कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न

सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याइ तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ५ कात्तिक : मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो ।

कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याइ तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको पमा नाइके श्यामकाजी पमा श्रेष्ठले बताउनुभयो ।

एकादशीका दिन आज तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहित संलग्नतामा जात्रा मनाइएको उहाँले बताउनुभयो ।

बाजागाजासहित लायकुबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काटेपछि  त्यसलाई खोसेर लैजानेको भीड लागेको थियो । कुभिण्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुखशान्ति हुने र  औषधिका रुपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया