असोज २५, २०८३ आइतबार October 11, 2026

‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र’ तयार

अपाङ्गता भएका व्यक्तिले समेत सूचना सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २५ गते । सरकारले विपत् जोखिम न्यूनीकरण गर्न ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३-२०८७’ को मसौदा राय, सुझावका लागि सार्वजनिक गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मसौदामा पाँच वर्षभित्र नेपालमा बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिइएको छ । प्राधिकरणले असोज १६ गते सार्वजनिक गरेको सो मसौदामा सात दिनभित्र राय, सुझाव पठाउन आग्रह गरिएको छ ।

मार्गचित्रको सोच अनुसार २०८७ सम्ममा सबैभन्दा बढी सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायसहित सबै नागरिकले समयमै प्रभावकारी पूर्वसूचना प्राप्त गरी जनधन तथा जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । ‘सबैका लागि पूर्वसूचना’ संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मार्च २०२२ मा यो पहलको घोषणा गर्नुभयो । जस अनुसार सन् २०२७ को अन्त्यसम्म पृथ्वीका प्रत्येक व्यक्तिलाई जीवनरक्षाका लागि प्रभावकारी पूर्वसूचना प्रणालीको पहुँचमा ल्याउने छ ।

प्रकोप, सम्मुखता तथा जोखिममा रहेकाको अवस्था, वैज्ञानिक लेखाजोखा तथा नक्साङ्कन एवं सशक्त तथ्याङ्कशाला स्थापना र सञ्चालन, एकीकृत पूर्वसूचना सम्प्रेषण कार्यविधि लागु गरी समुदायमा प्रभावकारी रूपमा पूर्वसूचना पुर्‍याउनु, प्रकोपबाट जन, धन र जीविकोपार्जनको सुरक्षा गर्न विपत् प्रतिकार्य गर्ने निकायहरूको क्षमता अभिवृद्धि गरी पूर्वतयारी सुदृढ गर्ने मार्गचित्रको उद्देश्य छ ।

पूर्वसूचनाको वर्गीकरण 

मार्गचित्रले पूर्वसूचना प्रणालीलाई चार मुख्य क्षेत्र र एउटा साझा क्षेत्रमा विभाजन गरेको छ । चार वटै मुख्य क्षेत्र र एउटा साझा क्षेत्रको समग्र समन्वय, अन्तर्राष्ट्रिय नेतृत्व, राष्ट्रिय स्तम्भ नेतृत्व र राष्ट्रिय सहनेतृत्व गरी कार्यान्वयन गर्ने निकायको जिम्मेवारी बाँडफाँट गरिएको छ ।

पहिलो क्षेत्रमा विपत् जोखिमको ज्ञान, दोस्रोमा प्रकोपको पहिचान र अवस्था अवलोकन, निगरानी, विश्लेषण र पूर्वानुमान, तेस्रोमा सूचना सम्प्रेषण तथा सञ्चार र चौथोमा पूर्वतयारी र प्रतिकार्य क्षमता राखिएको छ । साझा क्षेत्रमा सुशासन, समन्वय, पैरवी, अनुगमन तथा मूल्याङ्कन र वित्तपोषण समेटिएको छ । मार्गचित्र कार्यान्वयनमा करिब ५७ अर्ब ९९ करोड ४९ लाख रुपियाँ खर्च हुने छ ।

बहुप्रकोप जोखिम प्रोफाइल 

पहिलो क्षेत्र अन्तर्गत राष्ट्रियदेखि स्थानीय तहसम्म गतिशील र नियमित रूपमा अद्यावधिक हुने बहुप्रकोप जोखिम प्रोफाइल तयार गर्ने प्रस्ताव छ । जोखिम, सङ्कटासन्नता र विद्यमान क्षमताको विस्तृत लेखाजोखा गरी स्थानीय तहले समेत प्रयोग गर्न सक्ने गरी जोखिम प्रोफाइल तयार गरिने  छ । यस प्रकारको प्रोफाइल वार्षिक रूपमा अद्यावधिक गरिने छ । यसमा जोखिमसम्बन्धी तथ्याङ्क सङ्कलन, नक्साङ्कन, बहुप्रकोप मोडेल विकास, भौगोलिक सूचना प्रणाली तथा उपग्रहबाट प्राप्त तस्बिरको प्रयोग, सुरक्षित मार्ग र आश्रयस्थलको नक्साङ्कनलगायत काम प्रस्ताव गरिएको छ । विपत् जोखिमसम्बन्धी तथ्याङ्क भण्डारणका लागि केन्द्रीय सूचना प्रणाली विकास गरिने छ । सो प्रणालीमा सम्बन्धित संस्थालाई पहुँच दिने व्यवस्था पनि प्रस्तावित छ । मार्गचित्र लागु भएको पाँच वर्षभित्र यी सबै काम पूरा हुने लक्ष्य राखिएका छन् ।

पूर्वानुमान प्रणालीमा ठुलो लगानी

पूर्वानुमान प्रणालीमा सबैभन्दा ठुलो बजेट खर्चिने प्रस्ताव गरिएको छ । यस अन्तर्गत प्रकोपको निगरानी, विश्लेषण, मोडलिङ तथा पूर्वानुमान प्रणालीलाई स्तरोन्नति गरिने छ ।

मसौदाले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङलगायत प्रविधिसहित राष्ट्रिय बहुप्रकोप पूर्वानुमान केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको छ । सातै प्रदेशमा स्थानीय मौसम व्याख्या कक्षलाई संस्थागत गर्ने, विश्वव्यापी मौसम मोडललाई नेपालको स्थानीय तथ्याङ्कका आधारमा ‘डाउनस्केलिङ’ गर्ने र मनसुनअघि तथा मनसुनपछि वर्षमा दुई पटक मोडल प्रमाणीकरण गर्ने प्रस्ताव छ ।

मसौदामा विमानस्थल, जलविद्युत् आयोजना र विद्यालयलगायत संरचनाका लागि पूर्वानुमान मापदण्ड विकास गर्ने तथा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पहिचान गरेका ४१ प्रकारका प्रकोपका लागि पूर्वानुमानसम्बन्धी भूमिका र जिम्मेवारी स्पष्ट गर्ने प्रस्तावसमेत छ ।

मोबाइलमा सिधै पूर्वसूचना

सूचना सम्प्रेषण प्रणालीलाई कानुनी र प्राविधिक रूपमा बलियो बनाइने छ । मार्गचित्रको मसौदामा मोबाइल फोन प्रसारण प्रणाली लागु गर्न आवश्यक नीति तथा कानुनको समीक्षा गर्ने, प्राविधिक विशिष्टता तयार गर्ने तथा दूरसञ्चार सेवा प्रदायकको तयारी मूल्याङ्कन गर्ने उल्लेख छ । त्यसै गरी राष्ट्रिय आपत्कालीन दूरसञ्चार योजना स्वीकृत गरी कार्यान्वयन गर्ने, आपत्कालीन दूरसञ्चारका लागि सञ्चालन कार्यविधि तथा मापदण्ड बनाउने र विभिन्न प्रकोपका लागि पूर्वसूचना जारी गर्ने आधिकारिक निकाय तथा अधिकारीको भूमिका स्पष्ट गर्ने प्रस्ताव छ ।पूर्वसूचना तयार गर्ने निकायसँगै टेलिभिजन, रेडियो र मोबाइल अपरेटरलाई समेत एकीकृत पूर्वसूचना कार्यविधि अनुसार काम गर्न प्रशिक्षण दिने प्रस्ताव छ ।

पूर्वतयारी र प्रतिकार्य क्षमता

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई स्थानीय तहसम्म लैजाने प्रस्ताव गरिएको छ । उदाहरणका रूपमा बाढी र अत्यधिक गर्मीलगायत विशिष्ट प्रकोपका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधि कम्तीमा २० प्रतिशत पालिकामा स्थानीयकरण गर्ने लक्ष्य राखिएको छ । यस अन्तर्गत पूर्वानुमानका आधारमा जोखिम घटाउन पूर्वकार्य सुरु गर्ने ‘ट्रिगर प्वाइन्ट’ निर्धारण गर्ने, विपत्पछि सिकाइका आधारमा प्रणाली सुधार गर्ने तथा लैङ्गिक, अपाङ्गता र सामाजिक समावेशीकरणलाई पूर्वसूचना प्रणालीमा जोड्ने प्रस्ताव छ ।

स्थानीय तह प्राथमिकतामा 

मसौदाले प्रदेश र स्थानीय तहमा विपत् तथा जलवायु उत्थानशील योजनाबिच तालमेल बढाउने प्रस्ताव गरेको छ । कम्तीमा ५० प्रतिशत पालिकामा स्थानीय विपत् तथा जलवायु उत्थानशील कार्यढाँचामा आधारित योजना तयार गर्ने लक्ष्य राखिएको छ । जोखिम–सूचित भू–उपयोग योजनासमेत कम्तीमा २० प्रतिशत पालिकामा तयार गर्ने प्रस्ताव छ ।

सबै समूहलाई पहुँच

मार्गचित्रले पूर्वसूचनाको पहुँचमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल व्यक्ति, महिला, सीमान्तकृत समुदाय, पर्यटक तथा जोखिम क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने कामदारलाई समेत समेटेको छ । यसले पूर्वसूचना प्रणालीलाई केवल प्रविधिमा आधारित नभई समावेशी र पहुँचयोग्य बनाउन खोजेको देखिन्छ । वेबसाइट तथा सञ्चारमाध्यमलाई अन्तर्राष्ट्रिय पहुँचयोग्यता मापदण्ड अनुसार सुधार गर्ने र अपाङ्गता भएका व्यक्तिले समेत सूचना सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्राधिकरणले मार्गचित्र कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोतको रूपमा वार्षिक बजेट, सम्बन्धित कोषको परिचालन, निजीक्षेत्रको लगानी र अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्ने जनाएको छ ।

पूर्वसूचना प्रणालीका स्तम्भको नेतृत्व गृह मन्त्रालयले गर्ने छ । सहनेतृत्व सम्मिलित एक पूर्वसूचना अनुगमन समिति हुने छ । समितिमा प्राधिकरणसँगै मौसम विज्ञान विभाग, जलस्रोत अनुसन्धान केन्द्र, सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधि रहने छन् । अन्तर्राष्ट्रिय साझेदार संस्थाको समेत प्रतिनिधित्व रहने अनुगमन समितिले योजना कार्यान्वयन प्रगतिको निरीक्षण, अनुगमन, रणनीतिक मार्गदर्शनलाई सहज बनाउने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार