काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले स्थापित न्यायिक परम्परा र विधिलाई मिचेर वरिष्ठ न्यायाधीशहरूलाई बाहिर राखेर इजलास गठन गरेपछि न्याय क्षेत्र तरंगित बनेको हो । बुधबार गठन भएको इजलासमा वरीयता मिचिएपछि यसलाई कतिपयले कार्यपालिकाको प्रभाव तथा बेञ्च सपिङको आशंकाका रूपमा हेरेका छन् ।
हरेक बुधबार बस्ने संवैधानिक इजलासमा यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू छनोट गर्ने स्थापित सहमति र परम्परा थियो । तर, बुधबार प्रधानन्यायाधीश शर्माले वरीयतामा आफूपछि रहेका वरिष्ठतम् न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई संवैधानिक इजलासमा समावेश गर्नुभएन । उहाँहरूको साटो वरीयतामा तल रहेका न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेललाई राखेर इजलास गठन गरिएको थियो । यसअघि प्रधानन्यायाधीश नियुक्त भएपछि पहिलो पटक जेठ १३ गते इजलास तोक्दा भने शर्माले पहिलेकै प्रक्रियाअनुसार वरिष्ठताकै आधारमा गठन गर्नुभएको थियो ।
बेञ्च सपिङको आशंका
यो विषय किन पनि अत्यन्त पेचिलो बनेको छ भने, बुधबारको इजलासमा कर्मचारी ट्रेड युनियन खारेजीविरुद्धको अत्यन्तै संवेदनशील मुद्दामा सुनुवाइ हुँदै थियो । ट्रेड युनियन अधिकार नागरिकको संवैधानिक हक भए पनि प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । यही राजनीतिक संवेदनशीलताका बीच वरिष्ठतम् न्यायाधीशहरूलाई बाहिर राखिनुले धेरैलाई झस्काएको छ ।
यसअघि वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा बसेको संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उक्त आदेश दिँदा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले बहुमतका आधारमा सरकारको निर्णय रोक्नुभएको थियो । तर, त्यतिबेला सरकारको निर्णयलाई सदर गर्नुपर्ने भन्दै फरक मत राख्नुभएका न्यायाधीश विनोद शर्मालाई भने अहिलेको इजलासमा समावेश गरिएको छ ।
सरकारको निर्णयमा रोक लगाउने वरिष्ठ न्यायाधीशलाई बाहिर राख्नु र फरक मत राख्नेलाई इजलासमा ल्याउनुले न्याय सम्पादनमा सरकारी प्रभाव परेको आशंकालाई थप बल पुर्याएको छ । यता, प्रधानन्यायाधीश नियुक्तिमा असन्तुष्ट रहनुभएकी न्यायाधीश सपना प्रधान मल्ल शर्मा नियुक्त भएकै दिनदेखि २० दिन लामो बिदामा हुनुहुन्छ र उहाँको बिदा अझै एक साता बाँकी छ ।
बुधबार बिहान गोला तान्न उपस्थित हुने समयमा पनि संवैधानिक इजलासमा बस्नुपर्ने वरिष्ठ न्यायाधीशद्वय रेग्मी र फुँयाललाई अन्य इजलासको गोला तान्न लगाइएको थियो । बुधबार रेग्मीको एकल र बालकृष्ण ढकालसँगको संयुक्त इजलास बन्यो भने फुँयालको श्रीकान्त पौडेलसँग संयुक्त इजलास बन्यो । उहाँहरूभन्दा कनिष्ठ चार न्यायाधीश भने गोला तान्न उपस्थित भएनन्, किनकि उहाँहरूलाई प्रधानन्यायाधीशले पहिल्यै संवैधानिक इजलासमा बस्ने जानकारी गराइसक्नु भएको थियो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया