काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (मंगलबार) साँझ सात राजनीतिक दलका शीर्ष नेतासँग आगामी प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा संयुक्त छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सातै राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी छ ।
छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन सुरक्षा, आचारसंहिता, र सरकारको निर्वाचन व्यवस्थापन भूमिकासम्बन्धी एजेन्डामा केन्द्रित हुने जनाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले सबै दललाई आधिकारिक पत्र पठाइएको र फोनमार्फत पनि जानकारी गराइएको जनाएको छ ।
अन्तरिम सरकारको नेतृत्व गर्दै आएकी कार्कीलाई फागुन २१ गतेसम्म प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ । यसअघि उनले दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् भने आजको छलफल पहिलो संयुक्त राजनीतिक संवादको रूपमा हेरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया