असोज २७, २०८३ मंगलबार October 13, 2026

प्रभावकारी बन्यो ‘इपेन्सन’ सेवा

वार्षिक रूपमा करिब दुई हजार दुई सय जना कर्मचारी अवकाश हुुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २७ गते । सल्यान जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत निमित्त प्रमुख कोष नियन्त्रक उदयबहादुर डाँगी २०८३ वैशाख २० गते सेवाबाट अवकाश हुनुभयो । निजामती कर्मचारीका लागि अवकाशपछि पाउने सेवा सुविधा र पेन्सनपट्टा बनाउनका लागि सरकारले सुरु गरेको इपेन्सन प्रणालीबाटै उहाँले पेन्सनपट्टा बनाउनुभयो ।

इपेन्सन प्रणाली कार्यान्वयन हुँदा उहाँले अवकाश भएर घर फर्कंदा सम्बन्धित कार्यालयबाटै एकै दिनमा एक हातमा अवकाशपत्र र अर्को हातमा पेन्सनपट्टा प्राप्त गर्नुभयो । विगतमा यति सहजै अवकाशपछि पेन्सनपट्टा बन्ने गरेको थिएन ।

राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत उपसचिव हिरामणि सुवेदीले पनि अवकाश हुँदा राष्ट्रिय किताबखानामा नगई इपेन्सन प्रणालीबाटै पेन्सनपट्टा बनाउनुभयो । उहाँले भन्नुभयो, “किताबखाना नगए इपेन्सन प्रणालीमार्फत आवकाशपछिको सेवा सुविधा प्राप्त गरेसँगै भौगोलिक रूपमा विकट मानिएका जिल्लामा कार्यरत कर्मचारीका लागि समय, श्रम र आर्थिक लागतबिना नै सहज काम भएको छ । यो प्रणालीले अवकाश भएका हरेक कर्मचारीलाई ठुलो राहत पुगेको छ ।”

“इपेन्सन प्रणाली कार्यान्वयन भएसँगै जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाटै सबै काम हुन्छ । यसलाई बानी बसाल्न मात्र केही समय लाग्छ । यसको प्रभावकारिता बढ्दो छ,” डाँगीले भन्नुभयो ।

राष्ट्रिय किताबखानाले सुरु गरेको इपेन्सन प्रणाली कार्यान्वयनमा आएसँगै अहिले डाँगी र सुवेदी जस्तै अवकाश प्राप्त सबै कर्मचारी एक दिनमा घरैमा बसेर वा आफ्नै कार्यालयबाट एउटा हातमा अवकाशपत्र अर्को हातमा पेन्सनपट्टा प्राप्त गर्ने गरेका छन् । गत २०८२ चैत ८ गतेदेखि सञ्चालनमा ल्याइएको इपेन्सन प्रणालीले सेवाग्राहीलाई घरैमा बसेर पेन्सनपट्टा बनाउन सकिने भएको राष्ट्रिय किताबखानाले जनाएको छ । किताबखानाका अनुसार वार्षिक रूपमा अहिले करिब दुई हजार दुई सय जना कर्मचारी अवकाश हुने गरेका छन् ।

राष्ट्रिय किताबखानाका महानिर्देशक आरती न्यौपानेले किताबखानाले सुरु गरेको इपेसन्न प्रणालीले विगतमा दूरदराजका कार्यालयबाट काठमाडौँ आएर पेन्सनपट्टा बनाउनुपर्ने अवस्थाको अहिले अन्त्य भएको बताउनुभयो । इपेन्सन प्रणाली कार्यान्वयन हुँदा सेवा कर्मचारीमैत्री, सहज र प्रभावकारी बनेको छ । अवकाश भएका कर्मचारीका पेन्सनपट्टा बनाउनकै लागि खर्च हुने आर्थिक दायित्व बचाएको छ ।

न्यौपानेले भन्नुभयो, “कर्मचारीको निवृत्तिभरण, उपदान, सञ्चित बिदा तथा औषधी उपचारबापतको रकम निकासा र कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) सम्बन्धी सेवाहरू २०८३ कात्तिक १ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिने छ ।”

यो प्रणाली कार्यान्वयनमा आएसँगै सरकारी कर्मचारीको अभिलेख तथा अवकाशपछिका सुविधासम्बन्धी प्रक्रिया विद्युतीय बनाउँदा कागजी प्रक्रिया घट्ने, सेवा प्रवाह सहज हुने र कर्मचारीले निवृत्तिभरणलगायतका कामका लागि भोग्नुपर्ने झन्झट अन्त्य हुने अपेक्षा किताबखाानाको छ । किताबखानामा पेन्सनपट्टा बनाउनका लागि आगामी दिनमा भौतिक रूपमा उपस्थित हुने व्यक्तिलाई भन्दा पनि अनलाइन प्रणालीमा प्राप्त निवेदनलाई प्राथमिकता दिने जनाइएको छ ।

कार्यालयले विवरण पठाउनुपर्ने

विद्युतीय निवृत्तिभरण प्रणाली प्रयोग गर्न सम्बन्धित कार्यालयले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने छ । प्रणाली सञ्चालनका लागि आवश्यक प्रयोगकर्ता विवरण प्राप्त गर्न कार्यालयले कर्मचारी सङ्केत नम्बर, नाम, पद, इमेल ठेगाना र फोन नम्बरलगायत विवरण समेटिएको आधिकारिक पत्र राष्ट्रिय किताबखानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

किताबखानाका निर्देशक सुधन ख्वाखली श्रेष्ठले सरकारी कर्मचारीको अभिलेख तथा अवकाशपछिका सुविधासम्बन्धी प्रक्रिया विद्युतीय बनाउँदा कागजी प्रक्रिया घट्ने, सेवा प्रवाह सहज हुने र कर्मचारीले निवृत्तिभरणलगायत कामका लागि भोग्नुपर्ने झन्झटको अन्त्य हुँदै गएको बताउनुभयो । पेन्सनपट्टा बनाउनका लागि सम्बन्धित कार्यालयले अनलाइनबाटै सबै विवरण किताबखानामा पठाउनुपर्ने छ ।

किताबखानाले तोकेको प्रक्रिया पूरा भएपछि सम्बन्धित कार्यालयले विद्युतीय प्रणालीमार्फत निवृत्तिभरणसम्बन्धी काम अघि बढाउन सक्ने किताबखानाले जनाएको छ । किताबखानाले निजामती कर्मचारीको सिटरोल र निवृत्तिभरणसम्बन्धी सेवा पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ । किताबखानाले कर्मचारीलाई विभागको वेबसाइटमा गई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न आग्रहसमेत गरेको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया