काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग आज बालुवाटारमा चार घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । बिहान साढे १० बजे सुरु भएको छलफल दिउँसो करिब २ बजे मात्रै सकिएको हो ।
छलफलका क्रममा घाइतेहरूले सरकारले भ्रष्टाचार र दमनविरुद्ध कठोर र ठोस कदम चाल्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले चेतावनी दिँदै भने, “यदि भ्रष्टाचारीहरूलाई कारबाही भएन भने फेरि सडकमै आउन बाध्य हुनेछौँ।”
घाइते रुपिन खड्काको नेतृत्वमा पुगेको १८ जनाको टोलीले “क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी निर्णय लिन नसक्नु विडम्बना हो” भन्दै सरकारको ढिलासुस्तीप्रति असन्तोष प्रकट गरेको थियो ।
खड्काले प्रधानमन्त्रीसमक्ष प्रश्न गर्दै भने, “जसका विरुद्ध हामीले आन्दोलन गर्यौँ, ती व्यक्तिहरू अझै किन स्वतन्त्र छन् ? नियमले छेक्यो कि कानुनले ? जहाँ बाधा छ, त्यहींबाट फुकाउने काम सुरु गर्नुपर्छ।”
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेललगायत मन्त्रीहरूको पनि सहभागिता थियो ।
गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनका घटनाहरूमा छानबिन तीव्र गतिमा भइरहेको जानकारी दिएका थिए । उनले भने, “भाग्न खोज्नेहरू अहिले ‘नेपालमै छु’ भनेर देखापर्न थालेका छन् । अब कसैले उम्कन सक्दैन।”
प्रधानमन्त्री कार्कीले भने सरकार जेन–जी आन्दोलनको मर्म र आत्मासँग विचलित नहुने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्,
“हामी कानुनी सीमाभित्र रहेर काम गर्छौँ। भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ, चुनाव पनि निर्धारित समयमा नै हुन्छ। तपाईंहरू बोलिरहनुहोस्, दबाब दिनुहोस् — अब छानबिनको नतिजा आउँछ।”
छलफलका क्रममा घाइतेहरूले अकुत सम्पत्ति लुकाउने र विदेश भाग्ने तयारी भइरहेका केही व्यक्तिहरूप्रति चिन्ता व्यक्त गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया