : चन्द्र भण्डारी

उपसभापतिमा निर्वाचित भएपछि चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएका भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन । सधैँ ‘म होइन, हामी र हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु ।’

पार्टी बाहिरका जेन-जी पुस्तालाई कांग्रेसमा जोड्छौँ : मधु आचार्य

१५औँ महाधिवेशनबाट उपसभापति पदमा विजयी मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेन–जी पुस्तालाई कांग्रेसमा जोड्न पहल गर्ने बताउनुभएको छ । महाधिवेशनबाट विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको उल्लेख गर्नुभयो । आफूहरूले अघि सारेका एजेण्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले थप जिम्मेवार बनाएको उहाँको भनाइ छ ।

कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछौँ : प्रदीप पौडेल

नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गर्नुभएको छ । आगामी राजनीतिक यात्रामा महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्दै पार्टी निर्माणमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले भन्नुभयो, ‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै संकल्पबद्ध हुनुपर्दछ ।’

अब स्थानीय निर्वाचनको तयारीमा जुटौँ : उदयशमशेर राणा

नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले अब सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई स्थानीय निर्वाचनको तयारीमा लैजाने बताउनुभएको छ । महाधिवेशनको परिणामलाई जित र हारका रूपमा लिन नहुने भन्दै उहाँले बढी मत पाउनेले बढी जिम्मेवारी पाएको रूपमा बुझ्नुपर्ने स्पष्ट पार्नुभयो । महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै राणाले महाधिवेशनमा प्रतिस्पर्धा भए पनि कसैको हार वा जित नभएको बताउनुभयो । उहाँले महाधिवेशन प्रक्रियामा सहभागी नहुनुभएका पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई समेत सहमतिमा लिएर अघि बढ्ने बताउनुभयो ।

डिला संग्रौला कांग्रेसको पहिलो महिला महामन्त्री

नेपाली कांग्रेसको इतिहासमा डिला संग्रौला पहिलो महिला महामन्त्री निर्वाचित हुनुभएको छ । १५औँ महाधिवेशनबाट संग्रौला महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार भएको निर्वाचनबाट संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको हो । महामन्त्री पदमा विजयी भएपछि संग्रौलाले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।

कांग्रेस बनेको नौ वर्षमै उपसभापति

नेपाली कांग्रेसमा ५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई नौ वर्षअघि मात्र कांग्रेस प्रवेश गरेका विनोद चौधरीले हराइदिनुभएको छ । २०६४ मा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद बन्नुभएका चौधरी ७४ मा कांग्रेस प्रवेश गर्नुभएको थियो । लगत्तै उनी मधेसी कोटामा समानुपातिक सांसद बन्नुभयो । २०७८ मा भएको १४औँ महाधिवेशनमा चौधरी थारू क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुनुभएको थियो । २०७९ मा कांग्रेसबाट टिकट लिएर नवलपरासी-१ बाट विजयी हुनुभयो । पञ्चायतकालमा राजपरिवारसँग निकट सम्बन्ध बनाउनुभएका चौधरी २०४६ पछि एमालेसँग नजिकिनुभएको थियो । उहाँलाई राजनीतिक उचाइ भने कांग्रेसबाट प्राप्त भएको छ । चौधरी विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोहोरिनुभएको थियो । चौधरीले पार्टी राजनीतिमा छलाङ मार्नुभएको छ । कांग्रेस विधानमा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय पदाधिकारी र सदस्यका लागि १० वर्षको समय सीमा तोकिएको छ । तर, चौधरीको वेगलाई १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र अहिले १५औँ मा उपसभापति बन्न उक्त समय सीमाले रोक्न सकेन ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटीको अग्रता कायमै
२०८३ असोज २७, मंगलबार
कर्णाली प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २७, मंगलबार
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
२०८३ असोज २७, मंगलबार
कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व
२०८३ असोज २७, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ असोज २७, मंगलबार
बीपी प्रतिष्ठान धरानमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालन, बिरामीलाई सहज सेवा
२०८३ असोज २६, सोमबार
नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा
२०८३ असोज २६, सोमबार