काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। केही दिनदेखि जारी परामर्श र राजनीतिक छलफलपछि उनले अन्तरिम मन्त्रिपरिषद्मा थप चार मन्त्री नियुक्त गर्ने निर्णय गरेकी हुन्।
बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीका रूपमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गुप्ता मन्त्री बन्न लागेका छन्।
प्रधानमन्त्री कार्कीले डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, सुनुवारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छन्।
नयाँ मन्त्री बन्न लागेकामध्ये डा. गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने श्रेष्ठ सांस्कृतिक अभियन्ता, सुनुवार दलित अभियन्ता र गुप्ता हन्ड्रेड ग्रुपका संस्थापक हुन्। शनिबार जेन-जी नेताहरूले मन्त्रीका लागि सात जनाको नाम सिफारिस गरे पनि तीमध्ये गुप्ता मात्रै अन्तिम सूचीमा परेका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आइतबार दिउँसो साढे २ बजेका लागि तय गरिएको छ।
यस विस्तारसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्ले थप पूर्णता पाउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया