कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड

राजविराजको भगवती मन्दिर र राजदेवी मन्दिरमा समेत ठूलो मेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राजविराज (सप्तरी), १४ असोजः नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै नवरात्रको आठौँ दिन आज सप्तरीका विभिन्न धार्मिकस्थलमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । यस स्थलमा पूजाअर्चना र दर्शन गर्दा सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ गरिँदै आएको यस मन्दिरमा श्रद्धालुको भीड बाक्लिँदै गएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष करिब १० लाख भक्तजनले दर्शन तथा पूजा गरेका थिए भने यस वर्ष सो सङ्ख्याभन्दा बढी आउने अनुमान गरिएको छ । आज र भोलि महानवमीका दिन नेपालका विभिन्न ठाउँका साथै भारतको विहार राज्यसहित अन्य ठाउँबाट समेत भक्तजन यहाँ आउने गर्छन् ।

श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखी शक्तिपीठ परिसरमा निःशुल्क भोजन, धर्मशाला, खानेपानी, पार्किङ सुविधा तथा सुरक्षा व्यवस्थाका लागि मन्दिर परिसरमा ३२ वटा सिसी टिभी क्यामेरासमेत जडान गरिएको पिठाधीश ठाकुरको भनाइ छ । घटस्थापनादेखि अहिलेसम्म करिब पाँच÷छ लाखभन्दा बढी श्रद्धालु भक्तजनले छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।

जिल्लाका दुई शक्तिपीठसहित यस वर्ष भने विभिन्न मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढेको पाइएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा रहेको कङ्कालनी भगवती मन्दिरमा समेत भक्तजनको निकै भीड लागेको छ । यो मन्दिरमा पनि आज बिहानदेखि लाइनमा बसेर भक्तजन पूजाआजा गरिरहेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो । भोलि (बुधबार) महानवमीका दिन यहाँ हुने पशु बलिका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिँदै नवमीका दिन हुने अत्यधिक भीडलाई ध्यानमा राखी व्यवस्थित रुपमा यहाँ स्वयंसेवक परिचालन गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको मन्दिरलाई सिङ्गारिएको छभने ट्राफिक व्यवस्थापनसमेत मिलाइएको मन्दिर विकास समितिका सचिव प्रभु मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार कङ्कालिनी मन्दिरमा पूजा गर्ने भक्तजनको अत्यधिक घुइँचो हुन नदिन पूजा गर्नेको छुट्टै लाइन र खसीबोका बलि दिने भक्तजनको छुट्टै लाइनमा जानका लागि व्यवस्था गरिएको छ । यहाँ महानवमीका दिन राँगा बलि हुने महिषासुरको परिसरमा राँगाको पङ्क्ति लगाउने छुट्टै टोली, बलि प्रदान गराउने छुट्टै टोली र राँगा तानेर बाँधसम्म पुर्याउने छुट्टै टोलीको व्यवस्था गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

त्यस्तै राजविराजको भगवती मन्दिर र राजदेवी मन्दिरमा समेत ठूलो मेला लागेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पातोमा रहेका डाक्नेश्वरी मन्दिरमा समेत भक्तजनहरको भीड लागेको स्थानीय उमेश विश्वकर्माले बताउनुभयो । सप्तरीको बोदेवर्सान, कञ्चनपुर, कल्यानपुर, हनुमाननगरका मन्दिरहरुमा देवीको दर्शन र पूजाका लागि भक्तजनको भीड लागेको छ ।

धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने ती मन्दिरहरुमा दसँै अवधिभर भक्तजनको घुइँचो लाग्ने गर्छ । उक्त स्थानमा मूर्ति तथा नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहिआएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार