काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारततर्फ गएका हुन्।
प्राप्त विवरणअनुसार लामिछाने शुक्रबार बिहान काठमाडौं विमानस्थलबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए। धनगढीबाट भारत जाने कार्यक्रम रहेको बताइएको छ।
लामिछानेको सचिवालयले भ्रमणलाई निजी, पारिवारिक तथा आध्यात्मिक तीर्थाटनका रूपमा व्याख्या गरेको छ। भ्रमणका क्रममा उनले परिवारसहित भारतका प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन तथा पूजाआर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ।
तीनदिने भ्रमणका क्रममा लामिछाने उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुग्ने कार्यक्रम छ। कैंची धाम आध्यात्मिक महत्त्व बोकेको धार्मिक स्थल हो भने कामाख्या मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।यी दुवै धार्मिक स्थलमा दर्शन तथा पूजाआर्चनाका लागि भारतलगायत विभिन्न देशबाट श्रद्धालुहरू पुग्ने गर्छन्। लामिछानेको भ्रमण धार्मिक आस्था र पारिवारिक समय बिताउने उद्देश्यमा केन्द्रित रहने सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार तीनदिने भ्रमण पूरा गरेपछि लामिछाने स्वदेश फर्किनेछन्। भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट वा औपचारिक कार्यक्रम तय भएको विषयमा भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
सचिवालयले भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेकाले यसलाई औपचारिक राजनीतिक भ्रमणका रूपमा प्रस्तुत गरेको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया