असोज २४, २०८३ शनिबार October 10, 2026

संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास

३० वर्ष सेवा अवधि पूरा गरेको कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावविरुद्ध प्रभावित कर्मचारीहरू कानुनी प्रतिवादको तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २४ गते । संघीय निजामती सेवा विधेयक, २०८३ मा प्रस्तावित एक पटकको ३०—५५ अवकाश व्यवस्थाले कर्मचारी वृत्तमा हलचल ल्याएको छ । कर्मचारीको सेवा सर्त, समानताको हक र सार्वजनिक प्रशासनमा अनुभवी जनशक्तिको उपलब्धताबारे पनि प्रश्न उठाएको छ ।

नयाँ ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पूरा गरेको वा ३० वर्ष सेवा अवधि पूरा गरेको कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावविरुद्ध प्रभावित कर्मचारीहरू कानुनी प्रतिवादको तयारीमा जुटेका छन् ।

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भइसकेको छ । विधेयकमा नयाँ ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अवकाश दिने भन्ने विषय राखिएको छ । त्यसपछि नियमित अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव छ ।

हाल प्रचलित निजामती सेवा ऐन, २०४९ अनुसार सामान्यतः ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश हुने व्यवस्था छ । संवैधानिक कानुनका विज्ञ डा. चन्द्रकान्त ज्ञवालीका अनुसार कर्मचारी नियुक्त हुँदा कायम रहेको कानुनी व्यवस्थाअनुसार निश्चित उमेरसम्म सेवामा रहन पाउने व्यवस्था छ । पछि कानुन परिवर्तन गरेर त्यस्तो सेवा अवधि घटाउँदा कर्मचारीको वैध अपेक्षा, सेवा–सर्त र संवैधानिक हकसँग सम्बन्धित प्रश्न उठ्न सक्ने बताउनुभयो ।

प्रशासनविद् काशीराज दाहालका अनुसार विधेयकमा एकातिर नियमित अवकाशको उमेर ६० वर्ष प्रस्ताव गर्ने र अर्कातिर ऐन प्रारम्भ हुँदाका बखत ५५ वर्ष पुगेको वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकै पटक अवकाश दिने व्यवस्थाले समानताको सिद्धान्तमा प्रश्न उठाएको छ ।

“कि सबैलाई एउटै उमेरमा अवकाश दिने व्यवस्था गर्नुपर्छ, कि एउटै सिद्धान्तका आधारमा सेवा अवधि निर्धारण गर्नुपर्छ” उहाँले भन्नुभयो ।

राष्ट्रिय किताबखाना (निजामती) का सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले उपलब्ध गराउनुभएको विवरणअनुसार २०८३ साउन १ देखि असोज २३ गतेसम्म तीनसय ८३ जना निजामती कर्मचारीले राजीनामा दिएका छन् । यो विवरण राजीनामा दिने कर्मचारीको विवरण रहेको तर उनीहरूले कुन कारणले राजीनामा दिए भन्ने कुरा आफुलाई जानकारी नभएको बताउनुभयो ।

अवकाशमा दुईथरी मापदण्ड

प्रशासनविद् दाहालका अनुसार नयाँ ऐन प्रारम्भ हुँदा एक पटकका लागि ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाश दिने र त्यसपछि नियमित अवकाशको उमेर ६० वर्ष कायम गर्ने प्रस्तावले एउटै सेवाभित्र फरक मापदण्डको प्रश्न उठाएको बताउनुभयो ।

उहाँले लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐन आवश्यक भए पनि अवकाशसम्बन्धी व्यवस्थाको औचित्य स्पष्ट हुनुपर्ने बताउनुभयो । एउटै सेवामा कार्यरत कर्मचारीलाई फरक आधारमा अवकाश दिँदा त्यसको कारण र कानुनी आधार पुष्टि हुनुपर्ने उहाँको तर्क छ ।

विधेयकमा अवकाशमा जाने कर्मचारीको पेन्सन सुविधा नघट्ने गरी केही व्यवस्था गरिएको छ । लोकसेवा आयोगको परामर्शपछि विधेयकमा परिमार्जन गरिएको विवरणअनुसार ५५ वर्ष उमेरका कारण अवकाशमा जाने केही कर्मचारीको पेन्सन प्रयोजनका लागि ५८ वर्ष पुग्न बाँकी अवधि बढीमा तीन वर्षसम्म र ३० वर्ष सेवा अवधिका कारण अवकाशमा जानेका हकमा बढीमा सात वर्षसम्म सेवा अवधि जोड्ने प्रस्ताव गरिएको छ ।

तर, पेन्सन सुविधा सुरक्षित हुनु र कर्मचारीले नियमित रूपमा काम गरिरहन पाउने अवसर कायम रहनु फरक विषय हुन् । त्यसैले आर्थिक सुविधा सुनिश्चित गरिँदैमा सेवा सर्तमा पर्ने असरसम्बन्धी सबै प्रश्न समाधान हुन्छन् कि हुँदैनन् भन्ने विषयमा बहस आवश्यक देखिन्छ, दाहालले बताउनुभयो ।

निजामती सेवा ऐन, २०४९ को दफा ५८ मा कर्मचारी नियुक्त हुँदाका बखत लागू रहेका तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधासम्बन्धी सेवाका सर्तमा कर्मचारीको स्वीकृतिबिना प्रतिकूल असर पर्नेगरी परिवर्तन गर्न नहुने व्यवस्था छ ।

त्यस्तो प्रतिकूल परिवर्तन संशोधित व्यवस्था स्वीकार गरेको लिखित स्वीकृति नदिएका कर्मचारीको हकमा लागू नहुने प्रावधानसमेत उक्त दफामा उल्लेख छ ।

२०४९ को कानुनी नजिर

अहिलेको बहससँग सम्बन्धित विगतको एउटा महत्वपूर्ण कानुनी प्रसङ्ग २०४९ सालको निजामती सेवा नियमावलीको २९ औँ संशोधन हो ।

उक्त संशोधनले अनिवार्य अवकाशको उमेर ६० वर्षबाट घटाएर ५८ वर्ष बनाउनुका साथै ३० वर्ष सेवा अवधि पूरा भएपछि अवकाश दिने व्यवस्था ल्याएको थियो ।

नेपाल कानून पत्रिकामा प्रकाशित सर्वोच्च अदालतको फैसलाअनुसार उक्त संशोधनविरुद्ध परेको रिटमा निवेदकहरुले आफ्नो सहमतिबिना सेवाको हकहितमा असर पर्ने व्यवस्था गरिएको र संशोधन संविधानविपरीत भएको जिकिर गरेका थिए ।

सर्वोच्च अदालतको विशेष इजलासले तत्कालीन सरकारले निजामती प्रशासन सञ्चालनका लागि अवकाशको निश्चित अवधि तोक्न सक्ने र व्यवस्था सबै कर्मचारीमा समान रूपमा लागू भएको अवस्थामा समान संरक्षणको हक उल्लङ्घन भएको भन्न नमिल्ने ठहर गर्दै रिट खारेज गरेको थियो ।

यो नजिरले अवकाशसम्बन्धी व्यवस्था बनाउने राज्यको अधिकारलाई मान्यता दिएको देखिए पनि त्यसलाई अहिलेको विधेयकमा जस्ताको तस्तै लागू हुने निष्कर्ष निकाल्न नमिल्ने डा. ज्ञावलीले बताउनुभयो ।

डा. ज्ञावलीका अनुसार कानुनी व्यवस्था, अहिले प्रस्तावित एक पटकको संक्रमणकालीन अवकाश, सेवा सर्त संरक्षणसम्बन्धी प्रावधान र वर्तमान संवैधानिक व्यवस्था फरक सन्दर्भ हुन् । त्यसैले पुरानो फैसलाको सान्दर्भिकता अहिलेको विधेयकको प्रावधान र त्यसको कानुनी व्याख्याका आधारमा परीक्षण गर्नुपर्ने देखिन्छ ।

अनुभवी जनशक्ति बाहिरिने 

एकैपटक ठुलो सङख्यामा कर्मचारी अवकाशमा जाँदा प्रशासनमा अनुभव र संस्थागत ज्ञानको अभाव हुनसक्ने विज्ञ दाहालको भनाइ छ । कर्मचारीको सङख्या आवश्यकताभन्दा बढी हुनु उचित नभए पनि जनशक्ति घटाउने निर्णय गर्दा त्यसको प्रभावकारी योजना आवश्यक पर्ने उहाँले बताउनुभयो ।

“अनुभवी जनशक्ति बाहिरिने र नयाँ पुस्ता आउन समय लाग्ने अवस्था हुन्छ” उहाँले भन्नुभयो । नयाँ कर्मचारी भर्ना गर्न लोकसेवा आयोगको प्रतिस्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्छ । बढुवामार्फत पदपूर्ति हुने पदमा पनि निर्धारित प्रक्रिया आवश्यक हुन्छ । त्यसैले कर्मचारी अवकाशमा गएको लगत्तै सबै रिक्त पदमा नयाँ जनशक्ति उपलब्ध नहुन सक्छ । यसले निर्णय प्रक्रिया, सेवा प्रवाह र संस्थागत कार्यसम्पादनमा प्रभाव पार्न सक्ने दाहालले बताउनुभयो ।

दाहालका अनुसार विधेयकमा रिक्तताका कारण उत्पन्न हुने अवस्था व्यवस्थापन गर्न सरकारले विशेष प्रबन्ध गर्न सक्ने व्यवस्था राखिएको छ । तर त्यसको कार्यान्वयन, आवश्यक जनशक्ति पूर्ति र सेवा प्रवाहमा कमी आउन नदिन सरकारले कस्तो योजना बनाउँछ भन्ने कुरा महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

प्रशासनलाई निष्पक्ष, तटस्थ र व्यावसायिक बनाउने, अनावश्यक दरबन्दी सिर्जना हुन नदिने, प्रविधिमैत्री प्रशासन विकास गर्ने तथा सरुवा र बढुवालाई अनुमानयोग्य बनाउने व्यवस्था सुधारका लागि उपयोगी हुन सक्ने दाहालको भनाइ छ ।

नेतृत्व तथा व्यवस्थापन परीक्षण, गुनासो व्यवस्थापन, कर्मचारीको वृत्ति विकास र पाँच–पाँच वर्षमा आवश्यक जनशक्तिको प्रक्षेपण गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

३०-५५ को गाँठो 

संघीय निजामती सेवा विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भइसकेकाले प्रस्तावित ३०-५५ को अवकाश व्यवस्थाको भविष्य संसदीय छलफल र संशोधन प्रक्रियासँग जोडिएको छ ।

अवकाशको मापदण्ड, कर्मचारीको सेवा सर्त, निवृत्तिभरण र अनुभवी जनशक्ति व्यवस्थापनबारे संसद्ले स्पष्ट निर्णय गर्नुपर्ने देखिएको छ ।

अर्कोतर्फ, प्रस्तावित व्यवस्थाबाट प्रभावित कर्मचारीहरू कानुनी उपचारको तयारीमा रहेकाले विधेयकको विवादित प्रावधान आवश्यक परे न्यायिक परीक्षणमा समेत जान सक्ने डा. ज्ञावलीले बताउनुभयो ।

नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा ३३ ले रोजगारीको हक सुनिश्चित गरेको छ । त्यस्तै, निजामती सेवा ऐन, २०४९ को दफा ५८ मा कर्मचारी नियुक्त हुँदाका बखत कायम रहेका तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधासम्बन्धी सेवाका सर्तमा कर्मचारीको स्वीकृतिबिना प्रतिकूल असर पर्नेगरी परिवर्तन गर्न नहुने व्यवस्था छ ।

यद्यपि, यी कानुनी प्रावधानले प्रस्तावित ३०—५५ को व्यवस्था स्वतः असंवैधानिक ठहर हुन्छ भन्ने अर्थ दिँदैन । नयाँ विधेयकको संक्रमणकालीन अवकाश व्यवस्था, पेन्सन संरक्षणसम्बन्धी प्रावधान र विद्यमान सेवा सर्त संरक्षणको सम्बन्ध कसरी व्याख्या हुन्छ भन्ने विषय कानुनी बहसको केन्द्रमा रहनेछ ।

प्रस्तावित व्यवस्थाबाट प्रभावित कर्मचारीहरूले सेवा सर्त, समानताको हक र कानुनी संरक्षणको प्रश्न उठाउँदै व्यवस्था कार्यान्वयनमा आए सर्वोच्च अदालत जाने तयारी गरिरहेको सञ्चारमाध्यममा प्रकाशित विवरणमा उल्लेख छ । तर अहिलेसम्म रिट निवेदन दर्ता हुने नहुनेबारे पुष्टि हुन बाँकी छ ।

अब संसदमा हुने छलफल र संशोधनले विवादित व्यवस्थालाई सम्बोधन गर्ने अवसर छ । विधेयक कानुन बनेपछि त्यसको संवैधानिकता वा कानुनी वैधतामाथि प्रश्न उठेमा अदालतबाट परीक्षण हुन सक्ने ज्ञवालीको भनाइ छ ।

अन्ततः ३०—५५ को गाँठो कसरी फुक्छ भन्ने कुरा संसदीय निर्णय, कानुनी व्याख्या र सरकारले तयार गर्ने जनशक्ति व्यवस्थापन योजनामा निर्भर हुने डा. ज्ञावलीले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार