असोज २५, २०८३ आइतबार October 11, 2026

ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि

स्थायी कमिटीका सदस्यहरूले पहिले आफूहरूलाई धारणा राख्न समय दिनुपर्ने माग गरेपछि प्रक्रिया अघि बढ्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । वरिष्ठ नेता विद्यादेवी भण्डारीसहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटीका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँट गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्योलमा परेको हो । बिहीबारदेखि तीन दिनसम्म चलेको पार्टी स्थायी कमिटीको पहिलो बैठकले राष्ट्रिय भेला आयोजना गर्ने, वडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ । तर, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ ।

केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटीमा सदस्य थप, पोलिटब्युरो, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभागीय जिम्मेवारीका लागि अध्यक्ष ओलीले तयार पारेको सूची बैठकमा प्रस्तुत गर्न खोजेपछि असन्तुष्टि थप चर्किएको नेताहरूको भनाइ छ । नेताहरूले व्यक्तिको नाममा प्रवेश गर्नुअघि चयनका स्पष्ट मापदण्ड तय गर्नुपर्ने अडान राखेका थिए ।

ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति

स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूको नामावली पढेर सुनाउने तयारी गर्नुभएको थियो । तर, स्थायी कमिटीका सदस्यहरूले पहिले आफूहरूलाई धारणा राख्न समय दिनुपर्ने माग गरेपछि नामावली प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्न नसेकेको हो । बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रघु पन्त, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की र राजन भट्टराई तथा स्थायी कमिटी सदस्य ईश्वर पोखरेल लगायतले आफ्ना धारणा राखेका थिए । बैठकमा बोल्ने नेताहरूले स्थायी कमिटी र पोलिटब्युरोमा कसलाई राख्ने भन्ने निर्णय गर्नुअघि निश्चित मापदण्ड बनाउनुपर्नेमा जोड दिएका थिए । पहिले नै व्यक्तिको नाम प्रस्ताव गरेर कसलाई राख्ने वा नराख्ने भन्ने बहस गर्दा पार्टीभित्र अनावश्यक विवाद उत्पन्न हुनसक्ने उनीहरूको भनाइ थियो । नेताहरूले पार्टी एकलौटी ढंगले सञ्चालन गर्न नहुने र नेतृत्वले फरक मतलाई पनि सम्मान गर्नुपर्ने बताएका थिए ।

विचार र मापदण्डले चल्नुपर्नेमा विद्या भण्डारीको जोड

एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी सञ्चालन गर्दा संख्याको बलमा मात्र निर्णय गर्न नहुने धारणा राख्नुभएको थियो । पार्टीलाई प्राविधिक रूपमा मात्र नभई विचार, विधि र निश्चित मापदण्डका आधारमा सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो । स्थायी कमिटी र पोलिटब्युरोमा जिम्मेवारी बाँडफाँट गर्दा नेतृत्वको व्यक्तिगत छनोटभन्दा संस्थागत प्रक्रिया महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । पार्टीभित्र वरिष्ठता, योगदान, संगठनात्मक क्षमता, भूगोल र समुदायको प्रतिनिधित्व तथा नयाँ पुस्ताको सहभागितालाई कसरी समेट्ने भन्ने विषयमा साझा धारणा बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

४० वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव

स्थायी कमिटी बैठकमा अनुपस्थित एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई पार्टी एकतालाई खण्डित गर्ने निर्णय नगर्न आग्रह गर्नुभएको छ । भट्टराईले केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्दा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ । साथै विगतमा छुटेका भूगोल तथा समुदायलाई समेटेर मनोनयन गर्नुपर्ने उहाँको जोड छ । स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउनुपर्ने तथा जिम्मेवारी बाँडफाँटमा स्पष्ट मापदण्ड बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार, एमालेको केन्द्रीय कमिटीको असोजको पहिलो साता सम्पन्न बैठकमा पनि पार्टी रूपान्तरण, युवा सहभागिता र संगठनात्मक सन्तुलनका विषयमा पर्याप्त छलफल भएको थियो । तर, अहिलेको मनोनयन प्रक्रियामा ती सुझावअनुसार निर्णय हुन नसकेको उहाँको असन्तुष्टि छ । भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनिरहेको अवस्थामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनलगायत चुनौती सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुने उल्लेख गर्नुभएको छ । ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनुसरह हुनेछ’, भट्टराईले भन्नुभएको छ ।

केन्द्रीय कमिटीमा १३ जना मनोनीत

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा नयाँ सदस्य मनोनयन गर्ने निर्णय पनि गरेको छ । एमाले महासचिव शंकर पोखरेलले शनिबार बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको जानकारी दिनुभयो । मनोनीत सदस्यहरूमा सिर्जना राई (भोजपुर) सावित्रा अर्याल (रुपन्देही) इन्दु कडरिया विष्ट (कञ्चनपुर) सीता पंगेनी (नवलपुर) सीता अधिकारी (पाल्पा) डा. पुष्पा केसी भण्डारी (कास्की) धर्मनाथप्रसाद साह (सिराहा) तेजमान कन्दङवा (तेह्रथुम) टंक आङ्वोहाङ (ताप्लेजुङ) नवीन रोक्का (रोल्पा) मीनप्रसाद गुरुङ (स्याङ्जा) डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहनुभएको छ ।

रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय

स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ । त्यसरी तोकिएका अध्यक्षलाई संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउन पठाउनुपर्ने निर्णय भएको छ ।

बैठकले पार्टीका तल्ला कमिटीलाई सक्रिय बनाउने उद्देश्यले वडा तथा स्थानीय तहका अधिवेशनको मिति पनि तय गरेको छ । बैठका निर्णयअनुसार वडा तहका कमिटीहरूको अधिवेशन आगामी मंसिर २६ गते सम्पन्न गरिनेछ । नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुस ४ गते सम्पन्न गरिनेछ । वडा तथा पालिका अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिनेछ ।

मंसिर पहिलो साता राष्ट्रिय भेला

एमालेले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन् । राष्ट्रिय भेलालाई संगठनात्मक अवस्था, राजनीतिक परिस्थिति र पार्टीका आगामी कार्यदिशाबारे छलफल गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी छ । स्थायी कमिटी बैठकले मधेश प्रदेशसभामा एमालेकी सभासद् जैनब खातुनको निधनपछि रिक्त रहेको समानुपातिक स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि गरेको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार