जेठ २१, २०८३ बिहिबार June 4, 2026

रविलाई भारतीय संस्थापनको उच्च महत्त्व

सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यसक्रममा सीमाको मुद्दा नउठ्नुलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा अर्थपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले पाँच दिने औपचारिक भ्रमणको क्रममा छिमेकी राष्ट्र भारतमा हुनुहुन्छ । सभापति लामिछानेको भ्रमणलाई भारत सरकार र सरकारको नेतृत्व गरिरहेको दल भारतीय जनता पार्टी (भाजपा) ले उच्च महत्त्व दिएको छ । सोमबार नयाँदिल्ली पुग्नुभएका सभापति लामिछानेले बुधबारसम्म उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सरकारको नेतृत्व गरिरहेको दल भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस.जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको हो ।

तर, मंगलबार र बुधबार भएका कुनै पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा नेपाल-भारतबीचको संवेदनशील सीमा विवादको विषयले प्रवेश नै पाएन । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिले नेपाल र भारत दुवैतर्फ राजनीतिक तरंग पैदा गरिरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल रास्वपाका सभापति लामिछानेको भ्रमण भएको हो । सरकारको नेतृत्व गरिरहेको दलको मुख्य नेतृत्वको भ्रमणमा सीमा समस्याबारे गम्भीर कुराकानी हुने ठूलो अपेक्षा गरिएको थियो । तर, भ्रमणका क्रममा भएका कुनै पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा सीमासम्बन्धी विषयले प्रवेश नपाएको हो ।

भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्नुभएको छ । सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको हो । मोदीले नेपाली भाषामै लेख्नुभएको थियो ।

सभापति लामिछानेसँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्णरूपमा समर्थन गर्दछु ।’ भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस.जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री लगायतका उच्च पदस्थ अधिकारी थिए ।

मोदीसँगको भेटवार्तामा नेपाली टोलीमा सभापति लामिछानेसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी हुनुहुन्थ्यो । तर, प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा पनि सीमा विवादको विषयले प्रवेश नपाएको स्रोतले जनाएको छ । नेपाल र भारतबीच सीमा परिमार्जन तथा सुगौली सन्धिकालीन नक्साका विषयमा बहस भइरहेका बेला सत्तारूढ दलका प्रमुख नेताको भारत भ्रमण र त्यसक्रममा सीमाको मुद्दा नउठ्नुलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुग्नुभएको हो । लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । आज (बिहीबार) लामिछाने उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या जाने कार्यक्रम छ । पाँच दिने भारत भ्रमण पूरा गरी लामिछाने जेठ २२ गते स्वदेश फर्कनु हुनेछ ।

नेपाल भारतको प्राथमिक साझेदार हो, सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछौँ : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार मुलुकका रूपमा पुनः उल्लेख गर्नुभएको छ । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँग नयाँदिल्लीमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफूहरूबीच साझा समृद्धि र भविष्यका लागि नजिकबाट सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई विशेष तथा बहुआयामिक भन्नुभएका प्रधानमन्त्री मोदीले त्यसलाई अझ उच्च स्तरमा पुर्‍याउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘नेपाल हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन हामी उत्सुक छौँ ।’ मोदी र लामिछानेबीचको भेटलाई नेपाल-भारत सम्बन्ध तथा अन्तरपार्टी संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया