असार २४, २०८२ मंगलबार July 8, 2025

कर्फ्यु हैन कोरोनाको उपचार- डा. गोविन्द केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना महामारीविरुद्ध लड्न धेरै देशले अनेक उपाय अपनाएका छन् । तर नेपाल सरकार लकडाउन र कर्फ्युको भरमा मात्रै महामारीलाई पराजित गरेर इतिहास रच्ने दाउमा भएजस्तो देखिन्छ ।

न सबै देशवासीकहाँ पुग्ने र सबैले बुझ्ने गरी महामारी रोक्न आवश्यक हुने सूचना पुर्‍याउनु, न समयमै चाहिँदो संख्यामा परीक्षण गरेर संक्रमण फैलिनबाट रोक्नु । न कोरोनाका बिरामीको उचित उपचारका लागि अस्पतालहरूको क्षमता वृद्धि गरेर उपकरणहरूको जोहो गर्नु, न सँगै उपचार गर्नुपर्ने अन्य रोगका लागि आवश्यक व्यवस्था गर्नु । पहिले देशव्यापी लकडाउन अनि अहिले देशभरजसो स्थानीय रूपमा निषेधाज्ञा ।

केही समयअगाडि म सुदूरपश्चिमको एउटा अस्पतालबाहिर बिरामीसित कुराकानी गर्दै थिएँ । त्यही बेला कोरोनाबाट निको भइसकेका एक व्यक्ति देखिए । तिनलाई देखेर त्यहाँको नगरपालिकाका एक वडाध्यक्षले भने, ‘ओहो, यो मानिसलाई त कोरोना लागेको भन्थे, यहाँ हिँडिराखेको पो छ !’ उनको आशय ‘कोरोना लागिसकेपछि पनि मानिस यसरी बाँच्छन् र ?’ भन्ने थियो । कोरोना महामारी सुरु भएको महिनौंपछि एक जनप्रतिनिधिको बुझाइ त यस्तो छ भने, सर्वसाधारणले यसबारे आवश्यक कुरा बुझेकै छैनन् । फलस्वरूप यो संक्रमण भएपछि मानिसको ज्यान गई नै हाल्ने हो कि जस्तो भयको वातावरण छ । सरकारले शिक्षित मानिसले मात्रै बुझ्ने भाषामा यस रोगबारे सूचना प्रवाह गरेकाले अशिक्षित र अर्धशिक्षित मानिसहरूले नबुझिनहुने कुरा पनि बुझेका छैनन् ।

कोभिड–१९ तीव्र रूपमा फैलिने तर सापेक्षतः कम मृत्युदर भएको रोग हो । मौसमी रुघाखोकी गराउने अरू भाइरसजस्तै भए पनि कोभिड–१९ गराउने सार्स–कोभी–टु को मानिसमा मृत्युदर ती अरू भाइरसभन्दा बढी अर्थात् २ देखि ३ प्रतिशतसम्म छ । त्यसको अर्थ यो सबैभन्दा उच्च मृत्युदर भएको भाइरस भन्ने हैन । यसअगाडि यस्तै महामारी गराउने भाइरसहरूमध्ये मार्बर्ग (८० प्रतिशत मृत्युदर), निपाह (७७.६), हेन्ड्रा (५७), बर्डफ्लु (प्रजातिअनुसार ३९ देखि ५३), इबोला (४०.४), मर्स (३४.४) र सार्स (९.६ प्रतिशत मृत्युदर) सार्स–कोभी–टु भन्दा धेरै खतरनाक थिए । अहिले नै हाम्रो समुदायमा हैजादेखि क्षयरोगसम्म गराउने कीटाणुहरूले समुदायमा गराउने मृत्युहरू कम छैनन् । नसर्ने रोगका कारण झनै धेरै मृत्यु हुने गरेका छन् (हेर्नुहोस् तालिका) ।

माथिको तालिकाले देखाउँछ, अहिले नै क्षयरोगको समयमा उपचार नपाएर नेपालमा बर्सेनि झन्डै ४,२०० मानिसको मृत्यु हुन्छ । ३०,००० भन्दा बढी मानिस वर्षमा हृदयाघातले र १८,००० भन्दा बढीको सीओपीडीका कारणले मृत्यु हुने गरेकामा सामयिक उपचारको उपलब्धतामा यो दर निकै तलमाथि हुन सक्छ । झाडापखालाका कारण हुने १०,००० भन्दा बढी मृत्यु त सरसफाइको सामान्य शिक्षा, सुरक्षित खानेपानीको व्यवस्था र जीवनजलको प्रयोगले टार्न सकिन्थ्यो ।

त्यसैले राज्यले कोरोना महामारीसित जुध्न विद्यमान स्वास्थ्य प्रणालीलाई नै अस्तव्यस्त पार्दा यी बाँकी सबै रोगका कारण वर्षभरमा पचासौं हजार अतिरिक्त मृत्युहरू हुने देखिन्छ । तुलनै गर्ने हो भने यी पंक्ति लेखिँदासम्म नेपालमा ३६,४५६ मानिसमा कोरोना संक्रमण हुँदा १९५ को मृत्यु भएको छ ।

सरकारको पारा हेर्दा अझै दुई वर्ष लकडाउनकै मात्रै सहारा लिने र मानिसलाई बेरोजगारी, कुपोषण र भोकमरीमा धकेल्ने देखिन्छ । तर अब मान्छेको मन डराए पनि पेट डराउने छैन ।

त्यसमाथि कोभिड–१९ कै मृत्युदर भाइरस कति घातक छ भन्नेमा भन्दा सामयिक उपचारका लागि हामी कति तयार छौं भन्नेमा बढी भर पर्छ । यो संक्रमण फैलिन नदिनु त महत्त्वपूर्ण छ तर यसका डरले अस्पतालै नजाँदा र अस्पतालहरूले आवश्यक सेवा नदिँदा अन्य कारणले हुने अनावश्यक पीडा र मृत्यु रोक्नु उत्तिकै महत्त्वपूर्ण छ ।

लामो समयदेखि घटेको नेपालको मातृ र शिशु मृत्युदर अहिले ह्वात्तै बढेको छ । समयमा औषधि खान नपाएर क्षयरोगका बिरामीहरूको रोग बल्झेको र मृत्युदर बढेको छ । चोटपटक लागेर हाड भाँच्चिनेहरूका हातखुट्टा बांगो जोडिएर गम्भीर अपांगता सिर्जना भएको छ ।

एक तीर, दुई सिकार

अहिले सरकारले लकडाउन र कर्फ्युको तीरले दुइटा सिकार गरिरहेको छ । एक त कोरोनाका लागि केही गरेको देखाउने, अर्कातिर आफ्नो नालायकी र आफूले गरिरहेको ब्रह्मलुटविरुद्ध उठ्न सक्ने आवाज दबाउने । अहिले देशभरको विपन्न वर्गका लागि हातमुख जोड्नु सबैभन्दा ठूलो समस्या भएको छ । मुस्किलले दुई छाक जुटाउनेहरू एक छाकमा झरेका छन् । मधेसी दलित बस्तीहरूको भोकमरीको समाचारसम्म मिडियामा आउन केही मानिसको भोकले मृत्यु नै हुनुपरेको थियो ।

बालबच्चालाई खुवाउनका लागि आमाबाबु भोकै बसेका हृदयविदारक समाचारहरू आइरहेका छन् । देशबाहिरबाट रोजगार गुमाएर फर्कनेका अगाडि अब केले जीविका धान्ने भन्ने उपाय नै छैन । बाटोका नाङ्लोपसलदेखि घुम्ती र सटरमा व्यवसाय गर्नेहरूले सीमित बचत सिद्ध्याएर सके ऋण खोजेर छाक टार्ने, नत्र भोकै बस्ने अवस्थामा पुगिसकेका छन् । यही बेला बाढीपहिरोले पचासौं मानिसको ज्यान मात्रै लिएको छैन, हजारौंलाई घरबारविहीन बनाएको छ ।

देशैभर अस्पतालहरू अस्तव्यस्त छन् । एक त यातायातको अभावले मान्छे अस्पताल पुग्नै कठिन छ । दुर्गम पहाडी क्षेत्रमा अस्पताल पुग्न मात्रै बीसौं हजार तिरेर गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ । अस्पताल पुगिहाले पनि उपचार सहज छैन किनकि अस्पतालहरूको प्राथमिकतामा कोरोना मात्रै परेको छ । पछिल्लो समय कैयौं चिकित्सक र स्वास्थ्यकर्मी कोरोना संक्रमणसित जुधिरहेका छन् । अरू कति संक्रमित बिरामीसँगको सम्पर्कका कारण आइसोलेसनमा छन् । अस्पतालका कति विभाग बन्द छन् । खुलेका विभागमा पनि सेवा सुचारु नहुँदा आवश्यक उपचार नपाएर मानिस छटपटाइरहेका छन् । कतिको त अस्पताल चहार्दाचहार्दै मृत्यु भइसकेको छ ।

यसरी नागरिकहरू चौतर्फी बिचल्लीमा पर्दा सरकार के गर्दै छ त ? सरकारका मन्त्रीहरू महामारीका लागि सामग्री खरिदमा अर्बौं भ्रष्टाचार गर्नमा लिप्त छन् । सामान खरिदमा आफ्ना मानिसलाई अर्बौं कमाइदिनेदेखि जवाफदेही छल्नसम्म सेनालाई समेत मुछेर राज्यको ढुकुटी रित्त्याउने होडमा प्रधानमन्त्री आफैं छन् । अर्बौंका ठेक्का लिएर विकासका काम अलपत्र पार्ने बिचौलियादेखि मन्त्रीका सम्धी, भतिज र भान्जाहरूसम्मले नियुक्ति र कमाइमा तीव्र फड्को मारिरहेका छन् ।

कोरोना महामारी सुरु भएपछि पहिले करोडौं हालेर कामै नलाग्ने किटहरू मगाइएका कारण परीक्षण नै प्रभावित भयो । सामग्री खरिदमा अनियमितता मात्रै नभई महिनौं ढिलाइ भयो । पीसीआर किट त सरकारले आवश्यक संख्यामा कहिल्यै ल्याएकै छैन । त्यसैले समयमा परीक्षण नभएकै कारण संक्रमण समुदायमा फैलिने मौका पायो । त्यसयता पनि सरकारले परीक्षणको क्षमता आवश्यकताअनुसार बढाउन सकेको छैन । पीपीई, मास्क लगायतका सामग्री सुरुदेखि कहिल्यै अस्पतालहरूले मनग्य संख्यामा पाएका छैनन् । सरकारका सारा संयन्त्रको ध्यान कमाइमा भएपछि अस्पतालहरूको राम्रो व्यवस्थापन, क्षमता विस्तार र सबै बिरामीको उपचारको व्यवस्था नहुनु स्वाभाविकै हो ।

बादलमा चाँदीको घेरा

दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा पुग्दा मैले देखें- स्वास्थ्यकर्मीहरूले गाउँगाउँ पुगेर कोरोनाबारे प्रभावकारी शिक्षा दिइरहेका छन् । अनि विभिन्न ठाउँका स्वास्थ्यकर्मी र सर्वसाधारणले समेत भने- रुघाखोकीजन्य समस्या र तिनबाट हुने मृत्युहरू कम भएका छन् । मानिसले बिस्तारै के बुझ्दै छन् भने, बारम्बार साबुनले हात धुनु, मास्क लगाउनु अनि भीड कम गरेर सामाजिक दूरी कायम राख्नु अरू संक्रामक रोग भगाउने उपाय पनि रहेछन् । यसरी मानिसको व्यवहार फेरिएसँगै रुघाखोकी मात्रै नभई क्षयरोगजस्ता गम्भीर संक्रमणसमेत कम हुनेछन् भने, भविष्यमा हुने श्वासप्रश्वासजन्य संक्रामक रोगका महामारीहरूसित जुध्न पनि सजिलो हुनेछ ।

त्यसैले अबका दिनमा यी प्रभावकारी विधिलाई कडाइका साथ कार्यान्वयन गर्दै अहिले प्रयोग गरिएका कर्फ्युजस्ता भुत्ते हतियारको प्रयोग बन्द गर्नुको विकल्प छैन । सबै कुरा बुझेर वा नबुझेर अहिलेसम्म नागरिकले सरकारले जे गरे पनि साथ दिएकै हुन् । लकडाउन गरे पनि सरकारले महामारी नियन्त्रण गर्ला र जनजीवन सहज होला भन्ने सबैको आश थियो । तर सरकारले मान्छेलाई घरै बस्न बाध्य पारेर आफूले महामारीलाई कमाउधन्दाको अवसरका रूपमा मात्रै लिएपछि अब नागरिकहरू सधैं धैर्यवान् रहनेवाला छैनन् । विश्व स्वास्थ्य संगठनले महामारी नियन्त्रण हुन अझै दुई वर्ष लाग्न सक्ने भनेको छ । सरकारको पारा हेर्दा उसले अबको दुई वर्ष पनि यसरी नै लकडाउनको मात्रै सहारा लिने र मानिसलाई बेरोजगारी, कुपोषण र भोकमरीमा धकेल्ने देखिन्छ । तर अब मान्छेको मन डराए पनि पेट डराउनेछैन । विपन्न र सीमान्तकृत समुदायका मलर सदाहरूले शासकलाई विरोधका आवाज सुनाउनै नपाई भोकसँग हारेर मृत्युवरण गरिसके । तर सधैं यस्तो रहनेछैन र रहनु हुँदैन । सरकार कोरोना नियन्त्रणका लागि मात्रै जिम्मेवार छैन, मलर सदाहरूको मृत्युका लागि पनि जिम्मेवार छ । उसलाई जवाफदेह बनाउने कामचाहिँ हामी सबै ज्युँदा नागरिकहरूको हो ।  कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार