असोज २७, २०८३ मंगलबार October 13, 2026

वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धीकरणमा छानबिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिलोपटक पूर्वप्रधानन्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पुर्पक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निसानामा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनीनिकट व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा
लागेको छ।

जबरासँग निकट देखिएका इनम सापकोटालाई पक्राउ गरी राष्ट्रबैंक कसुरमा थुनामा राख्न अदालतबाट म्याद लिए पनि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाइएको छ। सापकोटालाई पक्राउ गर्नुअघि विभागले असोज २१ गते जबरासहित चार जनाको घरमा एकै पटक छापा मारेको थियो। तीमध्येका एक हुन्, नवीनराज बस्नेत। बस्नेतलाई डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधमा सिआइबीले शुक्रबार पक्राउ गरेको थियो।

बस्नेत २०६९ चैतमा काठमाडौं गुह्येश्वरीमा बरामद २२६ किलो रक्तचन्दनका फरार प्रतिवादी थिए। १३ वर्षअघि सिन्धुलीको ककुरठाकुरका भीमकुमार सुनारलाई बस्नेतले बालुवा लैजानुपर्ने भन्दै फोन गरेका थिए। पेप्सीकोला टाउन प्लानिङका सञ्चालकसमेत रहेका बस्नेतले कालिञ्चोक सप्लायर्सबाट जोरपाटीमा बालुवा लैजानु भनेपछि सुनार तयार भए।

सुनार सर्लाहीका नीरबहादुर सिंहलाई सहयोगी बनाएर बालुवा लिएर जोरपाटीतर्फ गए। बालुवा बोकेको टिप्परभन्दा अघिअघि बस्नेत मोटरसाइकलमा गएको सुनारले बयानमा बताएका छन्। टिप्पर गुह्येश्वरी पुगेपछि सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा बालुवाले छोपिएको अवस्थामा रक्तचन्दन भेटियो।

प्रहरीले कसको भनेर सोधपुछ गर्दा चालक सुनार र सहचालक सिंहले बस्नेतको नाम लिएका थिए तर त्यतिबेला बस्नेत पक्राउ परेनन्। सुनार र सिंहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइयो। २०७० वैशाख ९ गते अदालतमा दायर मुद्दामा बस्नेतको नाम उल्लेख भए पनि नागरिकता र ठेगाना खुलाइएन।

टिप्परको अघिअघि गएका बस्नेतको पहिचान चालक सुनारले त्यतिबेलै गराएका थिए। तैपनि नागरिकतासमेत नखुलाई कसले ती बस्नेतलाई उम्कायो, पत्तै भएन। त्यतिबेला ठेगानासमेत नखुलेको भन्दै बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दा तामेलीमा राखियो। १३ वर्षपछि जिल्ला अदालत काठमाडौंले बस्नेतविरुद्धको वनसम्बन्धी उक्त मुद्दा ब्युँताएको छ।

साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नागरिकतादेखि सबै विवरण खुलाएर दिएपछि बस्नेत पक्राउ पनि परेका छन्। यसपालि उनको खोजी डिभिजन वन कार्यालय काठमाडौंले होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको हो। बस्नेतलाई पुरानो वन मुद्दामा बयान गराउन बाँकी छ। दसैं बिदा सुरु भएकाले अदालत बन्द छ। अदालत खुलेसँगै उनको बयान हुने छ। १३ वर्षअघि रक्तचन्दनको कारोबार गर्ने बस्नेतको सम्पत्ति कति छ र उनलाई अवैध धन्दामा साथ दिने को को हुन्, अब त्यसको खोजी हुने विभाग सम्बद्ध स्रोतको दाबी छ।

अभियोगपत्रअनुसार १३ वर्षअघि मुद्दा चल्दा बस्नेतको ठेगाना काठमाडौं महानगरपालिका–१६ उल्लेख थियो। अहिले उनको ठेगाना भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनी रहेको विभागले पत्ता लगाएको छ। विभागले नै बस्नेतको पुरानो मुद्दा ब्युँताउन डिभिजन वन कार्यालय काठमाडौंलाई पत्र पठाएको थियो।

असोज ६ गते विभागले बस्नेतको पुरानो मुद्दाको विवरणसमेत खुलाएर कारबाहीका लागि डिभिजन वन कार्यालयलाई पत्राचार गरेको थियो। तत्कालीन मुद्दामा बस्नेतले बालुवा लैजान प्रयोग गरेको गाडी भाडामा लिएको तथ्यसमेत खुलाएर विभागबाट पत्र आएपछि वन कार्यालयले यही असोज १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पक्राउका लागि अनुरोध पत्र पठाएको थियो। सिआइबीले बस्नेतलाई शुक्रबार राति पक्राउ गरी हिरासतमा राखेको छ।

अदालत खुलेसँगै बस्नेतको पुरानो रक्तचन्दन मुद्दा त ब्युँतिन्छ। उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान पनि चलिरहन्छ। विभाग स्रोतका अनुसार बस्नेत वन मुद्दामा एमालेका नेताहरूको दबाबमा छुटेका थिए।

पूर्वप्रधानन्यायाधीश जबरा र एमालेका नेताहरूले बस्नेतकै नाममा लगानीसमेत गरेको हुन सक्ने विभागको आशंका छ। विभागका एक अधिकृतका अनुसार बस्नेतलाई तत्कालै पक्राउ गर्नुपर्ने थियो। त्यसका लागि आधार खोज्दै जाँदा उनीविरुद्ध पुरानो वन मुद्दा देखियो। उक्त मुद्दामा बस्नेतलाई थुनामा राखेर सरकारले उनको सम्पत्ति र अन्य राजनीतिक सम्बन्ध तथा कारोबार पत्ता लगाउन खोजेको छ। अनुसन्धान सम्बद्ध स्रोतका अनुसार बस्नेतबाट विभागले धेरै कुरा खुलाउने छ। बस्नेत र उनका आफन्तका नाममा रहेका सम्पत्ति, व्यवसाय सबैको खोजी हुने छ। बस्नेतमार्फत पूर्वप्रधानन्यायाधीश जबरा मात्रै होइन, एमालेका उच्च तहको नेतासम्म पुग्ने गरी अनुसन्धान भइरहेको विभाग स्रोतले बतायो।

बस्नेत यसअघि नलिनचोक हेलिपोर्ट निर्माणमा अनियमितता गरेको अभियोगमा पुर्पक्ष थुनामा रहेका प्रदीप अधिकारीका निकट पनि हुन्। अधिकारीको मुद्दा मिलाउन भन्दै राजनीतिक शक्ति प्रयोग गरिरहेका बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्क्याएको आरोपसमेत लागेको थियो। मुद्दा मिलाउन आश्वासनसहित एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यसँग बस्नेतले ह्वाट्स एप म्यासेज गरेको पनि अनुसन्धानबाट खुलेको थियो।

बस्नेतले बज्राचार्यलाई प्रयोग गरेर ओलीमार्फत अधिकारीको मुद्दा अख्तियारबाट मिलाउने आश्वासन दिए पनि सफलता भने मिलेन। बस्नेत पक्राउले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले नेतासम्म जोडिन सक्ने स्रोतको दाबी छ। बस्नेत पक्राउ परेपछि एमालेका नेताहरूले गम्भीर चासो राखिरहेको एक अनुसन्धान अधिकृतले बताए। सापकोटा र बस्नेतमार्फत पूर्वप्रधानन्यायाधीश जबराको मात्रै नभई राजनीतिक दलका नेतृत्व तहका नेतासम्मको सम्पत्ति खोजीमा सरकार लागेको स्रोतको दाबी छ। यसैका लागि बस्नेतविरुद्ध १३ वर्षअघिको मुद्दा ब्युँताइएको ती अधिकृतको दाबी छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार