 
						काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग बेग्लै छलफल गरेका छन्। ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा आयोजित उक्त भेलामा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिब ७५ जना सहभागी थिए।
सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि उनी लगातार गुटगत भेला र रणनीतिक छलफलमा सक्रिय रहेका छन्।
भेलाले महामन्त्री गगन थापाले अघि सारेको कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकालेको एक पदाधिकारीले जानकारी दिए। त्यसैगरी, महाधिवेशनभन्दा अब आसन्न निर्वाचनमा केन्द्रित हुनुपर्ने निष्कर्ष पनि भेलाबाट निकालिएको छ।
तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने मंसिरमै नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन्। इतर पक्षका नेता डा. शेखर कोइराला समेत चुनावअघि नै महाधिवेशन हुनुपर्ने धारणा राखिरहेका छन्।
संस्थापन पक्षले भने महाधिवेशनको मिति तोक्न दबाब बढेसँगै बेग्लै भेला राख्नेसम्मको तयारी थालेको छ। विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन्।
यसैबीच, प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन कुनै अचुक औषधि नभएको भन्दै मंसिरमा महाधिवेशन सम्भव नभएको टिप्पणी गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया