जेठ २३, २०८३ शनिबार June 6, 2026

दशकमा पनि बनेनन्, अझै म्याद थप

पुलको मुख्य संरचना सम्पन्न भइसकेको बताउँदै उहाँले असारसम्म पुलको सम्पूर्ण निर्माण सम्पन्न हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २२ गते ।  आठ लेनको सडकमाथि मानिस ओहोरदोहोर गर्नका लागि आकासे पुल बनाउन कति समय लाग्न सक्छ ? छ महिना, एक वर्ष वा बढीमा दुई वर्ष । तर सङ्घीय राजधानी काठमाडौँमै सम्झौता भई काम सुरु भएको एक दशकमा पनि आकासे पुल निर्माण हुन सकेका छैनन् । काठमाडौँको बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन नसकेको हो । एक दशकको अवधिमा आठ पटक म्याद थप भइसकेको छ । नवौँ पटक म्याद थपको तयारी भइरहेको छ । अहिलेसम्म ती पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

यी पुल निर्माणका लागि २०७४ सालमै ठेक्का सम्झौता भएको थियो । काम सुरु भएको एक दशकमा पनि एउटा आकासे पुल निर्माण हुन नसक्नुले मुलुकको सार्वजनिक पूर्वाधार निर्माणमा रहेको कमजोर समन्वय र सुस्त कार्यशैली देखाउनुका साथै कार्यप्रणालीको बेथितिसमेत उजागर गरेको छ ।  ती पुल निर्माण व्रmममा सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न नगर्दा ठेकेदार कम्पनीलाई जरिबाना तिराउनुको सट्टा शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले म्याद थप्दै आएको पाइएको छ ।

बल्खुमा आकासे पुल निर्माणका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा आकासे पुलको खम्बा र ¥याम्प निर्माणबाहेकको काम अगाडि बढ्न सकेको छैन । ती ठाउँमा पैदल यात्रुको अत्यधिक चाप हुने गर्छ । आकासे पुल निर्माण हुन नसक्दा सडक फराकिलो भए पनि सुरक्षित बाटो काट्ने ठाउँ अभावमा जोखिम मोलेर यात्रु सडक पार गर्न बाध्य छन् । काठमाडौँ चव्रmपथ सुधार योजनाका प्रमुख ई. आशिका पोखरेलले अहिले ती तीन वटै पुल निर्माण जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पुलको रेलिङलगायतका आवश्यक निर्माण कारखानामा भइरहेको छ । आकासे पुलमा जडान हुने सामग्री निर्माणस्थल (साइट) मा नभई कारखानामा हुने गरेको छ । पुलको मुख्य संरचना सम्पन्न भइसकेको बताउँदै उहाँले असारसम्म पुलको सम्पूर्ण निर्माण सम्पन्न हुने दाबी गर्नुभयो ।

काठमाडौँ चव्रmपथ सुधार योजनाका सूचना अधिकारी ई. रामविहारी चौधरीका अनुसार बल्खुको आकासे पुल निर्माणका लागि २०७४ भदौ २९ गते महर्जन÷पूर्णचण्डी निर्माण कम्पनी (संयुक्त) सँग सम्झौता भएको थियो । यस पुलको निर्माण लागत चार करोड छ लाख ७८ हजार ८२५ रुपियाँ छ । पुलको निर्माण अवधि सुरुमा २०७५ मङ्सिर २९ गतेसम्म रहेको थियो भने आठौँ पटक म्याद थप गरी २०८२ चैत ३० गतेसम्म रहेकोमा म्यादसमेत समाप्त भइसकेको छ । त्यसै गरी ललितपुरको महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि महर्जन/पूर्णचण्डी/ड्रामा निर्माण कम्पनी (संयुक्त) सँग

चार करोड ३२ लाख ४३ हजार ६२९ रुपियाँ लागतमा २०७४ असार २८ गते सम्झौता भएको थियो । यस पुलको सुरुको म्याद २०७५ असोज २८ गतेसम्म रहेकोमा यसको पनि आठ पटक म्याद थप गरी २०८२ चैत ३० गतेसम्म रहेको म्याद समाप्त भइसकेको छ ।

त्यसै गरी चव्रmपथको सानेपामा आकासे पुल निर्माणका लागि महर्जन/पूर्णचण्डी/सप्तम निर्माण कम्पनी (संयुक्त) सँग २०७४ असार २८ गते सम्झौता भएको थियो । सम्झौता अनुसार यो पुलको निर्माण सम्पन्न गर्ने सुरुको अवधि २०७५ असोज २८ गतेसम्म रहेकोमा आठ पटक म्याद थप गरी २०८२ चैत ३० गतेसम्म रहेकोमा सो म्याद सकिएको तीन महिना पुग्न लागेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । यो पुलको ठेक्का रकम चार करोड १९ लाख २२ हजार ४२५ रुपियाँ छ ।

यी तीन वटै आकासे पुलको ठेक्का सम्झौता भएसँगै निर्माण कम्पनीले ‘साइट मोबिलाइजेसन’ स्वरूप कुल निर्माण लागतको २० प्रतिशत रकम पुल महाशाखाबाट बुझिसकेको छ । यसअघि चीन सरकारले कोटेश्वर, ग्वार्को, सातदोबाटो र बागडोलमा सम्झौता अनुसारको आकासे पुल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । त्यसै गरी चीनले चक्रपथ कोटेश्वर–कलङ्की खण्ड विस्तार गरी २०७५ माघ १४ गते नेपाललाई हस्तान्तरण गरिसकेको हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया